गमगढीवासी प्रशोधन बिनाको पानी पिउन बाध्य

  वास खबर सम्बाददाता  172 पटक हेरिएको
🔗
148
Shares

मुगु : मुगुको सदरमुकाम गमगढी बजारका उपभोक्ता वर्षायाममा समेत शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन्। वर्षाका कारण मुहानमा बाढी तथा पहिरोले माटो, बालुवा र अन्य फोहोर मिसिँदा पानी धमिलो हुने गरेको भए पनि गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पर्याप्त प्रशोधन नगरी वितरण गर्दै आएको उपभोक्ताको गुनासो छ।

छायाँनाथ रारा नगरपालिका–२ का स्थानीय धर्मबहादुर सेजुवालका अनुसार वर्षायाममा मुहानको पानी धमिलो भएर धारामा आउने गरेको छ। पानीमा माटो, बालुवा, जुका तथा अन्य फोहोर मिसिए पनि उपभोक्ताले बाध्य भएर त्यही पानी प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो।

“पानी उमालेर वा अन्य विधिबाट शुद्धीकरण गरेर प्रयोग गर्नुपर्ने हो। तर दैनिक उपभोगका लागि आवश्यक पर्ने पर्याप्त पानी नै उपलब्ध नहुने भएकाले सबै उपभोक्ताले त्यसो गर्न सक्दैनन्,” सेजुवालले भन्नुभयो।

गमगढी बजारमा नियमित तथा गुणस्तरीय खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। विशेषगरी वर्षायाममा मुहानमै पानी दूषित हुने भएकाले समस्या झन् जटिल बन्ने गरेको छ। धारामा आउने पानी धमिलो हुने, माटो तथा फोहोर देखिने र पिउन अयोग्यजस्तो अवस्थामा समेत प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

खानेपानी शुद्धीकरणका लागि एक गैरसरकारी संस्थाले उपभोक्ता समितिको पानी ट्याङ्कीमा क्लोरिनिङ मेसिन उपलब्ध गराएको भए पनि त्यसको प्रयोग हुन नसकेको स्थानीय समाजसेवी रामभक्त रोकायाले बताउनुभयो। उहाँका अनुसार मेसिन जडान गरिए पनि क्लोरिन खरिद गर्न नसक्दा उपकरण प्रयोगविहीन बनेको छ।

गमगढी बजारका करिब ४२० उपभोक्ताले खानेपानी वितरण गर्नुअघि अनिवार्य रूपमा शुद्धीकरण गरी धारामा पठाउन माग गरेका छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ता समिति गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ।

गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लले वर्षायाममा मुहानमा समस्या आउने भएकाले पानी धमिलो हुने गरेको स्वीकार गर्नुभयो। उहाँले पानी शुद्धीकरणका लागि ट्याङ्कीमा मेसिन जडान गरिएको भए पनि क्लोरिन खरिद गर्न आवश्यक बजेट अभावका कारण हालसम्म क्लोरिनिङ गर्न नसकिएको बताउनुभयो।

स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत आवश्यकता भए पनि गमगढी बजारका उपभोक्ता दूषित पानी प्रयोग गर्न बाध्य हुनु गम्भीर विषय बनेको छ। पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीले पानीको गुणस्तर परीक्षण गरी आवश्यक शुद्धीकरणपछि मात्र वितरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार