काठमाडौ : काठमाडौँ महानगरपालिकाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्ने ८४ जना बाट दुई लाख ३७ हजार ३५० रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने ८४ जना कारवाहीमा परेका हुन् ।
काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभाग, कार्य सञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाका अनुसार काठमाडौ महानगरपालिकाको गाडीमा फोहोर नपठाई सार्वजनिक स्थानमा थुपार्ने ८४ जनालाई कारबाही गरिएको हो ।
उहाँका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातको समयमा सडकमा जथाभावी फोहोर फाल्ने भेटिएको छ । जथाभावी फोहोर फालेबापत विभागले न्यूनतम ५०० रुपैयाँदेखि एक लाख सम्म जरिवाना गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्था भन्दा बढी व्यक्ति छन् ।