काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाद्वारा सुरक्षित खानेपानी सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सञ्चालन

  वास खबर सम्बाददाता  187 पटक हेरिएको
🔗
27
Shares

झापा, काकरभिट्टा : ‘सुरक्षित खानेपानी : मुहानदेखि मुखसम्म’ भन्ने मूल नाराका साथ कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सुरक्षित खानेपानी सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खानेपानीको प्रयोगबारे उपभोक्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष रोहित बुढाथोकीले बताउनुभयो।

संस्थाले नियमित रूपमा शुद्ध खानेपानी वितरण गर्दै आएको सातवटा वडालाई केन्द्रमा राखी तीन स्थानमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम संस्थाको भृकुटी कार्यालय, सिर्जना चोक कार्यालय तथा बजार क्षेत्रमा रहेको प्रमुख कार्यालयमा सञ्चालन गरिएको थियो।

कार्यक्रमका क्रममा सुरक्षित खानेपानीको महत्व, मुहानदेखि उपभोक्ताको घरसम्म पानीको गुणस्तर कायम राख्ने उपाय, पानीजन्य रोगहरूको रोकथाम, घरायसी तहमा सुरक्षित रूपमा पानी भण्डारण तथा प्रयोग गर्ने विधि लगायत विषयमा विस्तृत जानकारी प्रदान गरिएको संस्थाका प्राविधिक रघुनाथ खतिवडाले जानकारी दिनुभयो। साथै, खानेपानीको गुणस्तर संरक्षणमा उपभोक्ताको भूमिका र सामूहिक जिम्मेवारीबारे पनि छलफल गरिएको थियो।

कार्यक्रमलाई थप सहभागितामूलक बनाउन विद्यार्थीहरू बीच खानेपानी सम्बन्धी प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिएको थियो। उक्त कार्यक्रम संस्थाका कार्यालय प्रमुख दीपक प्रसाद पोख्रेलले सञ्चालन गर्नुभएको थियो। उहाँले खानेपानीको गुणस्तर परीक्षण, सुरक्षित पानीको प्रयोग, सरसफाइका अभ्यास तथा पानीजन्य रोगबाट बच्ने उपायबारे जानकारी दिँदै सहभागी विद्यार्थीहरूको जिज्ञासाको समेत समाधान गर्नुभएको थियो।

सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट सुरक्षित खानेपानीको प्रयोग, पानीको संरक्षण तथा व्यक्तिगत र सामुदायिक सरसफाइसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका थिए। विज्ञान शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै विभिन्न वडाका जनप्रतिनिधिहरूले नगरवासीलाई गुणस्तरीय, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउनु स्थानीय सरकार र खानेपानी संस्थाको साझा दायित्व भएको उल्लेख गरे। उनीहरूले सुरक्षित खानेपानीको पहुँच विस्तारसँगै उपभोक्तामा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागी समाजका अगुवा व्यक्तित्वहरूले पनि सुरक्षित खानेपानी स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले प्रत्येक नागरिकले पानीको स्रोतदेखि प्रयोगसम्म विशेष सावधानी अपनाउनुपर्ने बताएका थिए।

कार्यक्रमको समापन गर्दै संस्थाका पदाधिकारीहरूले सुरक्षित खानेपानीको उपलब्धतासँगै त्यसको सही प्रयोग र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु संस्थाको प्राथमिकता रहेको बताएका छन्। आगामी दिनमा पनि समुदाय, विद्यालय तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

संस्थाले आगामी दिनमा पनि सुरक्षित खानेपानी, पानीको गुणस्तर व्यवस्थापन तथा उपभोक्ता सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष बुढाथोकीले बताउनुभयो।

काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका सचिव तथा पानी सुरक्षा टोलीका संयोजक विशाल तामाङको अध्यक्षता तथा संस्थाका अध्यक्ष रोहित बुढाथोकीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी, विज्ञान विषयका शिक्षक, मेचीनगर नगरपालिकाका वडा नं। ५, ७ र ८ का जनप्रतिनिधि, समाजका अगुवा व्यक्तित्व तथा खानेपानी उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फोटो: रघुनाथ खतिवडा/कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार