भोटेकोशी बाढीपछि WASH क्षेत्रले गर्नैपर्ने १० काम

  पी.टी.लोप्चन  526 पटक हेरिएको
🔗
918
Shares

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरी क्षेत्रदेखि त्रिशूली नदी आसपासका बस्तीहरू सम्म ठूलो जनधनको क्षति पुर्‍याएको छ। खोज तथा उद्धार जारी रहेकै अवस्थामा मृत्यु, बेपत्ता, घाइते, विस्थापित तथा घरबार विहीन परिवारको संख्या अझै यकिन भइसकेको छैन। बाढीले सडक, पुल, घर, विद्युत् तथा अन्य पूर्वाधारसँगै खानेपानी र सरसफाइका संरचनामा समेत गम्भीर क्षति पुर्‍याएको प्रारम्भिक विवरणहरू आएका छन्।

यस्तो विपद्को पहिलो प्राथमिकता स्वाभाविक रूपमा जीवन बचाउनु, खोज तथा उद्धार गर्नु र घाइतेको उपचार गर्नु हो। तर उद्धारपछि सुरु हुने अर्को संकटलाई समयमै सम्बोधन गर्न नसके बाढीको दोस्रो प्रभाव अझ भयावह हुन सक्छ। त्यो हो, दूषित पानी, शौचालयको अभाव, फोहोर व्यवस्थापनको समस्या र पानीजन्य रोगको जोखिम।

त्यसैले अहिले नै खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने सरकारी निकाय, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा स्थानीय समुदायले एउटा प्रश्न सोध्न जरुरी छ, बाढी प्रभावित क्षेत्रमा WASH को दृष्टिले सबैभन्दा पहिले के गर्ने?

पहिलो काम हो, प्रभावित मानिस र उनीहरूको WASH अवस्थाको यथार्थ तथ्यांक संकलन गर्नु।

पहिलो काम : प्रभावितको WASH प्रोफाइल तयार गर्ने

बाढीपछि तत्कालै ‘कति घर बगे?’ भन्ने प्रश्नसँगै ‘कति परिवारलाई सुरक्षित पानी छैन?’ भन्ने प्रश्न पनि सोधिनुपर्छ।

प्रत्येक प्रभावित बस्तीको न्यूनतम WASH प्रोफाइल तयार गर्न सकिन्छ। त्यसमा कति घरधुरी प्रभावित भए, कति परिवार विस्थापित छन्, कति मानिस अस्थायी आश्रयमा छन्, कति बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति छन् भन्ने विवरण राख्नुपर्छ।

त्यसैगरी, बस्तीमा रहेका खानेपानीका मुहान, इन्टेक, पाइपलाइन, रिजर्भ ट्यांकी, वितरण प्रणाली, सार्वजनिक धारा र घरायसी पानी भण्डारणका संरचनामध्ये कुन–कुन क्षतिग्रस्त छन् भन्ने पनि अभिलेख राखिनुपर्छ।

सरसफाइतर्फ कति शौचालय पूर्ण रूपमा बगे, कति क्षतिग्रस्त छन्, सेप्टिक ट्यांकी वा खाल्डा बाढीले बगाएको छ कि छैन, खुला दिसापिसाबको जोखिम कहाँ बढेको छ र विस्थापित परिवार बसिरहेको स्थानमा कति शौचालय आवश्यक छ भन्ने विवरण पनि संकलन गर्नुपर्छ।

यो तथ्यांक वडा, पालिका र जिल्ला तहमा एउटै ढाँचामा संकलन गर्न सके विभिन्न संघसंस्थाले एउटै ठाउँमा दोहोरो राहत पठाउने अवस्था कम हुन्छ र आवश्यकता अनुसार स्रोत परिचालन गर्न सजिलो हुन्छ।

WHO ले पनि विपद्पछि क्षतिग्रस्त खानेपानी तथा सरसफाइ प्रणालीको rapid assessment of damage and needs लाई तत्काल आवश्यक कामका रूपमा उल्लेख गरेको छ।

