खानेपानी उपभोक्ता समितिहरुका लागि व्यवसायिक योजना कार्यान्वयन बारे कार्यशाला

  वास खबर सम्बाददाता  290 पटक हेरिएको
🔗
89
Shares

काठमाडौं : नगर विकास कोषको आयोजनामा व्यवसायिक योजना कार्यान्वयन र सञ्चालन पुस्तिका सम्बन्धी अभिमुखीकरण कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ।

असार १६ र १७ गते सञ्चालन हुने कार्यशालामा पूर्वी क्लस्टर अन्तर्गतका खानेपानी तथा सरसफाइ आयोजना र सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य व्यवसाय योजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्नुका साथै सञ्चालन पुस्तिका सम्बन्धी अभिमुखीकरण प्रदान गर्नु रहेको जनाएको छ।

कार्यशालामा व्यवसाय योजना कार्यान्वयनका व्यावहारिक पक्ष, सेवा सञ्चालनमा अपनाउनुपर्ने प्रक्रिया, संस्थागत व्यवस्थापन, वित्तीय दिगोपना, सेवा गुणस्तर अभिवृद्धि तथा सञ्चालन पुस्तिकामा समेटिएका विभिन्न प्रावधानबारे प्रस्तुतीकरण र छलफल भैरहेको छ।

यस कार्यक्रम बाट सहभागी संस्थाहरूको व्यवस्थापकीय तथा प्राविधिक क्षमता अभिवृद्धि हुनुका साथै खानेपानी सेवाको प्रभावकारी सञ्चालन, सुशासन र दीगो व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

नगर विकास कोषले यस्ता क्षमता विकासमूलक कार्यक्रम मार्फत स्थानीय खानेपानी तथा सरसफाइ सेवा प्रदायक संस्थाहरूलाई व्यवसायिक रूपमा सक्षम, उत्तरदायी र दिगो बनाउने लक्ष्यका साथ विभिन्न क्लस्टरमा कार्यशाला सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले नगर विकास कोषको ऋण लगानीमा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको अवस्थाका बारेमा धारणा व्यक्त गर्नुभएको थियो। दीर्घकालीन व्यवसायिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन सकेमा मात्र ऋण भुक्तानी सकिने भन्दै उहाँले यस कार्यमा नगर विकास कोषले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार