डोल्पाको फुल्चिङ्मा ७९ घरमा इनलाइन क्लोरिनेसन मार्फत सुरक्षित खानेपानी

  वास खबर सम्बाददाता  157 पटक हेरिएको
🔗
20
Shares

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित फुल्चिङ्ग गाउँमा निर्माण सम्पन्न भएको फुल्चिङ्ग खानेपानी तथा सरसफाइ योजना अन्तर्गत ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ। करिब १ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको योजनाको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले उदघाटन गर्नुभयो। कार्यक्रममा योजनाको सार्वजनिक परीक्षण तथा अनुगमन समेत गरिएको थियो।

सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाको सहयोगमा फुल्चिङ्ग खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समिति मार्फत योजना निर्माण गरिएको हो।

योजना अन्तर्गत फुल्चिङ्ग गाउँका ७९ घरधुरीमा निजी धारा निर्माण गरिएको छ। साथै विभिन्न सार्वजनिक स्थानमा तीन सार्वजनिक धारा र एक सामुदायिक विद्यालयमा धारा निर्माण गरी कुल ८३ वटा बालमैत्री खानेपानी धारा सञ्चालनमा ल्याइएको छ।

उदघाटन कार्यक्रमका क्रममा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले उठाएका जिज्ञासा तथा सुझावहरूको सम्बन्धित जिम्मेवार व्यक्तिहरूले जवाफ दिएका थिए।

सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाका वास संयोजक धनप्रसाद बुढाका अनुसार योजनाको रिजर्भ ट्याङ्कीमा इनलाइन क्लोरिनेसन प्रणाली जडान गरिएको छ। मुहानबाट रिजर्भ ट्याङ्कीमा आउने पानी क्लोरिनेसन प्रक्रिया मार्फत शुद्धीकरण हुने भएकाले धाराबाट आउने पानी सिधै पिउन सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो।

उहाँले योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिसकिएको उल्लेख गर्दै अब यसको संरक्षण, मर्मत सम्भार र दिगो व्यवस्थापनको जिम्मेवारी समुदायकै भएको बताउनुभयो।

वास सल्लाहकार विष्णुप्रसाद बोहराले योजना सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै सबै घरमा सुरक्षित खानेपानी पुगेकाले यसको संरक्षण गरी दीर्घकालसम्म उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो।

उदघाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भक्तबहादुर केसीले फुल्चिङ्गका बासिन्दाले सुरक्षित खानेपानी प्राप्त गरून् भन्ने उद्देश्यले नगरपालिकाले योजना समावेश गरेको बताउनुभयो। यति राम्रो योजना सम्पन्न भएकाले यसको दुरुपयोग नगरी संरक्षण गर्न उहाँले स्थानीयलाई आग्रह गर्नुभयो।

यस्तै वडा नं. ६ का अध्यक्ष दिपेन्द्र चलाउनेले योजना छनोटदेखि सफल कार्यान्वयनसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो वडाका नागरिकलाई स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत सेवामा पहुँच विस्तार गर्न निरन्तर पहल भइरहेको बताउनुभयो। आगामी दिनमा पनि नागरिकका आवश्यकता अनुसार विकासका कामलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

कार्यक्रममा उपप्रमुख देवी घर्तीले फुल्चिङ्गका प्रत्येक घरमा स्वच्छ खानेपानी पुगेकोमा स्थानीयलाई बधाई दिँदै योजनाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। नगरपालिकाका बस्तीहरू ठूलो क्षेत्रफलमा फैलिएका कारण उपलब्ध बजेटका आधारमा क्रमशः सबै क्षेत्रमा यस्ता पूर्वाधार विस्तार गरिने उहाँले बताउनुभयो।

फुल्चिङ्गमा नमुना खानेपानी योजना सम्पन्न हुनु स्थानीयका लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले कुनै पनि विकास योजना आफ्नै सम्पत्ति ठानी संरक्षण गरेमा मात्र त्यस्ता योजना दीर्घकालीन रूपमा सफल हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा  स्थानीय बासिन्दाले सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले योजना छनोट, निर्माण र सञ्चालनमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरू प्रति धन्यवाद व्यक्त गरेका छन्।

उदघाटन कार्यक्रममा वडा नं. ६ का अध्यक्ष दिपेन्द्र चलाउने, वडा नं. ३ का अध्यक्ष भक्तबहादुर केसी, वडा नं. ७ का अध्यक्ष खम बुढा, वडा नं. ८ का अध्यक्ष चन्द्ररूप रावत, वास सल्लाहकार विष्णु प्रसाद बोहरा लगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार