
ललितपुर : ललितपुरका केही क्षेत्रमा लगातार खानेपानी नआएको समस्याको समाधान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले समस्या पहिचान गरेको २४ घण्टाभित्रै आवश्यक प्राविधिक सुधार सम्पन्न गरेपछि प्रभावित क्षेत्रमा पुनः नियमित रूपमा खानेपानी आपूर्ति सुरु भएको
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक ई. राम कुमार श्रेष्ठका अनुसार ललितपुरको अल्का अस्पताल पछाडिको क्षेत्रमा रहेको वितरण पाइपलाइनभित्र गोलाकार ढुङ्गा अड्किएर पानीको बहाव अवरुद्ध भएको थियो।

संयुक्त प्राविधिक टोलीले अवरोध हटाई पाइपलाइन मर्मत गरेसँगै अहिले प्रभावित क्षेत्रमा खानेपानी सेवा पूर्ण रूपमा सुचारु भइसकेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार उपभोक्ताबाट लगातार खानेपानी नआएको गुनासो प्राप्त भएपछि पीआईडी र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो। प्रारम्भिक निरीक्षणका क्रममा खुमलटार ट्याङ्कीबाट पानी वितरण हुने प्रणालीको प्राविधिक परीक्षण गर्दा अल्का अस्पताल पछाडिको वितरण पाइपलाइनभित्र ढुङ्गा अड्किएको फेला परेको थियो।
समस्या पहिचान भएलगत्तै प्राविधिक टोली परिचालन गरी पाइपलाइन भित्रको अवरोध हटाउने तथा आवश्यक मर्मत कार्य तीव्र गतिमा सम्पन्न गरिएको आयोजना निर्देशक श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा हाल नियमित रूपमा खानेपानी वितरण भइरहेको छ र सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ।


210 पटक हेरिएको 

