
नुवाकोट : भोटेकोशीमा आएको बाढीले मुख्य खानेपानी पाइपलाइन बगाएपछि विदुर नगरपालिकामा नियमित खानेपानी आपूर्ति प्रभावित भएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बहुपक्षीय प्रयास थालेको छ ।खानेपानी संकट समाधान गर्न अहिले विभिन्न विकल्प मार्फत आपतकालीन रूपमा पानी आपूर्ति गर्ने प्रयास भइरहेको छ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का करिब ५ हजार घरधुरी उपभोक्ता छन्। संस्थाले नुवाकोट र रसुवाको सीमामा पर्ने फलाखु खोलाबाट प्रति सेकेन्ड ८० लिटर पानी विदुरमा ल्याई प्रशोधनपछि वितरण गर्दै आएको थियो।
तर करिब १४ किलोमिटर लामो पाइपलाइन अन्तर्गत बेत्रावतीदेखि सिगुटारसम्मको करिब साढे ४ किलोमिटर पाइपलाइन बाढीले बगाएपछि नियमित खानेपानी आपूर्ति अवरुद्ध भएको हो।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरको संयुक्त प्रयासमा तत्काल खानेपानी आपूर्तिका विभिन्न विकल्पमा काम भइरहेको छ।
यस अन्तर्गत तादीखोलाको सम्पवेलबाट लामीडाँडामा रहेको ट्याङ्कीमा पानी पम्पिङ गर्न सुरु गरिएको छ।
तीन वटा पाइपलाइनबाट पम्पिङ गर्ने व्यवस्था भए पनि विद्युत् समस्याका कारण हाल एउटा पाइपलाइनबाट मात्र पम्पिङ भइरहेको छ। जसका कारण प्रति सेकेन्ड ८० लिटर पानी पम्पिङ गर्ने सम्भावना हुँदाहुँदै अहिले करिब ३० लिटर पानी मात्र पम्पिङ गर्न सकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, खानेपानी सुशासन तथा पूर्वाधार प्रबर्धन कार्यक्रमका का आयोजना निर्देशक सुरत कुमार बम, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद आचार्य र विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरु र काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधीहरुको सक्रियतामा सोमबार मात्र पानी पम्पिङ गरिएको हो।

त्यसैगरी साउने धाराबाट पनि खानेपानी वितरण गर्ने तयारी भइरहेको छ। यस प्रणालीमार्फत विदुर नगरपालिका वडा नम्बर ६ का करिब ५ सय घरधुरीमध्ये २ सय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउन सकिने अनुमान गरिएको छ। यसका लागि पानी पम्पिङ गरेर वितरण गर्नुपर्नेछ।
संस्थाले तल्लो पिपलटार क्षेत्रमा पनि वैकल्पिक पानीको मुहान खोजिरहेको छ। त्यस्तै बट्टार बजारको घना बस्ती रहेको आँपघारी क्षेत्रमा पम्प जडान गरी पानी वितरण गर्ने प्रयास भइरहेको छ।
दम्कीको मुल्ली क्षेत्रमा ३२ एमएमको पाइपबाट पानी ल्याई सार्वजनिक धाराको जस्तो दुई स्थानबाट वितरण गर्ने योजना बनाइएको छ। वडा नम्बर ६ को इनारपाटीमा रहेको सिँचाइ प्रयोजनको बोरिङबाट पनि आपतकालीन रूपमा खानेपानी आपूर्ति गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ। उक्त स्थानमा आवश्यक पाइप र जेनेरेटरको व्यवस्था गर्न सके आपतकालीन अवस्थामा त्यहाँबाट समेत खानेपानी उपलब्ध गराउन सकिने संस्थाले जनाएको छ।
बाढीले मुख्य खानेपानी प्रणालीमा क्षति पुर्याएपछि वैकल्पिक स्रोत पहिचान, पम्पिङ, पाइप जडान र अन्य प्राविधिक व्यवस्थामार्फत विदुरवासीलाई सकेसम्म छिटो खानेपानी उपलब्ध गराउने प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
बाढीका कारण प्रभावित खानेपानी आपूर्ति प्रणालीको पुनःस्थापना तथा आपतकालीन व्यवस्थापनमा भौतिक र प्राविधिक सहयोग गर्न चाहने विभिन्न संघसंस्था तथा निकायले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सम्पर्क नम्बर 10 560330, 560232 वा संस्थाका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठको मोबाइल नम्बर 9851360508 मा सम्पर्क गर्न सक्नुहुनेछ।



296 पटक हेरिएको 

