
नुवाकोट : विदुर नगरपालिकाको वडा नं. २ स्थित तादीखोला किनारमा रहेको सम्पवेलबाट लामीडाँडामा रहेको ट्याङ्कीमा खानेपानी पम्पिङ गर्न सफल भएको छ। नियमित खानेपानी आपूर्ति हुँदै आएको मुख्य संरचना भोटेकोशी बाढीले बगाएपछि तादीखोलाको सम्पवेलबाट खानेपानी पम्पिङ गरी वैकल्पिक व्यवस्था गरिएको हो।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरको संयुक्त प्रयासबाट खानेपानी पम्पिङ गर्न सफल भएको उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठले बताउनुभयो।

भोटेकोशी बाढीबाट प्रभावित विदुर र बट्टारका विभिन्न सार्वजनिक तथा सामुदायिक भवनमा आश्रय लिइरहेका मानिसहरूलाई समेत खानेपानी उपलब्ध गराउनुपर्ने भएकाले माग बढेको उहाँले बताउनुभयो। बाहिरबाट खोज तथा उद्धारका लागि पुगेका मानिस, राहत वितरणमा संलग्न विभिन्न संघसंस्था र नियमित उपभोक्तालाई समेत खानेपानी उपलब्ध गराउनुपर्ने भएकाले साबिकको तुलनामा अहिले पानीको माग अझ बढी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५, ६, ८ र ९ का करिब ५ हजार घरधुरीलाई खानेपानी सेवा प्रदान गर्दै आएको छ।
खानेपानीको उच्च मागलाई सम्बोधन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले जेनेरेटरको प्रबन्ध गरी तादीको सम्पवेलबाट पानी पम्पिङ गर्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर कमलराज श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार केयूकेएलको १ सय केभीए क्षमताको जेनेरेटर सञ्चालन गरी सोमबारदेखि पम्पिङ प्रणाली सञ्चालनमा ल्याइएको हो।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नुवाकोट र रसुवाको सीमामा पर्ने फलाखु खोलाबाट प्रति सेकेन्ड ८० लिटर पानी विदुरमा ल्याई प्रशोधनपछि वितरण गर्दै आएको थियो। करिब १४ किलोमिटर लामो पाइपलाइनमध्ये बेत्रावतीदेखि सिगुटारसम्मको करिब साढे ४ किलोमिटर पाइपलाइन बाढीले बगाएपछि नियमित खानेपानी आपूर्ति पूर्ण रूपमा ठप्प भएको थियो।

यस्तै, वैकल्पिक व्यवस्थाका लागि त्रिशुलीमा रहेका तीनवटा डिप बोरिङस मेत बाढीले बगाएपछि तादीको सम्पवेलबाट खानेपानी पम्पिङ गर्नुपर्ने अवस्था आएको हो।
विद्युत् भोल्टेज मुख्य समस्या
तादीको सम्पवेलसम्म विद्युत् लाइन पुर्याइए पनि पर्याप्त र स्थिर भोल्टेज नहुँदा जेनेरेटरको व्यवस्था गर्नुपरेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो।

उहाँका अनुसार डिजेलबाट जेनेरेटर सञ्चालन गर्नुपर्ने भएकाले यो निकै खर्चिलो छ। नियमित र पर्याप्त भोल्टेज सहित विद्युत् आपूर्ति भएमा खानेपानी उत्पादन तथा वितरणको मात्रा बढाउन सकिने उहाँले बताउनुभयो।
जेनेरेटरको क्षमताका कारण हाल एउटा पाइपबाट मात्र खानेपानी पम्पिङ गरिएको छ। विद्युत्को भोल्टेज स्थिर भएमा तीनवटा पाइपबाट पम्पिङ गर्न सकिने र पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रति सेकेन्ड ८० लिटर पानी पम्पिङ गर्न सकिने आचार्यले बताउनुभयो।
तादी खोलाको सम्पवेल खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट २०८० सालमा निर्माण गरिएको थियो।

संस्थाका अध्यक्ष श्रेष्ठका अनुसार सम्पवेलबाट पम्पिङ गरिएको पानी लामीडाँडामा निर्माण गरिएका दुईवटा ट्याङ्कीमा सङ्कलन गरिन्छ। त्यहाँबाट पानी विदुरमा रहेको प्रशोधन केन्द्रमा पुर्याई प्रशोधन गरिन्छ। प्रशोधनपछि पानी २० लाख लिटर क्षमताको रिजर्भ्वायर ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिनेछ।

यसका अतिरिक्त काठमाडौं उपत्यका खानेपानी लिमिटेड र निजी क्षेत्रका ट्याङ्करमार्फत बाढी प्रभावितहरू बस्दै आएका सेल्टरहरूमा पनि खानेपानी वितरण भइरहेको छ। ती ट्याङ्करले राहुलधारा लगायतका विभिन्न स्रोतबाट पानी भरेर प्रभावित क्षेत्रमा वितरण गरिरहेका छन्।



फोटोहरु : पी.टी.लोप्चन/WASH Khabar


331 पटक हेरिएको 

