
काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ३ मा अवस्थित पाँचधारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिले रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४५ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
समितिको मिति २०८३ भदौ १५ गते बसेको कार्यसमिति बैठकले बाढी तथा पहिरोपीडितलाई राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरे अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
समितिका कार्यसमिति तथा पदाधिकारीहरूको तर्फबाट १५ हजार ३ सय रुपैयाँ, समितिको तर्फबाट १५ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १५ हजार रुपैयाँ गरी जम्मा ४५ हजार ३ सय रुपैयाँ सहयोग रकम जम्मा गरिएको समितिका कोषाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोलीका संयोजक राजु लामा वाइबा तामाङले जानकारी दिनुभयो।

विपदमा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सानो भए पनि सहयोग पुर्याउने उद्देश्यले समितिका पदाधिकारी, सदस्य, कर्मचारी तथा उपभोक्ताहरूको सहभागितामा आर्थिक सहयोग गर्ने निर्णय गरिएको तामाङले बताउनुभयो।
रसुवा जिल्लाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।
विपद्को समयमा सबै क्षेत्रबाट सहयोग र ऐक्यबद्धताको आवश्यकता पर्ने उल्लेख गर्दै उहाँले बाढीपहिरोपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न पनि आग्रह गर्नुभयो।


282 पटक हेरिएको 

