
काठमाडौ : कम्बोडियामा हालै सम्पन्न ‘चौथो आईडब्लुए अन्तर्राष्ट्रिय आकाशे पानी सङ्कलन तथा व्यवस्थापन सम्मेलन’ (4th IWA International Conference On Rainwater Harvesting and Management) मा सहभागी भई फर्केका स्मार्ट वास सोलुसन्स (Smart WASH Solutions) का अध्यक्ष रामदीप साहले नेपालमा आकाशे पानी सङ्कलन (Rainwater Harvesting) लाई एकीकृत र प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिने बताउनु भएको छ ।
सम्मेलनपछि स्मार्ट वास सोलुसन्सद्वारा आयोजित कार्यक्रममा अध्यक्ष साहले कम्बोडियामा देखिएका अनुभवहरूलाई टेकेर नेपालमा आगामी दिनमा विभिन्न नवप्रवर्द्धनात्मक अवधारणा र कार्यक्रमहरू सञ्चालन गर्न सकिने औल्याउनुभयो।

नेपालमा कार्यान्वयन गर्न सकिने मुख्य प्रस्ताव :
१. ब्लु/जलवायु-उत्थानशील विद्यालय पहल (Blue/Climate-Resilient School Initiative):
विद्यालयहरूमा आकाशे पानी सङ्कलन, सरसफाइ (WASH), वातावरणीय शिक्षा र जलवायु सचेतनालाई एकीकृत गरी प्रयोगात्मक सिकाइ केन्द्रका रूपमा विकास गर्न सकिने।
२. व्याहारिक अध्ययन र अवलोकन भ्रमण (School Learning Visits):
विद्यार्थी, शिक्षक, नगरपालिकाका प्रतिनिधि तथा खानेपानी र सरसफाइ क्षेत्रका विज्ञहरूका लागि व्यावहारिक ज्ञान हासिल हुने गरी अवलोकन भ्रमण गराउन सकिने।
३. युवा तथा आकाशे पानी अभियान (Youth for Rainwater Initiative):
युवा तथा विद्यार्थीहरूलाई वर्षाको पानी अनुगमन, जल संरक्षण, जनसचेतना अभियान र विद्यालय स्तरीय सङ्कलन कार्यमा परिचालन गर्न सकिने।
४. आकाशे पानी र सांस्कृतिक सम्पदा (Rainwater & Cultural Heritage Programme):
नेपालका परम्परागत पोखरी, ढुङ्गेधारा, इनार र स्थानीय ज्ञानलाई आधुनिक आकाशे पानी व्यवस्थापन प्रविधिसँग जोड्न सकिने।।
५. मनसुन ज्ञान कार्यक्रम (Monsoon Wisdom Programme):
नेपालको स्थानीय मनसुन, जल भण्डारण, खडेरी तथा बाढी अनुकूलन सम्बन्धी मौलिक ज्ञानको दस्तावेज तयार गरी जलवायु-उत्थानशील योजनामा समावेश गर्न सकिने।।
६. ‘सबैका लागि पानी’ राष्ट्रिय अभियान (Rain for Nepal / Rain for All Nepal Campaign):
सरकार, स्थानीय तह (नगरपालिका), विद्यालय, समुदाय, गैरसरकारी संस्था र निजी क्षेत्रलाई समेटेर राष्ट्रियस्तरको सचेतना तथा पैरवी अभियान चलाउने सकिने।
७. नीतिगत संवाद (National RWH Policy Dialogue in Nepal):
आकाशे पानी सङ्कलनलाई राष्ट्रिय नीति र योजनामा समावेश गर्न मन्त्रालय, शिक्षा क्षेत्र, निजी क्षेत्र र विकास साझेदारहरूबीच नीतिगत छलफल गराउन सकिने।
८. ज्ञान तथा सिकाइ केन्द्र (Nepal RWH Knowledge & Learning Hub):
नेपालका सफल अभ्यास, अध्ययन, अनुसन्धान र नमुना परियोजनाहरूलाई दस्ताबेजीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च/हब निर्माण गर्न सकिने।
९. सिर्जनात्मक भिडियो तथा कथा लेखन (Nepal Rainwater Video Challenge):
आकाशे पानी, जलवायु, संस्कृति र जल संरक्षणबारे जनचेतना जगाउन युवा तथा विद्यार्थीहरूबीच भिडियो वा कथा प्रतियोगिता सञ्चालन गर्न सकिने।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले भन्नुभयो, “कम्बोडियाको मेरो मुख्य अवलोकन के थियो भने, त्यहाँ आकाशे पानी सङ्कलनलाई केवल ट्याङ्की र प्रणाली निर्माणमा मात्र सीमित नराखी जल सुरक्षा, जलवायु उत्थानशीलता, शिक्षा, संस्कृति, सामुदायिक सहभागिता र राष्ट्रिय नीतिसँग जोडिएको थियो।”
उहाँले थप्नुभयो “नेपालमा पनि हामीले यी धेरै कामहरू पहिल्यैदेखि गर्दै आएका छौँ, तर ती विभिन्न परियोजना र निकायहरूमा छरिएर रहेका छन्। त्यसैले नेपालले नयाँ वा शून्यबाट सुरु गर्नुपर्ने अवस्था छैन। हामीसँग भएका अभ्यासहरूलाई व्यवस्थित र एकीकृत गरी बलियो राष्ट्रिय दृष्टिकोणमा ढाल्नु नै आजको आवश्यकता हो।

कम्बोडियामा हालै सम्पन्न ‘चौथो आईडब्लुए अन्तर्राष्ट्रिय आकाशे पानी सङ्कलन तथा व्यवस्थापन सम्मेलनले पाँच बुँदे घोषणा पत्र जारी गरेको छ ।
१. वर्षालाई महत्त्वका साथ हेरौँ (See the Rain)
२. वर्षाको पानी सङ्कलन गरौँ (Catch the Rain)
३. वर्षाबारे शिक्षा दिऔँ (Teach the Rain)
४. वर्षाको ज्ञान बाँडौँ (Share the Wisdom of Rain)
५. वर्षालाई प्राथमिकतायुक्त बनाऔँ (Make Rain Visible)
कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले आकाशे पानीको उचित तरिकाले संकलन गरेमा वर्तमानमा भोगिरहनु परेको पानीको समस्या समेत समाधान गर्न सकिने बताउनुभयो । उहाँले बर्षातको समयमा आउने बाढी नियन्त्रण, भूमिगत पानीको पुनर्भरणका लागि पनि आकाशेपानी संकलन प्रभावकारी हुने बताउनुभयो।



254 पटक हेरिएको 

