मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा महेन्द्रराज गौतम सर्वसम्मत

  वास खबर सम्बाददाता  295 पटक हेरिएको
🔗
319
Shares

रुकुम पश्चिम : मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनबाट महेन्द्रराज गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले संस्थाको खानेपानी सेवा तथा व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ। नव निर्वाचित कार्यसमितिलाई राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली, मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, निवर्तमान अध्यक्ष अध्यक्ष टोपबहादुर विक लगायतले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं ले खानेपानी मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा भएकाले यसको दिगो व्यवस्थापनका लागि उपभोक्ता, संस्था, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले खानेपानीको स्रोत संरक्षणदेखि वितरण प्रणालीको व्यवस्थापनसम्म सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले रुकुमको खानेपानी व्यवस्थापनमा देखिएका चुनौतीबारे धारणा राख्दै नागरिकले मुहानबाट आफूखुसी र जथाभावी पाइप जडान गर्ने प्रवृत्तिले संस्थालाई पानीको उचित व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो। उहाँले खानेपानीको स्रोत र वितरण प्रणालीलाई व्यवस्थित बनाउन संस्थाले स्पष्ट नीति र कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउँदै नवनिर्वाचित कार्यसमितिले अनधिकृत तथा अव्यवस्थित पाइप जडानको समस्या समाधानलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो।

त्यसैगरी राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी सेवा सञ्चालनमा उपभोक्ता र संस्थामाथि थपिँदै गएको आर्थिक भारबारे धारणा राख्नुभयो। उहाँले सरकारले विद्युत् महसुलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तथा चर्को ब्याजदर लगायतका प्रावधान राख्दा खानेपानी आयोजनाको सञ्चालन लागत बढेको बताउनुभयो।

ओलीले खानेपानीको महसुल महँगो भएको भन्ने गुनासोलाई पानीको मूल्यका रूपमा हेर्न नहुने बताउँदै उपभोक्ताबाट लिइने रकमलाई पानीको मूल्यभन्दा पनि सेवा शुल्कका रूपमा निर्धारण गर्ने अवधारणामा जानुपर्ने धारणा राख्नुभयो। खानेपानी संस्थाहरूलाई दिगो रूपमा सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो।

नवनिर्वाचित कार्यसमिति सामु मुसिकोट खलंगाको खानेपानी आपूर्ति तथा व्यवस्थापनलाई नियमित र भरपर्दो बनाउने, अव्यवस्थित पाइप जडान नियन्त्रण गर्ने, पानीको स्रोत संरक्षण गर्ने तथा उपभोक्तामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने चुनौती रहेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष टोपबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी र राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको समेत उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार