गोर्खा वेल्फेयरको सहयोगमा अर्बाउदीमा बन्यो ६८ लाखको खानेपानी आयोजना

  वास खबर सम्बाददाता  120 पटक हेरिएको
🔗
113
Shares

बागलुङ : बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अर्बाउदीमा ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत घरघरमा खानेपानी सुविधा पुगेको छ। खानेपानीको चरम अभाव झेल्दै आएका स्थानीय बासिन्दाले अब हिउँद र वर्षा दुवै याममा घरमै शुद्ध खानेपानी पाउने भएका छन्।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ रुपैयाँ र स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २ सय ७५ रुपैयाँ गरी कुल ६८ लाख २६ हजार ८ सय ८८ रुपैयाँको लागतमा अर्बाउदी खानेपानी आयोजना निर्माण गरिएको हो।

आयोजना अन्तर्गत पानीगैरा, गग्रेगरा र लोसे मूलको पानी संकलन गरी घरघरमा वितरण गरिएको अर्बाउदी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सचिन थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार, आयोजना सञ्चालनमा आएपछि विशेषगरी सुख्खा याममा खानेपानीका लागि खोलाखोल्सा र अन्य स्रोतमा धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ।

“पहिले सुख्खा याममा पानीका लागि खोलाखोल्सा धाउनुपर्थ्यो। अब हिउँद–वर्षा दुवै समयमा घरमै शुद्ध खानेपानीको व्यवस्था भएको छ,” अध्यक्ष थापाले बताउनुभयो।

खानेपानी आयोजना निर्माणका लागि २०८१ पौष १ गते उपभोक्ता समिति गठन गरिएको थियो। त्यसको चार दिनपछि पौष ५ गते आयोजनाको सर्वेक्षण गरिएको थियो भने २०८२ भदौ २० गते गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता गरी कार्तिक महिनादेखि निर्माण कार्य सुरु गरिएको थियो।

आयोजनाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पर्यटकीय गाउँका रूपमा परिचित भकुण्डेका स्थानीयले घरघरमा खानेपानी पुर्‍याउन देखाएको जनसहभागिताको प्रशंसा गर्नुभयो।

उहाँले भकुण्डे क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नगरपालिकाले आवश्यक अध्ययन गरिरहेको जानकारी दिनुभयो। उपयुक्त मुहान तथा खानेपानी स्रोतको पहिचान गर्न सकिएमा यस क्षेत्रका नागरिकलाई व्यवस्थित रूपमा घरघरमा खानेपानी उपलब्ध गराउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न मर्मतसम्भार कोषसमेत स्थापना गरिएको छ। उक्त कोषमा बागलुङ नगरपालिकाले २ लाख रुपैयाँ र स्थानीय उपभोक्ताले ८३ हजार रुपैयाँ जम्मा गरेका छन्।

स्थानीयको जनसहभागिता र विभिन्न निकायको सहकार्यमा निर्माण भएको यस आयोजनाले अर्बाउदीका बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै सुरक्षित तथा सहज खानेपानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार