बाढी प्रभावित नुवाकोटमा आपतकालीन वास सहायता, शौचालय निर्माणदेखि पानी परीक्षण र पियुष वितरण

  वास खबर सम्बाददाता  298 पटक हेरिएको
🔗
435
Shares

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका समुदायमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको पहुँच सुनिश्चित गर्न वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आपतकालीन टोलीले स्थलगत रूपमा सहायता सुरु गरेको छ।

बाढीपछि खानेपानीका स्रोत र सरसफाइका संरचनामा क्षति पुग्नुका साथै दूषित पानीका कारण पानीजन्य रोग फैलिने जोखिम बढेपछि एन्फोले प्रभावित क्षेत्रमा आपतकालीन वास (पानी, सरसफाइ तथा स्वच्छता) सेवा प्रदान गरिरहेको हो।

एन्फोको आपतकालीन टोलीले प्रभावित समुदायमा आरटीआई शौचालय स्थापना, खानेपानीको गुणस्तर परीक्षण तथा पानी शुद्धीकरणका लागि पियुष वितरण गरिरहेको जनाएको छ। बाढी प्रभावित समुदायलाई सुरक्षित पानी र मर्यादित सरसफाइको पहुँच सुनिश्चित गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।

बाढीपछि खुला स्थानमा दिसापिसाब गर्नुपर्ने तथा शौचालयमा पहुँच नहुने अवस्था सिर्जना हुँदा सरसफाइको अवस्था थप चुनौतीपूर्ण बन्न सक्छ। त्यसलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा अस्थायी तथा आपतकालीन शौचालयको व्यवस्था गर्न थालिएको हो। यसले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित र मर्यादित सरसफाइको सुविधा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, बाढीका कारण खानेपानीका मुहान तथा स्रोत दूषित हुने सम्भावना बढ्ने भएकाले एन्फोको टोलीले पानीको गुणस्तर परीक्षणलाई पनि प्राथमिकतामा राखेको छ। परीक्षण मार्फत पानीको अवस्था पहिचान गरी प्रभावित समुदायलाई सुरक्षित पानी प्रयोग गर्न आवश्यक सुझाव र सहयोग उपलब्ध गराइनेछ।

पानीको शुद्धीकरणका लागि प्रभावित समुदायमा पियुष समेत वितरण भइरहेको छ। पियुष प्रयोग गरी पानीलाई कीटाणुरहित बनाउन सकिने र यसबाट झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगको जोखिम कम गर्न सहयोग पुग्ने जनाइएको छ।

बाढीपछि राहतका रूपमा खाद्यान्न र अस्थायी बसोबासको व्यवस्थासँगै सुरक्षित खानेपानी र सरसफाइको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले प्रभावित क्षेत्रमा तत्काल वास सेवा उपलब्ध गराउन जोड दिइएको छ। दूषित पानी र असुरक्षित सरसफाइका कारण विपद्पछि फैलिन सक्ने रोगको जोखिमलाई कम गर्न सुरक्षित पानी, शौचालय र स्वच्छता अभ्यासलाई प्राथमिकतामा राखिएको एन्फोको भनाइ छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार