
भोटेकोशी र त्रिशूली नदीमा २०८३ भदौ १० गते (२६ अगस्ट २०२६) आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका धेरै समुदायमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था, खानेपानी तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको यस विपद्को सबैभन्दा संवेदनशील प्रभाव बालबालिकामा परेको छ।
UNICEF का पछिल्ला विवरणअनुसार यी बाढीबाट कम्तीमा २२,००० बालबालिका प्रभावित भएका छन्। त्यसमध्ये १०,००० भन्दा बढी विद्यालय जाने उमेरका बालबालिकालाई तत्काल मनोसामाजिक सहयोग तथा सुरक्षित र संरक्षणयुक्त सिकाइ वातावरण आवश्यक रहेको बताइएको छ।
बाढीले बालबालिकाको घर र विद्यालय मात्र बगाएको छैन; उनीहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र भविष्यप्रतिको विश्वासमा समेत गहिरो असर पारेको छ। कतिपय बालबालिका अभिभावक वा परिवारका सदस्यबाट छुट्टिएका छन् भने कतिपयले आफ्ना प्रियजन गुमाएका छन्।
त्यसैले अहिलेको राहत प्रयासलाई खाद्यान्न, कपडा र अन्य सामग्री वितरणमा मात्र सीमित राख्नु पर्याप्त हुँदैन। बालबालिकाको जीवन, अधिकार, सुरक्षा, स्वास्थ्य, सुरक्षित खानेपानी र सरसफाइ, शिक्षा र मनोसामाजिक कल्याणलाई आपत्कालीन प्रतिक्रियाको केन्द्रमा राख्नु आवश्यक छ।
बालबालिकामाथि बढ्दो जोखिम
विपद्पछि बालबालिका विभिन्न प्रकारका जोखिममा पर्छन्। परिवारबाट छुट्टिनु, अभिभावक गुमाउनु, अस्थायी आश्रयस्थलमा असुरक्षित बस्नु तथा सुरक्षित वातावरणको अभाव उनीहरूका प्रमुख समस्या हुन्।
यस्ता परिस्थितिमा बालबालिका हिंसा, दुर्व्यवहार, यौन शोषण, बालश्रम, बेचबिखन तथा अन्य प्रकारका शोषणको जोखिममा पर्न सक्छन्।
त्यसैगरी सुरक्षित खानेपानी र सरसफाइको अभाव, पौष्टिक खानाको कमी तथा स्वास्थ्य सेवामा पहुँच नहुनुले रोग तथा कुपोषणको जोखिम बढाउँछ।
यस विपद्को अर्को गम्भीर असर मनोसामाजिक हो। बाढीको भयावह अनुभव, घर तथा सम्पत्ति गुमाउनु, परिवारका सदस्य हराउनु वा मृत्यु हुनु र विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्नुपर्दा बालबालिकामा डर, चिन्ता, तनाव, दुःख र आघात देखिन सक्छ।
त्यसैले उनीहरूलाई खाना र कपडासँगै माया, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित बालमैत्री वातावरण पनि आवश्यक छ। पछिल्लो समय नुवाकोट, रसुवा जिल्ला लगायत बाढी प्रभावित स्थानहरुमा बिन्न निकाय र संघसस्थाहरुले राहत सामग्री, बालबालिका तथा परिवारका सदस्यलाई सामुहिक तथा व्यक्तिगत मनोसामाजिक सहयोग उपलब्ध गराइरहेका छन्। विपद्पछि अभिभावक तथा बालबालिकाहरुको मानसिक स्वास्थ्यलाई झनै प्राथमिकतामा राख्नुपर्ने आवश्यक छ।
बाल स्वास्थ्य, सुरक्षित पानी र सरसफाइ : रोगबाट जोगाउने पहिलो सुरक्षा
बाढीपछि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ। बाढीको पानीले खानेपानीका स्रोत, शौचालय, पाइपलाइन तथा सरसफाइका संरचनामा क्षति पुर्याउन सक्छ। दूषित पानी र अस्वच्छ वातावरणका कारण झाडापखाला, हैजा, टाइफाइड तथा अन्य पानीजन्य रोग फैलिने जोखिम बढ्न सक्छ।
यसकारण प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको तत्काल व्यवस्था, पानी शुद्धीकरण, अस्थायी तथा सुरक्षित शौचालय, हात धुने सुविधा, साबुन तथा स्वच्छता सामग्री उपलब्ध गराउनु बाल स्वास्थ्य संरक्षणको महत्वपूर्ण हिस्सा हो।
बाढीका कारण पानीका प्रणाली तथा स्वास्थ्य सेवामा समेत क्षति पुगेको अवस्थामा सुरक्षित पानी र सरसफाइलाई राहतको अतिरिक्त विषय नभई जीवनरक्षक सेवाकै रूपमा लिनुपर्छ। अस्थायी आश्रयस्थल र विद्यालयमा विशेषगरी बालबालिका, किशोरी तथा अपाङ्गता भएका बालबालिकाका लागि सुरक्षित, पहुँचयोग्य र लैङ्गिकमैत्री शौचालय तथा हात धुने सुविधा सुनिश्चित गर्नुपर्छ।
बाढीपछि बालबालिकालाई पानी पिउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, शंकास्पद वा दूषित पानी नपिउने, सुरक्षित रूपमा खानेपानी भण्डारण गर्ने तथा वरपरको वातावरण सफा राख्ने व्यवहारबारे सरल र बालमैत्री जानकारी दिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
विद्यालय भवन तथा शैक्षिक सामग्रीमा क्षति भविष्यमा पर्ने असर
बाढीले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा क्षति पुर्याउँदा बालबालिकाको पढाइ पनि अवरुद्ध भएको छ। तर विपद्को समयमा शिक्षा केवल पढाइको विषय होइन। विद्यालय बालबालिकाका लागि सुरक्षा, नियमितता, साथीभाइसँगको सम्बन्ध र मनोसामाजिक स्थिरताको महत्वपूर्ण आधार पनि हो।
UNICEF को पछिल्लो विवरणअनुसार बाढीबाट कम्तीमा १९ विद्यालय क्षतिग्रस्त भएका छन्, जसमा केही पूर्ण र केही आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। थप केही विद्यालय पनि जोखिममा रहेको आकलन गरिएको छ। विद्यालयका पाठ्यपुस्तक, फर्निचर, कम्प्युटर तथा अन्य शैक्षिक सामग्रीसमेत क्षतिग्रस्त भएका छन्।
त्यसैले विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री, बालमैत्री सुरक्षित स्थान र मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्छ।
नुवाकोटको बाढीका क्रममा समयमै सूचना पाएपछि विद्यालय नेतृत्वले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजान सफल भएको घटनाले पूर्वसूचना, विद्यालयको तयारी र जिम्मेवार नेतृत्वले बालबालिकाको जीवन जोगाउन कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने देखाएको छ।
सरकारको भूमिका : बालबालिका पहिलो प्राथमिकता
आपत्कालीन अवस्थामा बालबालिकाको संरक्षण गर्नु सरकारको प्रमुख जिम्मेवारी हो। संघ, प्रदेश र स्थानीय तहले समन्वय गरी जोखिममा रहेका बालबालिकाको तत्काल पहिचान, उद्धार, दर्ता र सुरक्षित संरक्षण गर्नुपर्छ।
• परिवारबाट छुट्टिएका वा हराएका बालबालिकाको पहिचान, दर्ता, खोजी र परिवार पुनर्मिलन गर्नुपर्छ।
• सुरक्षित आश्रयस्थल, खानेपानी, सरसफाइ, स्वास्थ्य र पोषणको व्यवस्था गर्नुपर्छ।
• बाल हिंसा, यौन दुर्व्यवहार, बेचबिखन र बालश्रम रोक्न प्रभावकारी सुरक्षा संयन्त्र परिचालन गर्नुपर्छ।
• विद्यालय सुरक्षित बनाएर आपत्कालीन शिक्षा तथा सिकाइको निरन्तरता सुनिश्चित गर्नुपर्छ।
• बालमैत्री सुरक्षित स्थान र मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्छ।
• अपाङ्गता भएका बालबालिका, अभिभावकविहीन बालबालिका तथा अन्य विशेष जोखिममा रहेका बालबालिकालाई प्राथमिकता दिनुपर्छ।
• स्थानीय समुदाय, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय र मानवीय साझेदारबीच प्रभावकारी समन्वय गर्नुपर्छ।
गैरसरकारी संस्था तथा नागरिक समाजको भूमिका : सरकारको सहयोगी शक्ति
आपत्कालीन अवस्थामा गैरसरकारी संस्था तथा नागरिक समाजले सरकारको प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। विशेषगरी स्थानीय स्तरमा समुदायसँग नजिक रहेका संस्थाहरूले प्रभावित बालबालिकाको वास्तविक आवश्यकता पहिचान गर्न र छिटो सहयोग पुर्याउन सक्छन्।
गैरसरकारी संस्था तथा नागरिक समाजले बाल संरक्षणसम्बन्धी द्रुत आवश्यकता मूल्याङ्कन, बालमैत्री सुरक्षित स्थान सञ्चालन, मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन, स्वास्थ्य तथा पोषण, सुरक्षित पानी तथा सरसफाइ, शैक्षिक सामग्री तथा अस्थायी सिकाइको व्यवस्था गर्न सहयोग गर्न सक्छन्।
त्यसैगरी महिला समूह, युवा, शिक्षक, बाल क्लब, समुदायका अगुवा तथा स्वयंसेवकलाई परिचालन गरी बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र शोषणको रोकथाम गर्न सकिन्छ।
राहत वितरण गर्दा पनि सबै परिवारलाई एउटै दृष्टिले हेर्नुभन्दा सबैभन्दा बढी जोखिममा रहेका बालबालिका र परिवारलाई प्राथमिकता दिन आवश्यक छ।
बाल संरक्षणमा समुदायको भूमिका
बालबालिकाको सुरक्षा केवल सरकार र संस्थाहरूको जिम्मेवारी होइन। परिवार र समुदाय पनि बाल संरक्षणको पहिलो सुरक्षा घेरा हुन्।
समुदायले बाढीबाट छुट्टिएका वा एक्लिएका बालबालिकाको पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउने, बालबालिकालाई सुरक्षित स्थानमा राख्ने, शंकास्पद गतिविधिको सूचना दिने र उनीहरूको मानसिक अवस्थालाई बुझेर सहयोग गर्ने काम गर्न सक्छ।
आपत्कालीन अवस्थामा बालबालिकालाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु हुँदैन। उनीहरूको आवाज, अनुभव र आवश्यकता सुन्नु र सम्मान गर्नु पनि बाल संरक्षणकै महत्वपूर्ण पक्ष हो।
राहतबाट पुनर्स्थापनातर्फ : बालकेन्द्रित पुनर्निर्माण आवश्यक
आपत्कालीन राहत केही दिन वा केही हप्ताका लागि मात्र होइन। अहिले गरिएको निर्णयले बालबालिकाको आगामी वर्षौँको जीवनलाई प्रभाव पार्न सक्छ। त्यसैले राहतसँगै प्रारम्भिक पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणलाई पनि बालकेन्द्रित बनाउन आवश्यक छ।
विद्यालय पुनर्निर्माण गर्दा सुरक्षित स्थान छनोट, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, सुरक्षित खानेपानी तथा सरसफाइ र बालमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ।
विभिन्न अध्ययन तथा अनुसन्धानहरूको विवरणले पनि क्षतिग्रस्त सिकाइ केन्द्रहरूको पुनर्स्थापना तथा पुनर्निर्माण गर्दा जलवायु–लचिलो र विपद्–जोखिमलाई ध्यानमा राखिएको पूर्वाधार आवश्यक रहेको देखाएको छ।
भविष्यमा यस्तै विपद् आएमा बालबालिकालाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रत्येक विद्यालय र समुदायमा आपत्कालीन तयारी, पूर्वसूचना प्रणाली, सुरक्षित निकास मार्ग र नियमित अभ्यासलाई बलियो बनाउनुपर्छ।
लेखक तिमिल्सिना, एकिकृत हातेमालो समाज नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ।


297 पटक हेरिएको 

