
हेटौंडा : थाहा नगरपालिका–७ की ६३ वर्षीया साहिलीमाया थिङ घरको आँगनमा धाराबाट पानी खसेपछि दंग पर्नुभयो। घरमै यसरी पानी आउला भन्ने उहाँले सोचेकी पनि थिइनन्। खानेपानीको अभावमा एक गाग्री पानी लिन दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता थियो।
शुक्रबारदेखि आँगनमै धाराबाट पानी झरेपछि खुसी हुँदै उहाँले भन्नुभयो, ‘आँगनमा पानी आउँछ भनेको धेरै वर्ष भइसकेको थियो, पत्याउन छोडेको थिएँ, आँगनमै पानी आयो खुसी लाग्यो।’
६३ वर्षीया थिङ मात्र होइन, अर्की ७३ वर्षीया ज्योमाया तामाङ पनि घरको आँगनमा धाराबाट पानी खसेपछि खुसी हुनुभएको छ। २०७५ सालदेखि घरघरमा पानी पुर्याउने उद्देश्यले निर्माण सुरु गरिएको थाहा नगरपालिका–७ चिसापानी–मझुवा लिफ्टिङ खानेपानी आयोजना आठ वर्षपछि सम्पन्न भएको हो। नगर प्रमुख विष्णुवहादुर विष्ट र विकास साझेदार संस्था च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले शुक्रबार संयुक्त रूपमा आयोजनाको उद्घाटन गर्नुभयो।
४ सय १३ परिवारका लागि ‘एक घर, एक धारा’ पुर्याउने उद्देश्यले सुरु गरिएको आयोजना बजेट अभावका कारण समयमै सम्पन्न हुन सकेको थिएन। लामो समय आर्थिक संकट व्यहोरे पनि यस वर्ष सर्वपक्षीय सहयोग जुटेपछि आयोजना सम्पन्न गरी घरघरमा पानी पुर्याउन सफल भएको नगर प्रमुख विष्टले बताउनुभयो।
खानेपानी आयोजना सम्पन्न गर्न नगरपालिकाको विकास साझेदार संस्था च्वाइस नेपालले विशेष सहयोग गरेको छ। करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा च्वाइस नेपालले मात्रै २ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरले ७० लाख रुपैयाँ, प्रदेश सरकार, थाहा नगरपालिका र उपभोक्ताको सहलगानीमा आयोजना सम्पन्न गरिएको हो।
लिफ्टिङ र ग्राभिटी प्रणालीबाट मिश्रित रूपमा पानी आपूर्ति गरी उपभोक्तालाई वितरण गरिएको छ। ग्राभिटी प्रणालीतर्फ करिब ४ किलोमिटर टाढाको मझुवा खोलाबाट पानी ल्याइएको छ। त्यही खोलाबाट २ किलोमिटर टाढा २ हजार २ सय मिटर माथिको डाँडामा ‘डबल लिफ्टिङ’ मार्फत पानी पुर्याएर रिजर्भ गरिएको छ।
आयोजनामा १/१ लाख लिटर क्षमताका दुई र २०/२० हजार लिटर क्षमताका दुईवटा रिजर्भ ट्यांकी निर्माण गरिएका छन्। मझुवा खोलामा ४० हजार लिटर क्षमताको फिल्टरेसन ट्यांकी तथा २०/२० हजार लिटर क्षमताका दुईवटा लिफ्टिङ ट्यांकी निर्माण गरिएको छ। आयोजनामा करिब ७ किलोमिटर लामो मुख्य पाइपलाइन र करिब २९ किलोमिटर मुख्य वितरण पाइपलाइन रहेको च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिनुभयो।
आयोजना सम्पन्न भएपछि एक गाग्री पानी लिन २/३ घण्टा हिँड्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शिवराज थिङले बताउनुभयो। ‘पानीकै कारणले चिसापानी, गोठडाँडा, देउखेल क्षेत्रका बासिन्दा पीडा भोग्दै आएका थिए,’ उहाँले भन्नुभयो।
स्थानीय उपभोक्ता तथा इन्द्रायणी माविका प्रधानाध्यापक नारायणबहादुर कार्कीले आयोजना सम्पन्न भएपछि घण्टौं लगाएर डोकामा पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको एको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।


127 पटक हेरिएको 

