
काठमाडौं : भोटेकोशी बाढीले त्रिशूली नदी करिडोर अन्तर्गत रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा खानेपानी तथा सरसफाइ क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक मूल्यांकन अनुसार यी चार जिल्लामा गरी ९३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ भने प्रभावित संरचनाको पुनर्निर्माणका लागि करिब १ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट धादिङमा ६५ वटा इन्टेक र १११ वटा रिजर्भ्वायर ट्यांकी क्षतिग्रस्त भएका छन्। त्यसैगरी रसुवामा १४, नुवाकोटमा ११ र गोरखामा ४ वटा इन्टेकमा क्षति पुगेको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट खानेपानी संरचना तर्फ मात्र करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित क्षेत्रका सरसफाइ संरचनामा विशेषगरी चर्पीहरूमा, करिब २९ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। हालकै अवस्थामा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न करिब १ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो। यद्यपि एकीन विवरण संकलन गर्न अझै बाँकी रहेको उहाँले बताउनुभयो।
नुवाकोटको विदुर क्षेत्रमा तत्काल पानीको आपूर्ति सुनिश्चित गर्न तादी खोला किनारमा रहेको सम्पवेलबाट १०० केभिए क्षमताको जेनेरेटर प्रयोग गरी पानी पम्पिङ गर्ने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार ग्राभिटी प्रणाली, स्थानीय मुहान तथा पम्पिङ मार्फत तत्कालका लागि खानेपानी व्यवस्थापन गर्ने योजना बनाइएको छ।
प्रभावित क्षेत्रमा आवतजावत अवरुद्ध हुँदा स्थानीय बासिन्दा तथा पर्यटकका लागि पानी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। अस्थायी शिविरमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका चारवटा ट्यांकर मार्फत पानी वितरण गरिएको छ।
दूषित पानीका कारण महामारी फैलिन नदिन ‘वाटर एम्बुलेन्स’ परिचालन गरी प्रभावित क्षेत्रको पानीको गुणस्तर परीक्षण पनि भइरहेको छ। विभागले प्रभावित क्षेत्रमा ब्लिचिङ पाउडर, एक्वा ट्याब र क्लोरिन झोल वितरण गर्दै पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्ने प्रयास गरेको उहाँले बताउनुभयो।
मुख्य पहुँचमार्गहरू अवरुद्ध हुँदा उद्धार, राहत तथा खानेपानी संरचनाको पुनर्निर्माणका लागि प्रमुख चुनौती बनेको विभागले जनाएको छ।


175 पटक हेरिएको 

