
काठमाडौं : मनसुनको समयमा आकाशबाट प्रशस्त पानी परिरहन्छ। तर यही पानीको ठूलो हिस्सा संकलन र उपयोग नगरी बगेर जाने गर्छ। खानेपानीका स्रोतमा चाप बढ्दै गएको, भूमिगत पानीको सतह घट्दै गएको र कतिपय क्षेत्रमा वर्षैभरि पानीको अभाव हुने अवस्थामा वर्षातको पानी संकलन सरल, कम खर्चिलो र दिगो विकल्प बन्न सक्छ।
वर्षातको पानी संकलन गर्ने सोच बनाउँदै हुनुहुन्छ भने यही हो उपयुक्त समय ।छाना सफा गरौँ, गटर र पाइप जाँचौँ, पानी संकलन गर्ने ट्यांकी तयार गरौँ र वर्षाको प्रत्येक थोपा जोगाऔँ।
विशेषगरी वर्षायाम नै वर्षातको पानी संकलन गर्ने उपयुक्त समय हो। घरको छाना, विद्यालय, कार्यालय, स्वास्थ्य संस्था वा अन्य भवनको छानाबाट खसेको पानीलाई व्यवस्थित रूपमा संकलन गरेर घरेलु तथा अन्य प्रयोजनमा प्रयोग गर्न सकिन्छ।
छानाबाट पानी संकलन गर्ने सरल तरिका
वर्षातको पानी संकलन गर्न सबैभन्दा पहिले भवनको छाना सफा राख्नुपर्छ। छानामा जम्मा भएको धुलो, पातपतिङ्गर, चराको दिसा वा अन्य फोहोर पानीसँगै ट्यांकीमा नजाओस् भन्ने कुरामा ध्यान दिनुपर्छ।
छानामा परेको पानीलाई गटर वा पाइपमार्फत एउटा निश्चित स्थानमा ल्याएर ट्यांकीमा जम्मा गर्न सकिन्छ। पानी संकलन गर्न प्लास्टिक वा सिमेन्टको ट्यांकी, ड्रम वा अन्य उपयुक्त भाँडो प्रयोग गर्न सकिन्छ। ट्यांकीको आकार भने घरको छानाको क्षेत्रफल, वर्षाको मात्रा र परिवारको पानीको आवश्यकताअनुसार निर्धारण गर्नुपर्छ।
विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा सार्वजनिक भवनमा पनि वर्षातको पानी संकलन प्रणाली विस्तार गर्न सकिन्छ। यसले पानीको उपलब्धता बढाउनुका साथै समुदायमा पानी संरक्षण सम्बन्धी व्यवहार विकास गर्न समेत सहयोग पुर्याउँछ।
तर छानाबाट आएको पहिलो पानी भने सिधै ट्यांकीमा जम्मा गर्नु हुँदैन। लामो समयसम्म छानामा जम्मा भएको धुलो र फोहोर बगाएर ल्याउने भएकाले ‘फर्स्ट फ्लस’ प्रणाली प्रयोग गरी सुरुवाती पानी छुट्याउन सकिन्छ। त्यसपछि आएको पानीलाई फिल्टर गरेर संकलन गर्दा पानीको गुणस्तर थप राम्रो हुन्छ।
संकलित पानी कहाँ प्रयोग गर्ने ?
वर्षातको पानीलाई उचित प्रशोधन र गुणस्तर सुनिश्चित गरेर पिउने तथा खाना पकाउने काममा समेत प्रयोग गर्न सकिन्छ। त्यसबाहेक शौचालय सफा गर्न, कपडा धुन, सरसफाइ गर्न, बगैँचामा पानी हाल्न तथा अन्य घरेलु प्रयोजनमा यसको सहज प्रयोग गर्न सकिन्छ।
खानेपानीका रूपमा प्रयोग गर्ने हो भने भने पानीको गुणस्तर परीक्षण र आवश्यक प्रशोधन अनिवार्य हुन्छ। वर्षातको पानी सफा देखिँदैमा सुरक्षित हुन्छ भन्ने हुँदैन। संकलन प्रणाली, छाना, पाइप, भण्डारण ट्यांकी र वरपरको वातावरणको स्वच्छताले पनि पानीको गुणस्तर निर्धारण गर्छ।
ट्यांकीको सरसफाइ पनि उत्तिकै महत्वपूर्ण
वर्षातको पानी संकलन गरेर मात्र पुग्दैन, त्यसलाई सुरक्षित रूपमा भण्डारण गर्न पनि आवश्यक हुन्छ। पानी राख्ने ट्यांकी ढाकेर राख्नुपर्छ। लामखुट्टे, किरा, धुलो तथा अन्य फोहोर पस्न नदिने व्यवस्था गर्नुपर्छ। ट्यांकी र पाइपलाइनलाई समय–समयमा सफा गर्नुपर्छ।
खानेपानीका स्रोतमा चाप बढ्दै गएको, भूमिगत पानीको सतह घट्दै गएको र कतिपय क्षेत्रमा वर्षैभरि पानीको अभाव हुने अवस्थामा वर्षातको पानी संकलन सरल, कम खर्चिलो र दिगो विकल्प बन्न सक्छ।
घरको छाना तथा पानी संकलन गर्ने गटरमा पनि फोहोर जम्मा हुन दिनु हुँदैन। वर्षा सुरु हुनुअघि नै छाना, गटर, पाइप, फिल्टर र ट्यांकीको अवस्था जाँच गरेर आवश्यक मर्मत तथा सरसफाइ गर्नु उपयुक्त हुन्छ।
पानीको अभाव घटाउने भरपर्दो उपाय
वर्षातको पानी संकलनले घरमा तत्काल पानीको वैकल्पिक स्रोत उपलब्ध गराउनुका साथै अन्य पानीका स्रोतमा पर्ने दबाब पनि कम गर्न सक्छ। विशेषगरी पानीको अभाव हुने पहाडी तथा शहरी क्षेत्रमा वर्षातको पानी संकलनलाई घरायसी पानी व्यवस्थापनको महत्वपूर्ण हिस्सा बनाउन सकिन्छ।
विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा सार्वजनिक भवनमा पनि वर्षातको पानी संकलन प्रणाली विस्तार गर्न सकिन्छ। यसले पानीको उपलब्धता बढाउनुका साथै समुदायमा पानी संरक्षण सम्बन्धी व्यवहार विकास गर्न समेत सहयोग पुर्याउँछ।
वर्षात केही महिनाका लागि आउने प्राकृतिक उपहार हो। त्यसलाई बगेर जान दिने कि भविष्यको पानीका रूपमा सुरक्षित राख्ने भन्ने कुरा हाम्रो व्यवस्थापनमा निर्भर हुन्छ। त्यसैले वर्षातको पानी संकलन गर्ने सोच बनाउँदै हुनुहुन्छ भने यही हो उपयुक्त समय—छाना सफा गरौँ, गटर र पाइप जाँचौँ, पानी संकलन गर्ने ट्यांकी तयार गरौँ र वर्षाको प्रत्येक थोपा जोगाऔँ।
पानी जोगाउनु भनेको भविष्य जोगाउनु हो।


233 पटक हेरिएको 

