बाढीपीडितका लागि जुट्यो, ३५ INGO बाट साढे ४६ करोड भन्दा बढीको राहत तथा सहयोग

  वास खबर सम्बाददाता  337 पटक हेरिएको
🔗
505
Shares

काठमाडौ : रसुवामा बाढीबाट सिर्जित विपद् प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट रु. ४६ करोड ७७ लाखभन्दा बढीको सहयोग संकलन भएको छ।

समाज कल्याण परिषद् (SWC) ले २०८१ भाद्र २० गतेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै परिषद्अन्तर्गत रहेका ५२ वटा सामाजिक संघसंस्थाहरू मार्फत सो रकम बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको जनाएको हो।

परिषद्का अनुसार १७ वटा गैरसरकारी संस्था (NGO) ले कुल रु. १२ करोड ६३ लाख बराबरको सहयोग उपलब्ध गराएका छन्। जसमध्ये रु. ५५ लाख १५ हजार ८७० प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको छ।

त्यसैगरी, ३५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) बाट कुल रु. ३४ करोड १४ लाख २२ हजार ९७२ बराबरको सहयोग प्राप्त भएको छ। जसमध्ये रु. ३ करोड १६ लाख ७० हजार १२५ प्रधानमन्त्री विपद् राहत कोषमा दाखिला गरिएको छ।

राहत सामग्री र वितरण प्रणाली

सहयोग सामग्रीअन्तर्गत बाढीपीडितहरूका लागि खाद्यान्न, आश्रय (त्रिपाल/टेन्ट), बत्ती, भान्साका सामग्री, सरसफाइ सामग्री, खानेपानी, औषधि तथा स्वास्थ्य सामग्रीहरू वितरण भइरहेको छ।

आईएनजीओहरूले साझेदार गैरसरकारी संस्थाहरू (NGOs) मार्फत उक्त सहयोग उपलब्ध गराउँदै आएका छन्। राहत तथा पुनःस्थापना कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाइएको छ।

यसका लागि समाज कल्याण परिषद्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), जिल्ला विपद् व्यवस्थापन समिति (DDMC), स्थानीय विपद् व्यवस्थापन समिति (LDMC), जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य निकाय तथा सम्बन्धित एकाइहरूसँग समन्वय गरी राहत वितरण भइरहेको परिषद्ले जनाएको छ।

परिषद्का अनुसार यो सहयोग निरन्तर रूपमा जारी रहनेछ र उल्लेखित रकमहरू समयक्रम सँगै अद्यावधिक हुँदै जानेछन्।

Photo : welthungerhilfe को facebook बाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार