
काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला आयोजना हुँदैछ।
‘सुशासन, पारदर्शिता, जवाफदेहिता र समावेशिता : दिगो र गुणस्तरीय खानेपानी तथा सरसफाइको सुनिश्चितता’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएका समसामयिक सवाल, सुशासन, पारदर्शिता, खानेपानीको गुणस्तर, जलवायु परिवर्तनको प्रभाव तथा उपभोक्ताका अधिकार लगायतका विषयमा छलफल गरिने महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी गराउनुभयो ।
कार्यक्रममा संघीय संसद्, प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति आषिश गजुरेलको प्रमुख आतिथ्यता रहनेछ। भेला मार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकाय समक्ष नीतिगत पहल तथा पैरवी गर्ने उद्देश्य राखिएको छ।
फेडवासन मुलुकभरका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, समूह तथा संस्थाहरूको राष्ट्रिय छाता संगठन हो। महासंघको स्थापना २०६० साल भदौ १० गते भएको थियो।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा परिभाषित गरेको थियो। नेपालको संविधानको धारा ३५ को उपधारा (४) ले समेत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरेको छ।
महासंघले स्थापना कालदेखि नै खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत पैरवी, उपभोक्ता संस्थाको क्षमता विकास, उपभोक्तामा सचेतना अभिवृद्धि तथा उपभोक्ताका हकहितका विषयमा सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आएको जनाएको छ।
२४औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् भेलालाई आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रका चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


227 पटक हेरिएको 

