
काठमाडौं : रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ ।
युनिसेफले आफ्नो वेभसाईटमा उल्लेख गरे अनुसार हालसम्म कम्तीमा १४ जना बालबालिका सहित अनुमानित ३३२ जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ता हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
“रसुवा र धादिङका बालबालिकाले अत्यन्त छोटो समयमै आफ्नै आँखाअगाडि आफ्नो जीवनको आधार नै बगेर गएको देख्नुपर्यो। उनीहरूका घर, कक्षाकोठा र स्वास्थ्य संस्थामा क्षति पुगेको छ। धेरैले आफ्नो ज्यान र प्रियजन गुमाएका छन्,” नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले भन्नुभयो।
“मृतकको संख्या अझै बढिरहेको अवस्थामा यो त्रासदी समाप्त भएको छैन भन्ने हामीलाई थाहा छ। बाढीबाट जोगिएका बालबालिका अहिले रोग, कुपोषण, हिंसा र शोषणको बढ्दो जोखिममा छन्। युनिसेफ प्रभावित क्षेत्रमा उपस्थित छ र सहयोगको दायरा विस्तार गरिरहेको छ, तर आवश्यकतामा रहेका प्रत्येक बालबालिकासम्म पुग्न हामीलाई तत्काल थप स्रोतसाधन आवश्यक छ।”
आकस्मिक बाढीले पूरै समुदायलाई बगाउनुका साथै कतिपय बस्तीलाई सम्पर्कविहीन बनाएको छ। सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली तथा दूरसञ्चार सञ्जालमा गम्भीर क्षति पुगेको छ, जसका कारण प्रभावित क्षेत्रका धेरै स्थान पुग्न कठिन भएको छ र जीवनरक्षक सहायता पुर्याउने काम प्रभावित बनेको छ। कम्तीमा चार वटा स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसले गर्दा आवश्यक परेको समयमा बालबालिका र परिवारको स्वास्थ्य सेवामा पहुँच अवरुद्ध भएको छ।
“यसका साथै, १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० वटा विद्यालयमा क्षति पुगेको छ। यसले बालबालिकालाई सिक्ने, खेल्ने र विपत्तिबाट बिस्तारै सामान्य अवस्थामा फर्कने सुरक्षित स्थानबाट वञ्चित बनाएको छ। प्रभावित क्षेत्रका दर्जनौं विद्यालय नदीकिनारमा अवस्थित भएकाले अझै जोखिममा छन्।
अनुमानित १० हजार विद्यालय उमेरका बालबालिकालाई आफ्नो शिक्षालाई निरन्तरता दिन तत्काल सहयोग आवश्यक छ। यसका लागि अस्थायी सिकाइ केन्द्र, नयाँ शैक्षिक सामग्री तथा बालबालिका र शिक्षक दुवैका लागि मनोसामाजिक सहयोग आवश्यक छ” युनिसेफले आफ्नो वेभसाईटमा उल्लेख गरिएको छ।
युनिसेफले भनेको छ नेपाल सरकार र मानवीय सहायता साझेदारहरूसँग नजिकबाट समन्वय गर्दै युनिसेफले स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ तथा स्वच्छता (वास), शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षाका क्षेत्रमा जीवनरक्षक सहयोग विस्तार गरिरहेको छ। आगामी दिनमा सबैभन्दा बढी प्रभावित समुदायमा पहिले नै तयारी अवस्थामा राखिएका सामग्री पठाइनेछ।
यस अन्तर्गत स्वास्थ्य उपचारका लागि पाल, झुल, नवजात शिशुका लागि आवश्यक सामग्री तथा तीव्र कुपोषण भएका बालबालिकाका लागि उपचारात्मक पोषण सामग्री रहेका छन्। यसैबीच, हजारौं परिवारका लागि आपत्कालीन सरसफाइ तथा स्वच्छता सामग्रीका किट आवश्यकतामा रहेका परिवारसम्म पुग्न थालिसकेका छन्।
यसैगरी, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग टोलीहरू परिचालन गरिएको छ। युनिसेफले बेपत्ता भएका वा परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान, दर्ता र परिवारसँग पुनर्मिलनका लागि पनि काम गरिरहेको छ। प्रभावित परिवारले आफ्ना तत्कालका आधारभूत आवश्यकता पूरा गर्न सकून् र हानिकारक उपाय अपनाउन बाध्य नहून् भन्ने उद्देश्यले युनिसेफले नेपाल सरकारसँग सहकार्य गरी आपत्कालीन नगद सहायता उपलब्ध गराउन पनि काम गरिरहेको छ।
पूर्ण आवश्यकता मूल्याङ्कन नहुँदासम्म आफ्नो आपत्कालीन प्रतिकार्य र प्रारम्भिक पुनःस्थापनाका कार्यक्रमलाई निरन्तरता दिन युनिसेफले करिब २ अर्ब ६४ करोड रुपैयाँ (१ करोड ७२ लाख अमेरिकी डलर) सहायता अपिल गरेको छ।
“तत्काल वित्तीय सहयोग प्राप्त नभएमा अपाङ्गता भएका बालबालिकासहित बालबालिका र महिलालाई आवश्यक स्वास्थ्य, पोषण, वास, शिक्षा, बाल संरक्षण तथा सामाजिक सुरक्षा सेवा उपलब्ध गराउने युनिसेफको क्षमता सीमित हुनेछ” युनिसेफले भनेको छ।


131 पटक हेरिएको 

