शौचालयबाटै सुरु हुन्छ पूर्ण सरसफाइको वास्तविक यात्रा

स्वस्थ समाज, स्वच्छ वातावरण र सम्मानित जीवनको आधार

  पी.टी.लोप्चन  186 पटक हेरिएको
🔗
18
Shares

नेपालले सन् २०१९ मा खुला दिसामुक्त (Open Defecation Free – ODF) राष्ट्र घोषणा गर्‍यो। यो उपलब्धि ऐतिहासिक थियो। लाखौं घरधुरीमा शौचालय निर्माण भए, खुला दिसा गर्ने अभ्यासमा ठूलो कमी आयो र सरसफाइ प्रति नागरिकको चेतना पनि बढ्यो। तर, के शौचालय निर्माणमै सरसफाइको यात्रा टुंगिन्छ? सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) का सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकाया भन्नुहुन्छ ‘होइन, यहीँबाट सुरु हुन्छ पूर्ण सरसफाइ (Total Sanitation) को वास्तविक यात्रा।’

पूर्ण सरसफाइ भन्नाले शौचालयको प्रयोग मात्र होइन, मानव स्वास्थ्य, वातावरणीय स्वच्छता र सम्मानजनक जीवनसँग जोडिएका सम्पूर्ण व्यवहार र सेवाहरूको सुनिश्चिततालाई बुझिन्छ। यसले व्यक्तिको घरदेखि समुदायसम्म र व्यक्तिगत बानीदेखि स्थानीय सरकारको सेवा व्यवस्थापन सम्म सबै पक्षलाई समेट्ने सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले बताउनुभयो ।

पूर्ण सरसफाइ किन आवश्यक छ?

उहाँका अनुसार शौचालय निर्माण भए पनि यदि खानेपानी दूषित छ, हात धुने बानी छैन, मानव मलमूत्र सुरक्षित रूपमा व्यवस्थापन गरिएको छैन, फोहोर जथाभावी फालिन्छ वा ढल व्यवस्थापन प्रभावकारी छैन भने रोगको जोखिम उस्तै रहन्छ।

झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस, आन्द्राका संक्रमण लगायत धेरै रोगहरू असुरक्षित पानी र कमजोर सरसफाइसँग प्रत्यक्ष सम्बन्धित छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र कमजोर प्रतिरक्षा भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन्।

‘यसैले पूर्ण सरसफाइ स्वास्थ्यको मात्र होइन, शिक्षा, पोषण, लैङ्गिक समानता, आर्थिक विकास र वातावरण संरक्षणसँग पनि गहिरो रूपमा जोडिएको विषय हो’ उहाँले भन्नुभयो।

पूर्ण सरसफाइका प्रमुख आधारहरू

पूर्ण सरसफाइ एउटा व्यवहार परिवर्तनको अभियान हो। यसका प्रमुख आधारहरू :

• सबैले सुरक्षित र नियमित रूपमा शौचालय प्रयोग गर्ने।

• साबुनपानीले सही समयमा हात धुने बानी विकास गर्ने।

• सुरक्षित र गुणस्तरीय खानेपानी प्रयोग गर्ने।

• सफा र स्वच्छ भान्छामा पकाएको सुरक्षित खानेकुरा मात्र खाने ।

• घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थल सफा राख्ने।

• ठोस तथा तरल फोहोरको उचित व्यवस्थापन गर्ने।

• मानव मलमूत्र (Fecal Sludge) को सुरक्षित संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन गर्ने।

• महिनावारी स्वच्छता व्यवस्थापनलाई सम्मानजनक र सुरक्षित बनाउने।

• विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थलमा पहुँचयुक्त र समावेशी शौचालय सुनिश्चित गर्ने।

• समुदायमा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारलाई निरन्तरता दिने।

पूर्ण सरसफाइ र सुरक्षित खानेपानी

खानेपानी र सरसफाइ एक अर्काका परिपूरक विषय हुन्। स्वच्छ पानी बिना पूर्ण सरसफाइ सम्भव छैन र राम्रो सरसफाइ बिना सुरक्षित पानीको संरक्षण गर्न सकिँदैन।

(सुस्वा) का सरसफाइ तथा स्वच्छता विज्ञ रोकाया भन्नुहुन्छ ‘विशेष गरी वर्षायाममा पानीका स्रोतहरू दूषित हुने, बाढी तथा डुबानका कारण ढल र सेप्टिक ट्याङ्कीको फोहोर पानीका स्रोतमा मिसिने जोखिम बढ्छ। यस्तो अवस्थामा पानी उमालेर वा शुद्धीकरण गरेर पिउने, स्रोत संरक्षण गर्ने र नियमित पानी परीक्षण गर्ने अभ्यास अत्यन्त आवश्यक हुन्छ।’

पूर्ण सरसफाइमा स्थानीय सरकारको भूमिका

नेपालको संघीय संरचनामा स्थानीय सरकार पूर्ण सरसफाइ अभियानका प्रमुख नेतृत्वकर्ता हुन्। स्थानीय सरकारले नीति निर्माण, योजना, बजेट व्यवस्थापन, जनचेतना अभिवृद्धि, सरसफाइ अनुगमन तथा फोहोर व्यवस्थापन प्रणाली विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

सुस्वाले काम गरिरहेको कर्णालीका २८ पालिकाहरुमा पूर्ण सरसफाइ कार्ययोजना लागू गर्दै समुदाय परिचालन, विद्यालय सरसफाइ, पानीको गुणस्तर परीक्षण तथा सुरक्षित फोहोर व्यवस्थापनमा उल्लेखनीय काम भैरहेको सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले बताउनुभयो। यस्ता अभ्यासहरू अन्य पालिकाका लागि पनि प्रेरणादायी बन्न सक्छन्।

नागरिकको सहभागिता नै सफलता

पूर्ण सरसफाइ सरकार वा कुनै संस्थाको मात्र जिम्मेवारी होइन। प्रत्येक नागरिकले दैनिक जीवनमा अपनाउने साना व्यवहारहरूले ठूलो परिवर्तन ल्याउन सक्छ।

• शौचालय सधैं प्रयोग गर्ने।

• शौचपछि, खाना खानुअघि र खाना पकाउनुअघि साबुनपानीले हात धुने।

• घर तथा वरिपरि सफा राख्ने।

• प्लास्टिक तथा अन्य फोहोर छुट्याएर व्यवस्थापन गर्ने।

• सेप्टिक ट्याङ्की समयमै सुरक्षित रूपमा खाली गराउने।

• पानीको स्रोत प्रदूषित हुन नदिने।

यस्ता व्यवहारहरू नै स्वस्थ समुदाय निर्माणका आधार हुन्।

अबको यात्रा: सुरक्षित र दिगो सरसफाइ

नेपालले खुला दिसामुक्त राष्ट्र घोषणा गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरे पनि  अबको चुनौती त्यो उपलब्धिलाई दिगो बनाउँदै सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ (Safely Managed Sanitation) तर्फ अघि बढ्नु हो।

यसका लागि शौचालय बनाएर मात्र पुग्दैन। ‘शौचालयबाट निस्कने मलमूत्र कहाँ पुग्छ, कसरी व्यवस्थापन हुन्छ, पानी कत्तिको सुरक्षित छ, फोहोर कसरी व्यवस्थापन गरिन्छ, समुदायको व्यवहार कस्तो छ, यी सबै पक्षमा समान रूपमा ध्यान दिनुपर्छ’ सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले भन्नुभयो।

याद राखौं, पूर्ण सरसफाइ कुनै एक दिनको अभियान होइन, यो जीवनशैली हो। यसले रोग घटाउँछ, स्वास्थ्य सुधार गर्छ, वातावरण स्वच्छ बनाउँछ, बालबालिकाको भविष्य सुरक्षित बनाउँछ र समाजलाई सम्मानजनक बनाउँछ।

हामीले शौचालय निर्माणको सफलतालाई व्यवहार परिवर्तन, सुरक्षित खानेपानी, फोहोर व्यवस्थापन, स्वच्छ भान्छा र सुरक्षित खानेकुरा, महिनावारी स्वच्छता, सुरक्षित मलमूत्र व्यवस्थापन र वातावरणीय सरसफाइ सँग जोड्न सके मात्रै पूर्ण सरसफाइको वास्तविक लक्ष्य हासिल हुनेछ।

फोटोहरु : लोक चन्द्र थापा/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार