
काठमाडौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता समूह (National WASH Cluster) नेपालको बैठक मंगलबार सम्पन्न भएको छ ।
बैठकमा रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) लगायतमा भएको जनधनको क्षति र खानेपानी तथा सरसफाइमा परेको क्षतिको सन्दर्भमा छलफल भएको वास क्लस्टरका सदस्य एवं राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी गराउनुभयो।
उहाँका अनुसार बैठकमा खानेपानी तथा सरसफाइमा क्षतिको अबस्था, अबको आबश्यकता, आपतकालीन प्रतिकार्य र राहत तथा सम्पर्क समन्वयको सन्दर्भमा समेत समिक्षा भएको थियो।
बैठकले खानेपानी तथा सरसफाइ आयोजनाहरुमा पुर्याएको क्षतिको सरकारी निकाय र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासन लगायत संघ संस्था हरुले द्रुतगतिमा तथ्यांक संकलन तथा प्रारम्भिक मुल्यांकन गर्दै तत्काल समस्या समाधानका लागि कार्य गर्ने निर्णय भएको उहाँले जानकारी गराउनुभयो।

बाढी प्रभावित क्षेत्रका जनताहरुलाइ तत्काल आवश्यक सहयोगका लागि विश्व सामु आव्हान गर्ने समेत निर्णय गरिएको अध्यक्ष अर्यालले बताउनुभयो।
त्यसैगरी बैठकमा हाल भैरहेको र आगामी गतिबिधि, दुर्गम भौगोलिक क्षेत्र समेटिने गरी सेवा प्रवाह एवं समस्या तथा समन्वय आबश्यक पर्ने क्षेत्रहरुको पहिचान गर्दै कार्य सम्पादन गर्ने छलफल भएको थियो।
पूर्वाधार मन्त्रालयका सहसचिव माधव प्रसाद अधिकारीको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालयको सभाकक्ष सिंहदरवारमा बसेको बैठकमा पूर्वाधार मन्त्रीका वास सल्लाहकार डा. सञ्जीव विक्रम राणा सहित युनिसेफ नेपाल, यु.एन् ह्याबिटाट, हेल्भेटास, विश्व स्वास्थ्य संगठन, बेलायती दुतावास लगायत सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो।



257 पटक हेरिएको 