दोस्रो काम : ‘कहाँ पानी छैन?’ होइन, ‘कहाँ सुरक्षित पानी छैन?’ भनेर खोजौँ

बाढीपछि धेरै ठाउँमा पानी प्रशस्त देखिन सक्छ। नदीमा पानी छ, खोलामा पानी छ, धारामा पनि पानी आउन सक्छ। तर त्यो पानी खानयोग्य छ भन्ने हुँदैन।

बाढीले मुहान, इन्टेक, पाइपलाइन, ट्यांकी र वितरण प्रणालीमा माटो, लेदो, दिसाजन्य पदार्थ तथा अन्य प्रदूषक मिसाउन सक्छ। त्यसैले बाढी प्रभावित क्षेत्रमा सामान्य अवस्थामा प्रयोग भइरहेको पानीको स्रोतलाई समेत परीक्षण नगरी सुरक्षित मान्नु हुँदैन। WHO ले विपद्को अवस्थामा पाइपबाट आएको पानी समेत दूषित भएको हुन सक्ने भएकाले परीक्षण वा सम्बन्धित निकायको पुष्टि नभएसम्म पानीलाई शुद्धिकरण गरेर प्रयोग गर्न सिफारिस गर्छ।

त्यसैले WASH संस्थाहरूले पहिलो चरणमै water safety mapping गर्नुपर्छ।

कुन मुहान सुरक्षित छ? कुन मुहान दूषित भएको छ? कुन प्रणाली मर्मत गरेर सञ्चालन गर्न सकिन्छ? कहाँ ट्यांकरबाट पानी पुर्‍याउनुपर्छ? कहाँ बोतल वा प्याकेज्ड पानी आवश्यक छ? कहाँ घरमै पानी प्रशोधन गर्न सकिन्छ? यी प्रश्नको उत्तर खोजिनुपर्छ।

तेस्रो काम : तुरुन्त सुरक्षित पानीको न्यूनतम व्यवस्था

प्रभावित परिवारलाई तत्काल सुरक्षित पानी उपलब्ध गराउनु WASH response को सबैभन्दा महत्वपूर्ण काम हो।

WHO ले आपत्कालीन अवस्थामा सके सम्म चाँडो प्रति व्यक्ति प्रतिदिन कम्तीमा १५ लिटर पानी उपलब्ध गराउने लक्ष्य राख्नुपर्ने बताउँछ। अत्यन्त प्रारम्भिक अवस्थामा उपचार गरिएको पानीको मात्रा केही समयका लागि कम हुन सक्ने भए पनि response क्रमशः न्यूनतम आवश्यक परिमाण तर्फ लैजानुपर्छ।

यसका लागि ठाउँ अनुसार ट्यांकर, जार, बोतल, पानी भण्डारण ट्यांकी, जेरिक्यान तथा अन्य सुरक्षित भण्डारण सामग्री परिचालन गर्न सकिन्छ।

तर पानी वितरण गर्दा पानीसँगै सुरक्षित भण्डारणको व्यवस्था पनि गर्नुपर्छ। पानी ल्याइदिएर मात्र पुग्दैन। घर वा आश्रयस्थलमा पानी राख्ने भाँडा दूषित भएमा सुरक्षित पानी फेरि दूषित हुन सक्छ।

त्यसैले बाल्टिन, जेरिक्यान, ढक्कन सहितका भाँडा, मग र पानी प्रशोधन सामग्रीलाई एउटै WASH package का रूपमा हेर्नुपर्छ।

चौथो काम : पानी परीक्षण र क्लोरिनेसन 

बाढीपछि ‘पानी वितरण’ मात्र होइन, पानीको गुणस्तर निगरानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। स्थानीय तह, खानेपानी तथा ढल व्यवस्थापन निकाय, स्वास्थ्य कार्यालय, प्रयोगशाला र WASH संस्थाहरू मिलेर प्रभावित क्षेत्रमा mobile water quality testing व्यवस्था सञ्चालन गर्न सकिन्छ।

प्राथमिक रूपमा स्रोत र वितरण प्रणालीको अवस्था हेर्ने, आवश्यक नमुना संकलन गर्ने, क्लोरिनको अवशेष जाँच गर्ने र जोखिम देखिएको अवस्थामा तत्काल शुद्धिकरण वा वैकल्पिक स्रोतको व्यवस्था गर्ने प्रणाली बनाउनुपर्छ।

नेपालमा विगतका बाढी तथा पानीजन्य रोगका आपत्कालीन अवस्थामा समेत मोबाइल पानी गुणस्तर प्रयोगशाला, क्लोरिन ट्याब्लेट र क्लोरिन समाधान परिचालन गरिएको उदाहरण छ।

अर्थात् अहिले WASH संस्थाहरूले ‘एक संस्था–एक राहत कार्यक्रम’ भन्दा ‘एकीकृत पानी सुरक्षा अभियान’ सञ्चालन गर्नु बढी प्रभावकारी हुन सक्छ।

पाँचौँ काम : क्षतिग्रस्त खानेपानी प्रणालीलाई छिटोभन्दा छिटो पुनः सञ्चालन

बाढीपछि सबै संरचना नयाँ बनाउने होइन। धेरै खानेपानी प्रणाली सामान्य मर्मत, पाइप जोड्ने, ट्यांकी सफा गर्ने, मुहान संरक्षण गर्ने वा पम्प मर्मत गरेर पुनः सञ्चालन गर्न सकिन्छ।

त्यसैले प्रत्येक प्रणालीलाई तीन वर्गमा राख्न सकिन्छ,

पहिलो, तुरुन्त मर्मत गरेर सञ्चालन गर्न सकिने।

दोस्रो, केही दिन वा हप्ता लाग्ने गरी पुनःस्थापना गर्नुपर्ने।

तेस्रो, पूर्ण रूपमा ध्वस्त भएकाले नयाँ संरचना आवश्यक पर्ने।

यसरी वर्गीकरण गर्दा सीमित स्रोतलाई प्राथमिकताका आधारमा परिचालन गर्न सकिन्छ। WHO का आपत्कालीन WASH प्राविधिक नोटहरूले पनि इनार, बोरहोल, ट्यांकी तथा साना पाइपयुक्त खानेपानी प्रणाली सफा गर्ने, कीटाणुशोधन गर्ने र पुनःस्थापना गर्ने विषयलाई तत्कालीन तथा मध्यम अवधिको response को हिस्सा मानेको छ।

छैटौँ काम : अस्थायी शौचालय 

बाढीपछि राहतको ट्रकमा चामल, दाल, कम्बल र कपडा आउँछन्। तर धेरैपटक शौचालयको विषय छुट्छ।

यही कमजोरीले अर्को स्वास्थ्य संकट निम्त्याउन सक्छ।

घर बगेका परिवार, विद्यालय वा सार्वजनिक भवनमा आश्रय लिएका मानिस, सडक किनारमा अस्थायी रूपमा बसेका परिवार तथा सामूहिक आश्रयस्थलमा बस्ने मानिसका लागि तत्काल सुरक्षित शौचालय आवश्यक हुन्छ।

WHO ले विपद्का कारण सामान्य शौचालय संरचना क्षतिग्रस्त वा नष्ट भएमा तुरुन्तै वैकल्पिक शौचालयको व्यवस्था गर्नुपर्ने बताएको छ।

तर अस्थायी शौचालय बनाउँदा पनि खोल्सा, नदी, मुहान वा खानेपानीको स्रोत प्रदूषित नहुने स्थान छनोट गर्नुपर्छ। महिलाको सुरक्षा, गोपनीयता, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको पहुँचलाई पनि ध्यान दिनुपर्छ।

सातौँ काम : दिसाजन्य लेदो र बाढीले बगाएको सरसफाइ संरचनाको व्यवस्थापन

बाढीले सेप्टिक ट्यांकी, शौचालयका खाल्डा र अन्य सरसफाइ संरचना क्षतिग्रस्त बनाएको हुन सक्छ। कतिपय ठाउँमा दिसाजन्य लेदो घर, आँगन तथा सार्वजनिक स्थानमा फैलिएको हुन सक्छ।

यसलाई सामान्य फोहोरजस्तो उठाएर जहाँ पायो त्यहाँ फाल्नु अर्को जोखिम हो।

त्यसैले पालिका र WASH संस्थाले fecal sludge emergency response को व्यवस्था गर्नुपर्छ। आवश्यक ठाउँमा सक्सन मेसिन, स्लज ढुवानी साधन, PPE, अस्थायी उपचार वा सुरक्षित अन्तिम व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्छ।

विशेषगरी नदी तथा खानेपानीका मुहान नजिक दिसाजन्य लेदो पुग्न नदिन तत्काल रोकथाम आवश्यक छ।

आठौँ काम : Hygiene Promotion

साबुन, बाल्टिन र क्लोरिन ट्याब्लेट बाँडेर मात्र WASH response पूरा हुँदैन।

प्रभावित परिवारलाई अहिले कुन पानी पिउने, कुन पानी नपिउने, पानी कसरी शुद्धिकरण गर्ने, कसरी भण्डारण गर्ने, हात कहिले धुने, बच्चाको दिसा कसरी सुरक्षित व्यवस्थापन गर्ने, बाढीले दूषित भएको घर तथा भान्सा कसरी सफा गर्ने भन्ने जानकारी पनि दिनुपर्छ।

WHO का अनुसार आपत्कालीन अवस्थामा दिसापछि, बच्चाको दिसा व्यवस्थापन गरेपछि, खाना बनाउनुअघि र खाना खानुअघि साबुनपानीले हात धुनु महत्वपूर्ण व्यवहार हो।

त्यसैले WASH संस्थाहरूले हाइजिन प्रमोसनका लागि स्थानीय स्वयंसेवक परिचालन गर्न सक्छन्। रेडियो, स्थानीय एफएम, मोबाइल सन्देश, माइकिङ, पोस्टर तथा समुदाय स्तरीय छलफल मार्फत एउटै प्रमाणमा आधारित सन्देश प्रवाह गर्नुपर्छ।

नवौँ काम : महिला, बालबालिका र कमजोर समूहलाई छुट्टै प्राथमिकता

WASH response सबैका लागि समान हुनुपर्छ, तर सबैको आवश्यकता समान हुँदैन।

महिला तथा किशोरीलाई सुरक्षित र गोप्य शौचालय, महिनावारी स्वच्छता सामग्री र पर्याप्त पानी आवश्यक पर्न सक्छ। बालबालिकालाई सुरक्षित पानी, बालमैत्री शौचालय र हात धुने व्यवस्था चाहिन्छ। अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि पहुँचयुक्त शौचालय र पानीको व्यवस्था आवश्यक हुन्छ।

त्यसैले प्रभावितको तथ्यांक संकलन गर्दा कुल जनसंख्या मात्र होइन, vulnerability data पनि संकलन गर्नुपर्छ।

हाल बाढी प्रभावित परिवारका आवश्यकता पहिचान गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता पनि राहत निकायहरूले औंल्याएका छन्।

दशौँ काम : एउटै योजना

अहिले सबैभन्दा ठूलो आवश्यकता coordination हो।

कुनै एउटा संस्थाले पानी बाँड्ने, अर्को संस्थाले क्लोरिन बाँड्ने, अर्कोले बाल्टिन वितरण गर्ने र अर्कोले शौचालय बनाउने, तर कसले कहाँ के गरिरहेको छ भन्ने जानकारी नहुने हो भने स्रोतको दोहोरोपन र खाली ठाउँ दुवै सिर्जना हुन्छ।

त्यसैले प्रत्येक प्रभावित पालिकामा WASH Coordination Cell जस्तो संयन्त्र बनाएर काम गर्न सकिन्छ।

यसले कम्तीमा चारवटा कुरा दैनिक अद्यावधिक गर्नुपर्छ

कहाँ कति मानिस प्रभावित छन्?

कहाँ सुरक्षित पानी उपलब्ध छैन?

कहाँ शौचालय आवश्यक छ?

कुन खानेपानी तथा सरसफाइ संरचना मर्मत गर्नुपर्छ?

त्यसपछि संघसंस्थालाई आवश्यकता अनुसार क्षेत्र तोकेर काम गर्न दिन सकिन्छ।

अब WASH क्षेत्रले के गर्न सक्छ?

भोटेकोशी बाढीपछि खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत संघसंस्थाले काम सुरु गर्नु अघि सबैभन्दा महत्वपूर्ण कुरा हो, आवश्यकता पहिचान र समन्वय।

एउटा साझा WASH rapid assessment टोली बनाएर प्रभावित पालिकामा पठाउन सकिन्छ। त्यस टोलीले घरधुरी, जनसंख्या, पानीका स्रोत, शौचालय, आश्रयस्थल, स्वास्थ्य जोखिम र क्षतिग्रस्त WASH संरचनाको विवरण संकलन गर्न सक्छ।

त्यसपछि तीन तहमा response अघि बढाउन सकिन्छ।

पहिलो तह—० देखि ७२ घण्टा : सुरक्षित पानी, पानी प्रशोधन सामग्री, अस्थायी शौचालय, hygiene kit, हात धुने व्यवस्था, पानी परीक्षण र जोखिम सञ्चार।

दोस्रो तह—३ दिनदेखि २ हप्ता : क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, मुहान तथा ट्यांकी सफाइ, पाइपलाइन पुनःस्थापना, शौचालय सुधार, फोहोर तथा दिसाजन्य लेदो व्यवस्थापन र निरन्तर पानी गुणस्तर निगरानी।

तेस्रो तह—२ हप्तादेखि केही महिना : स्थायी खानेपानी प्रणाली पुनर्निर्माण, बाढीप्रतिरोधी संरचना, सुरक्षित सरसफाइ प्रणाली, स्रोत संरक्षण, पानी सुरक्षा योजना र स्थानीय तहको disaster-resilient WASH योजना।

अन्ततः : अहिलेको सबैभन्दा ठूलो राहत ‘सुरक्षित पानी’ हो

भोटेकोशी बाढीले घर, सडक, पुल र अन्य संरचना बगाएको छ। त्यसको पुनर्निर्माणमा समय लाग्छ। तर मानिसलाई सुरक्षित पानी र सुरक्षित शौचालयका लागि महिनौं पर्खाउन सकिँदैन।

बाढीपछि रोग फैलियो भने विपद्को क्षति अझ ठूलो बन्न सक्छ। WHO ले पनि बाढीपछि पानीजन्य तथा सरसफाइ सम्बन्धी रोगको जोखिम बढ्ने र पर्याप्त सुरक्षित पानी, स्वच्छ सरसफाइ तथा hygiene promotion लाई प्राथमिकता दिनुपर्ने स्पष्ट गरेको छ।

त्यसैले अहिले खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत सबै निकायले

पहिले तथ्यांक संकलन गरौँ।
त्यसपछि जोखिम पहिचान गरौँ।
जहाँ सुरक्षित पानी छैन, त्यहाँ पानी पुर्‍याऔँ।
जहाँ शौचालय छैन, त्यहाँ अस्थायी शौचालय बनाऔँ।
जहाँ पानीको स्रोत दूषित छ, त्यहाँ उपचार र वैकल्पिक स्रोतको व्यवस्था गरौँ।
क्षतिग्रस्त प्रणालीलाई मर्मत गरेर छिटो पुनः सञ्चालन गरौँ।
र राहतबाट पुनःस्थापनातर्फ जाँदा ‘फेरि त्यही संरचना’ होइन, अझ सुरक्षित र विपद्–प्रतिरोधी WASH प्रणाली निर्माण गरौँ।

Photo: NepalVue


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार