
काठमाडौ : घर छैन, बास छैन, खाने छैन, सुत्ने ठाउँ छैन, पानी छैन, शौचालय पनि छैन । यस्तो अवस्थामा बाढीपीडितलाई दिइने राहत प्याकेज कस्तो हुनुपर्छ ?
‘इमर्जेन्सी वास’ अर्थात् आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता भन्नासाथ हाम्रो दिमागमा प्रायः केही निश्चित सामग्री आउँछन्, जस्तै : साबुन, बाल्टिन, पानी शुद्धीकरण सामग्री, टेन्ट, झुल वा केही सरसफाइका सामान। तर इमर्जेन्सी वास भनेको सबै विपद्का लागि एउटै प्रकारको राहत सामग्री बाँड्ने काम होइन।
भूकम्प, बाढी, पहिरो, आगलागी वा अन्य विपद् सबैको प्रकृति फरक फरक हुन्छ। त्यसैले प्रभावित परिवारको आवश्यकता पनि फरक हुन्छ। भूकम्पपछि घरको संरचना भत्किएर मानिस घरबाहिर बस्नुपर्ने अवस्था आउँछ । तर हालैको भोटेकोशीको बाढीमा घरसँगै घरभित्र राखिएका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, ओछ्यान, शौचालय, खानेपानीको स्रोत र दैनिक जीवन चलाउन आवश्यक सामग्री सबै बाढी सँगै बगेका छन् । कतिपय अवस्थामा मानिससँग लगाएको कपडा बाहेक अरू केही पनि बाँकी रहेको अवस्था छैन ।
त्यसैले बाढीपीडितका लागि राहत सामग्रीको सूची बनाउँदा ‘उनीहरुसँग अहिले के छैन ?’ र ‘आज राति सुरक्षित बस्न, भोलि खाना खान र अर्को दिनसम्म जीवन धान्न के आवश्यक पर्न सक्छ भन्ने कोणबाट हेरिनुपर्छ ।
१. आश्रय प्याकेज
बाढीबाट विस्थापित भएको परिवारको पहिलो समस्या नै बासको हुन्छ। घर बगेको वा बस्न नमिल्ने अवस्थामा मानिस विद्यालय, सार्वजनिक भवन, खुला ठाउँ वा आफन्तको घरमा आश्रय लिन बाध्य हुन्छन्। यस्तो अवस्थामा केवल एउटा त्रिपाल दिएर राहत पूरा भयो भन्न सकिँदैन।
परिवारलाई सुरक्षित अस्थायी बसोबासका लागि त्रिपाल वा अन्य उपयुक्त आश्रय सामग्रीसँगै सुत्ने सामग्री, कम्बल, म्याट, आवश्यक पर्दा ओछ्यानका अन्य सामग्री र परिवारलाई मौसमबाट जोगाउने व्यवस्था आवश्यक हुन्छ। विशेष गरी बाढीपछि भिजेको जमिनमा सुत्नुपर्ने अवस्था नआओस् भन्ने कुरामा ध्यान दिनुपर्छ।
घर छैन भने परिवारलाई बस्ने ठाउँ चाहिन्छ। बस्ने ठाउँ भए पनि सुत्ने सामग्री छैन भने त्यो राहत अधुरो हुन्छ।
२. खाद्य तथा खाना पकाउने प्याकेज
बाढीले घरसँगै भान्सा पनि बगाएको छ। त्यसैले ‘खाद्य राहत’ भनेर चामल, दाल र तेल मात्र दिएर पुग्दैन। चामल छ, तर पकाउने भाँडो छैन भने रु दाल छ, तर आगो बाल्ने साधन छैन भने रु खाना पकायो, तर खाने थाल छैन भने रु
यस्तो अवस्थामा बाढीपीडितका लागि राहत प्याकेजमा तत्काल खान मिल्ने र केही दिनसम्म खाना पकाएर खान सकिने दुवै प्रकारको व्यवस्था आवश्यक हुन्छ। तत्कालका लागि तयार खानेकुरा वा स्थानीय रूपमा उपयुक्त खाद्य सामग्री, चामल, दाल, तेल, नुन जस्ता आवश्यक खाद्यवस्तुसँगै भाँडाकुँडा, गिलास, थाल, कराइ करुवा, चम्चा र खाना पकाउन आवश्यक अन्य सामग्री पनि हुनुपर्छ।
परिवारले राहत पाएको दिनदेखि नै आफ्नो आधारभूत खाना आफैं तयार गर्न सक्ने अवस्था बनाउनुपर्छ।
३. सुरक्षित खानेपानी प्याकेज
बाढीपछिको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो सुरक्षित खानेपानी। बाढीले गर्दा बेत्रावती, त्रिशुली लगायत स्थानमा खानेपानीको संरचना विच्छेद भएका छन् । कतिपय ठाउँमा पानीको स्रोत बाँकी भए पनि बाढीका कारण दूषित भएको पनि हुन सक्छ।
त्यसैले राहत प्याकेजमा पानी शुद्धीकरणका लागि आवश्यक सामग्री राख्नुपर्छ। तर सबै ठाउँमा एउटै सामग्री पठाउनु उपयुक्त हुँदैन। पानीको स्रोत, दूषित हुने सम्भावना, उपलब्ध पानीको मात्रा र परिवारको बसोबासको अवस्था हेरेर पानी शुद्धीकरण सामग्री, सुरक्षित पानी भण्डारण गर्ने भाँडा तथा पानी संकलनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुपर्छ।
महत्वपूर्ण कुरा के हो भने राहतको नाममा सामग्री दिएर मात्र पुग्दैन। प्रयोग गर्ने तरिका पनि बुझाउनुपर्छ। शुद्धीकरण सामग्री कसरी प्रयोग गर्ने, कति मात्रामा प्रयोग गर्ने, पानी कति समयपछि पिउने र पानी कसरी सुरक्षित राख्ने भन्ने जानकारी नभए सामग्रीको प्रभावकारी प्रयोग हुँदैन।
४. सरसफाइ तथा स्वच्छता प्याकेज
बाढीपीडितको राहत शिविरमा शौचालय नभएको वा पर्याप्त नभएको अवस्था निकै गम्भीर समस्या हो। खुला ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालयको व्यवस्था आवश्यक हुन्छ।
विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई ध्यानमा राखेर शौचालयको व्यवस्था हुनुपर्छ। महिला र बालिकालाई राती शौचालय जान असुरक्षित हुने अवस्था आउनु हुँदैन।
शौचालयसँगै हात धुने ठाउँ, साबुन र सुरक्षित रूपमा दिसाजन्य फोहोर व्यवस्थापन गर्ने व्यवस्था पनि हुनुपर्छ। शौचालय बनाइयो तर हात धुने पानी र साबुन छैन भने रोग फैलिन सक्छ।
५. मर्यादित जीवन तथा व्यक्तिगत स्वच्छता प्याकेज
बाढीले घर बगाउँदा मानिसको व्यक्तिगत सरसफाइका सामग्री पनि बगेका छन् । परिवारसँग साबुन, टुथब्रस, टुथपेस्ट, तौलिया, लुगा धुने साबुन र अन्य आधारभूत सामग्री केही पनि बाँकी छैनन् ।
त्यसैले राहत प्याकेजमा व्यक्तिगत तथा पारिवारिक सरसफाइका सामग्री समावेश हुनुपर्छ। तर सबैका लागि एउटै प्रकारको किट पर्याप्त हुँदैन। महिला र किशोरीका लागि महिनावारी स्वच्छता सामग्री, साना बालबालिकाको विशेष सरसफाइ आवश्यकता तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको विशेष आवश्यकता पनि सम्बोधन गर्नुपर्छ।
मानिसलाई जिउँदो राख्नु मात्र राहतको उद्देश्य होइन। उसलाई सम्मानपूर्वक बाँच्न सक्ने अवस्था बनाउनु पनि राहतकै उद्देश्य हो।
के राहत बाँडेर मात्र आपतकाल सकिन्छ ?
बाढीको पहिलो केही दिनमा जीवन जोगाउने राहत आवश्यक हुन्छ। त्यसपछि केही दिन र हप्ताका लागि जीवन धान्ने व्यवस्था चाहिन्छ। त्यसपछि भने परिवारलाई फेरि आफ्नै घरमा फर्किन वा सुरक्षित रूपमा नयाँ जीवन सुरु गर्न सहयोग गर्नुपर्छ।
त्यसैले बाढीपछिको सहयोगलाई तीन चरणमा हेर्न सकिन्छ । तत्काल जीवन बचाउने राहत, केही समयका लागि आधारभूत सेवा कायम राख्ने सहयोग र पुनःस्थापना।
पहिलो चरणमा मानिसलाई बाँच्न आवश्यक सामग्री।
दोस्रो चरणमा पानी, सरसफाइ, खाना र सुरक्षित आश्रयको नियमित व्यवस्था।
तेस्रो चरणमा घर, खानेपानी प्रणाली, शौचालय र जीविकोपार्जन पुनःस्थापना।


230 पटक हेरिएको 

