धनकुटामा खानेपानीको दोहोरो समस्या, हिउँदमा अभाव, बर्खामा गुणस्तर संकट

  वास खबर सम्बाददाता  195 पटक हेरिएको
🔗
190
Shares

धनकुटा : धनकुटा बजारका हजारौं उपभोक्ता वर्षौंदेखि खानेपानीको दोहोरो समस्याबाट जुधिरहेका छन्। हिउँद लागेपछि पानीका मुहान सुक्दै जाँदा आवश्यकता अनुसार पानी उपलब्ध हुँदैन भने बर्खामा स्रोतमा पर्याप्त पानी भए पनि लेदो र माटो मिसिएर धमिलो पानी धारासम्म पुग्ने गरेको छ।

हाल धनकुटा बजारका करिब ३ हजार ८ सय ९५ घरधुरीलाई दैनिक करिब ४६ लाख ५६ हजार लिटर पानी आवश्यक पर्छ। तर दैनिक करिब १६ लाख लिटर मात्रै पानी आपूर्ति भइरहेको छ। अर्थात्, आवश्यकताको करिब एकतिहाइ मात्रै पानी उपलब्ध भइरहेको छ।

पानीको मात्रा नै अपुग भएको अवस्थामा बर्खायाममा धाराबाट आउने पानीको गुणस्तरसमेत उपभोक्ताका लागि अर्को ठूलो चिन्ताको विषय बनेको छ। धनकुटा नगरपालिका–३ देखि ८ सम्मका उपभोक्ताले पर्याप्त र स्वच्छ खानेपानी नपाएको गुनासो गर्दै आएका छन्। धनकुटा–७ की दिलमाया श्रेष्ठ कहिलेकाहीँ एक हप्तासम्म धारामा पानी नआउने र आए पनि धमिलो हुने बताउनुहुन्छ।

उहाँका अनुसार पर्याप्त पानी नपाए पनि उपभोक्ताले नियमित शुल्क भने तिर्नुपरेको छ।

धनकुटा–५ की तुलसा लिम्बुको गुनासो पनि उस्तै छ। उहाँका अनुसार बर्खायाममा धाराबाट आउने पानी कतिपय समयमा खोलाको पानीभन्दा समेत फोहोर देखिन्छ। धनकुटा बजारका उपभोक्ताले ८ युनिट अर्थात् ८ हजार लिटर पानीका लागि न्यूनतम ३ सय रुपैयाँ तिर्दै आएका छन्। तर हिउँदमा पर्याप्त पानी नपाइने र बर्खामा आएको पानीसमेत धमिलो हुने समस्याले उपभोक्ता निराश छन्।

बर्खामा स्रोतमा पर्याप्त पानी, तर गुणस्तर चुनौती

धनकुटा बजारमा लुङदाङ, मुढे, छरछरे, तीनदोभाने र आइतबारेलगायतका मुहानबाट पानी संकलन गरी वितरण गरिन्छ। त्यस्तै निवुवा र ताँखुवा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी तानेर स्कुलडाँडा, लहरेबर, कागते र चुलीवनलगायतका स्थानमा रहेका मुख्य ट्याङ्कीमा पुर्‍याइन्छ।

तर बर्खायाममा खोलामा पानीको बहाव बढेसँगै माटो र लेदो मिसिने समस्या हुन्छ। यसरी धमिलो बनेको पानीलाई प्रभावकारी रूपमा शुद्धीकरण गर्ने पर्याप्त क्षमता नहुँदा गुणस्तरीय पानी उपभोक्तासम्म पुर्‍याउन चुनौती देखिएको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार पुरानो फिल्ट्रेसन प्रणाली, जीर्ण पाइपलाइन तथा अन्य संरचनाको अवस्थाका कारण उपभोक्तालाई स्वच्छ, शुद्ध र पर्याप्त पानी उपलब्ध गराउन कठिनाइ भइरहेको छ।

उहाँले खानेपानीको वास्तविक समस्या पहिचान गर्न मुहानदेखि उपभोक्ताको धारासम्मको प्रणालीको स्थलगत अनुगमन गरिएको बताउनुभयो।

उपभोक्ताको गुनासो बढ्दै गएपछि धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसहित राजनीतिक दल, स्थानीय तह, विभिन्न संघसंस्था, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिले खानेपानी प्रणालीको स्थलगत निरीक्षण गरेका थिए। अनुगमन टोलीले पानीको मुहान, लिफ्टिङ प्रणाली, पाइपलाइन, रिजर्भ ट्याङ्की, फिल्ट्रेसन तथा वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएको थियो।

नगर प्रमुख तामाङका अनुसार हिले लगायत माथिल्लो क्षेत्रबाट बगेर आउने फोहोरका कारण पनि पानीका स्रोत प्रदूषित हुने समस्या छ। खोलाबाट पानी संकलन गरी वितरण प्रणालीमा पठाइएकाले बर्खायाममा पानीको शुद्धीकरण थप चुनौतीपूर्ण हुने गरेको उहाँको भनाइ छ।

हिउँदमा सुक्छन् मुहान

बर्खामा पानीको गुणस्तर समस्या भए पनि हिउँदमा भने धनकुटाको खानेपानी समस्या स्रोतको अभावसँग जोडिन्छ। भूमिगत मुहानमा पानीको मात्रा घट्ने र कतिपय स्रोत सुक्ने भएकाले मागअनुसार पानी आपूर्ति गर्न नसकिने धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।

समितिका सचिव अर्जुन छाराहाङका अनुसार निवुवा र ताँखुवा खोलाबाट पानी तान्ने मोटर तथा अन्य उपकरणमा समस्या आउँदा पनि खानेपानी आपूर्ति प्रभावित हुने गरेको छ। हाल पानीको आपूर्ति र गुणस्तर सुधारका लागि विभिन्न संरचना निर्माण तथा उपकरण प्रतिस्थापनको काम अघि बढाइएको छ।

बर्खायाममा आउने धमिलो पानीको समस्या कम गर्न लहरेबरमा सेडिमेन्टेसन ट्याङ्की र रफिङ फिल्टर निर्माण भइरहेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाको करिब ८० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त संरचना अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।

नयाँ प्रणालीबाट प्रतिसेकेन्ड १० लिटरका दरले पानी थिगार्ने र छान्ने क्षमता रहनेछ। यो प्रणाली सञ्चालनमा आएपछि बर्खायाममा देखिने धमिलो पानीको समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। समितिका सचिव छाराहाङका अनुसार २०७२ सालको भूकम्पपछि पुरानो फिल्टर प्रणालीमा क्षति पुगेको थियो। त्यसयता पुरानो प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बर्खामा आउने लेदोयुक्त पानीको शुद्धीकरणमा समस्या हुँदै आएको छ।

नयाँ पम्पबाट आपूर्ति बढाउने प्रयास

खानेपानी आपूर्ति बढाउन पुराना पम्प तथा उपकरणसमेत प्रतिस्थापन गर्ने काम भइरहेको छ। निवुवा खोला, ठोका र चिहानडाँडालगायतका स्थानमा जडान गरिएका पम्पसेटको क्षमता घट्दै गएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ६० हर्सपावर क्षमताका दुई नयाँ पम्प उपलब्ध गराएको छ।

ती पम्प जडान गर्ने प्रक्रिया अघि बढिरहेको समितिले जनाएको छ। नयाँ पम्प सञ्चालनमा आएपछि पानी तान्ने क्षमता बढ्ने र हालको आपूर्ति व्यवस्थापनमा केही सुधार हुने अपेक्षा गरिएको छ। प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उपभोक्ताको गुनासोपछि मुहानदेखि धारासम्मको खानेपानी प्रणालीको स्थलगत निरीक्षण गरिएको बताउनुभयो।

उहाँका अनुसार बर्खायाममा पानीको स्रोतको अभाव नभए पनि पानीको गुणस्तर र वितरण व्यवस्थापनमा समस्या देखिएको छ। तत्काल सुधार गर्न सकिने काम तत्कालै अघि बढाउने र दीर्घकालीन समाधान आवश्यक पर्ने विषयलाई योजना बनाएर कार्यान्वयन गरिने उहाँले बताउनुभयो।

दीर्घकालीन समाधानको खोजी

धनकुटा बजारको खानेपानी समस्या नयाँ होइन। हिउँदमा पर्याप्त पानी नपुग्ने र बर्खामा उपलब्ध पानीसमेत स्वच्छ नहुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। अहिले मुहान संरक्षण, नयाँ वैकल्पिक स्रोतको खोजी, लिफ्टिङ प्रणाली सुधार, नयाँ पम्प जडान, सेडिमेन्टेसन तथा फिल्ट्रेसन संरचना निर्माण र वितरण प्रणाली सुधारका प्रयास अघि बढाइएका छन्।

धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने वैकल्पिक मुहानको खोजीसमेत सुरु गरिएको छ। तर हालको अवस्था हेर्दा धनकुटा बजारको खानेपानी समस्या केवल पानीको मात्रा अभावमा सीमित छैन। हिउँदमा पर्याप्त स्रोतको अभाव र बर्खामा पानीको गुणस्तर तथा वितरण प्रणालीको कमजोरीले समस्या दोहोरो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ।

दैनिक आवश्यक ४६ लाख ५६ हजार लिटरमध्ये करिब १६ लाख लिटर मात्रै पानी आपूर्ति भइरहेका कारण धनकुटाको खानेपानी समस्या समाधानका लागि थप मुहानको खोजी, विद्यमान स्रोतको संरक्षण, पर्याप्त क्षमताको पानी प्रशोधन प्रणाली तथा वितरण संरचनाको विस्तार अपरिहार्य देखिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार