खानेपानी योजनाको दिगोपनामा जोड दिँदै लेकबेसीमा ‘सुचारुपना सम्मेलन–२०८३’ सम्पन्न

  गोविन्द खत्री  270 पटक हेरिएको
🔗
46
Shares

सुर्खेत : “सुचारुपनाका लागि साझेदारी, दिगोपनाका लागि जवाफदेहिता” भन्ने मूल नारा सहित लेकबेसी नगरपालिका–४, दशरथपुरमा खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले ‘सुचारुपना सम्मेलन–२०८३’ सम्पन्न भएको छ।

सुन्दर नेपाल संस्था, सुर्खेतको सहजीकरण तथा हेल्भेटास नेपालको सहयोगमा शुक्रबार आयोजित एकदिने सम्मेलनमा खानेपानी तथा सरसफाइ योजनाको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन, स्रोत संरक्षण तथा सरोकारवालाबीचको साझेदारी र जवाफदेहिताका विषयमा प्यानल छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेरकुमार पौडेलले गत वर्ष आयोजित पहिलो सुचारुपना सम्मेलनमा गरिएको प्रतिबद्धता अनुसार २०८३ चैतभित्र नगरपालिकाका सबै घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार गरी लेकबेसीलाई ‘सुरक्षित खानेपानीयुक्त नगरपालिका’ घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो।

उक्त लक्ष्य पूरा गर्न नयाँ खानेपानी योजना निर्माण, पुराना योजनाको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो। खानेपानी योजनाको दिगोपना स्थानीय सरकारको मात्र नभई उपभोक्ता समिति, समुदाय तथा सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताउनुभयो।

नगर उपप्रमुख विमला खड्लुक मगरले पहिलो सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता कार्यान्वयनतर्फ नगरपालिका दृढतापूर्वक अघि बढिरहेको बताउनुभयो। खानेपानी तथा सरसफाइसम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धताअनुसार चालु आर्थिक वर्षको नगरसभाबाट आवश्यक कानुन पारित गरिएको जानकारी दिनुभयो। कानुनको प्रभावकारी कार्यान्वयनबाट खानेपानी तथा सरसफाइ सेवामा सुशासन, गुणस्तर र दिगोपना सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद शर्माले खानेपानी योजनाको नियमित सञ्चालन तथा मर्मत–सम्भारलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा मर्मत–सम्भारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। केही नयाँ खानेपानी योजना निर्माणसमेत अघि बढाइएको बताउनुभयो। हेलो धारा परियोजना सँगको सहकार्यमा ‘हेलो मोनिटरिङ’ प्रणाली मार्फत टेलिफोनका माध्यमबाट खानेपानी योजनाको नियमित अनुगमन भइरहेको उल्लेख गर्नुभयो। यस प्रणालीले समस्या पहिचान, समयमै मर्मत तथा सेवाको निरन्तरतामा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

प्यानल छलफलमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का केन्द्रीय सदस्य कविन्द्रकुमार केसीले खानेपानी योजना निर्माण सम्पन्न गरेपछि जिम्मेवारीबाट मुक्त हुने परिपाटीको अन्त्य गर्दै नियमित मर्मत–सम्भार र अनुगमनमा सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। निर्माण भएका योजनाको प्रभावकारी सञ्चालनमा उपभोक्ता समितिको पनि उत्तिकै जिम्मेवारी रहने उल्लेख गर्नुभयो। ठूला मर्मत, लिफ्टिङ योजनाको महसुलमा सहुलियत, प्रोत्साहन तथा परिचालनका लागि आवश्यक खर्च लागत अनुमानमै समावेश गर्नुपर्ने सुझाव दिनुभयो।

हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले वार्षिक बजेट विनियोजनकै क्रममा मर्मत–सम्भार कोषका लागि निश्चित रकम छुट्याउने कानुनी व्यवस्था गर्न सके खानेपानी योजनाको सुचारुपना र दिगोपनामा उल्लेखनीय सहयोग पुग्ने बताउनुभयो। योजना निर्माणपछि पनि नियमित अनुगमन, मूल्याङ्कन तथा मर्मत–सम्भारमा ध्यान दिए मात्र योजना दिगो रूपमा सञ्चालन हुन सक्ने उल्लेख गर्नुभयो।

यही निष्कर्षका आधारमा हेल्भेटास नेपालले काम गरिरहेका चार वटा पालिकामा ‘हेलो धारा’ परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो। आगामी दिनमा योजना निर्माणसँगै निर्माणपछिको व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताउनुभयो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका इन्जिनियर सुरेन्द्र शर्माले सरकारले योजना निर्माण गरिसकेपछि त्यसको सञ्चालन र दिगोपनाका लागि उपभोक्ताको प्रमुख जवाफदेहिता रहने बताउनुभयो। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतका इन्जिनियर काशीराम ऐडीले आगामी दिनमा योजना निर्माणसँगै दिगोपनालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा खानेपानी योजनाको दीर्घकालीन व्यवस्थापन, जलवायु अनुकूल स्रोत संरक्षण, संस्थागत उत्तरदायित्व तथा समुदायको सक्रिय सहभागिताबारे सहभागीहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।

सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अक्कलबहादुर शाहले खानेपानी योजनाको सुचारुपना र दिगोपना सुनिश्चित गर्न स्थानीय सरकार, उपभोक्ता समिति, प्राविधिक निकाय तथा विकास साझेदारबीच सहकार्य र साझा जवाफदेहिता विकास गर्नु नै सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो।

गत वर्षका प्रतिबद्धताको समीक्षा, उत्कृष्ट उपभोक्ता समिति सम्मानित

सम्मेलनमा गत वर्ष वैशाखमा आयोजित पहिलो सुचारुपना सम्मेलनमा गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको छ।

सम्मेलनले पहिलो सम्मेलनमा जारी घोषणापत्रका प्रतिबद्धता निरन्तर कार्यान्वयन गर्ने, NWASH-MIS मा रहेका तथ्याङ्क वडा तहबाट अद्यावधिक गरी वास्तविक विवरण तयार गर्ने, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी संकल्पहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा जलवायु उत्थानशील योजना तयार गरी खानेपानी स्रोत संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैबीच, खानेपानी योजनाको सुचारुपना तथा दिगोपनामा उत्कृष्ट कार्य गर्ने तीन वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई नगद सहित सम्मान गरिएको छ। मूल्याङ्कनका आधारमा लेकबेसी नगरपालिका–१० को साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति प्रथम हुँदै रु. ५० हजार, वडा नं. २ को पुरानो गाउँ सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति द्वितीय हुँदै रु. ४० हजार तथा वडा नं. ८ को नारजले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तृतीय हुँदै रु. ३० हजार नगद पुरस्कारबाट सम्मानित भएका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार