
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा तीन वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाले वाइन टु वाटर नेपाल सँगको साझेदारीमा सम्पन्न योजना मार्फत १३८ घरधुरीमा ‘एक घर, एक धारा’ प्रणाली अनुसार घर–घरमा धारा जडान गरी सुरक्षित तथा नियमित खानेपानी सेवाको पहुँच विस्तार गरेको हो।
खानेपानीको सहज पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी गाउँपालिका र वाइन टु वाटर नेपालको साझेदारीमा योजना निर्माण गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले जानकारी दिनुभयो। योजना सम्पन्न भएपछि लाभान्वित परिवारले टाढाका मुहान, सार्वजनिक धारा वा अन्य स्रोतमा पुगेर पानी बोकेर ल्याउनुपर्ने अवस्थाबाट राहत प्राप्त गरेका छन् ।
‘एक घर, एक धारा’ प्रणालीले विशेष गरी महिला, बालबालिका तथा दैनिक रूपमा पानी व्यवस्थापनमा समय खर्च गर्दै आएका परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ। घरमै धारा जडान भएपछि पानी संकलनमा खर्च हुने समय र श्रम बचत हुनुका साथै सरसफाइ, व्यक्तिगत स्वच्छता तथा घरेलु सरसफाइका अभ्यासमा समेत सुधार आउने अध्यक्ष मुक्तानले बताउनुभयो।
खानेपानी योजनाहरुको हालै अन्तिम अनुगमन तथा सार्वजनिक सुनुवाई समेत गरिएको छ ।
कैलाश गाउँपालिका भौगोलिक रूपमा विकट तथा छरिएर रहेका बस्ती भएको स्थानीय तह भएकाले सबै नागरिकलाई खानेपानी सेवाको पहुँचमा पुर्याउनु चुनौतीपूर्ण रहँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार पनि कैलाश गाउँपालिकाका सबै घरधुरीमा आफ्नै परिसरभित्र पाइपबाट खानेपानीको पहुँच छैन, जसले स्थानीय स्तरमा खानेपानी पूर्वाधार विस्तारको आवश्यकता देखाउँछ।
गाउँपालिकाले यसअघि पनि खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा नीति तथा कानुनी व्यवस्था अघि बढाउँदै आएको छ। गाउँपालिकाले खानेपानी तथा सरसफाइ र स्वच्छता ऐन निर्माण गरी खानेपानी तथा सरसफाइ आयोजनाहरुको नियमन समेत गर्दै आएको छ ।
Photo: Wine to Water


338 पटक हेरिएको 

