
काठमाडौं : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ६ वटा प्लाष्टिक ट्याङ्की उपलब्ध गराईएको छ। अध्यक्ष खेमराज ओली तथा महासंघका सल्लाहकारद्वय चोक प्रसाद धिताल र शंकर गौतमले व्यक्तिगत खर्चबाट करिब ७५ हजार रुपैयाँ बराबरका ६ वटा हिल ट्यांकी उपलब्ध गराउनु भएको हो।
बढी प्रभावित क्षेत्रमा सामूहिक रूपमा खानेपानी पिउने व्यवस्था मिलाउने प्रयोजनका लागि ती ट्याङ्की उपलब्ध गराईएको राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो।
यस्तै प्लान इन्टरनेशलले पनि ५ वटा हिलटेक उपलब्ध गराएको छ । हजार लिटर क्षमताका ती ट्याङ्कीहरु खानेपानी अभाव रहेको समुदायमा हस्तान्तरण गरिरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठले जानकारी दिनुभयो।

‘हामीले हिलटेक सँगै पम्प, फिटिङ्सका सामान, तार लगायत आवश्यक सबै सामग्री उपलब्ध गराएका छौं । जहाँ जहाँ पानीको समस्या भएको छ, ती स्थानहरुमा खानेपानी पम्पिङ गरेर प्लाष्टिक ट्याङ्कीमा जम्मा गरी सामूहिक तरिकाले उपभोग गर्ने हिसाबले उपलब्ध गराएका छौं’ उहाँले भन्नुभयो।
भोटेकोशीमा आएको बाढीले मुख्य खानेपानी पाइपलाइन बगाएपछि विदुर नगरपालिकामा नियमित खानेपानी आपूर्ति प्रभावित भएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बहुपक्षीय प्रयास थालेको छ ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नुवाकोट र रसुवाको सीमामा पर्ने फलाखु खोलाबाट प्रति सेकेन्ड ८० लिटर पानी विदुरमा ल्याई प्रशोधनपछि वितरण गर्दै आएको थियो। करिब १४ किलोमिटर लामो पाइपलाइनमध्ये बेत्रावतीदेखि सिगुटारसम्मको करिब साढे ४ किलोमिटर पाइपलाइन बाढीले बगाएपछि नियमित खानेपानी आपूर्ति प्रभावित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५, ६, ८ र ९ का करिब ५ हजार घरधुरीलाई खानेपानी सेवा प्रदान गर्दै आएको छ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरको संयुक्त प्रयासमा तत्काल खानेपानी आपूर्तिका विभिन्न विकल्पमा काम भइरहेको छ।
यस अन्तर्गत तादीखोलाको सम्पवेलबाट लामीडाँडामा रहेको ट्याङ्कीमा पानी पम्पिङ गर्न सुरु गरिएको छ।


176 पटक हेरिएको 

