
दाङ : दाङ जिल्लाका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले खानेपानीको गुणस्तर परीक्षण तथा तथ्यांक संकलन गर्ने कार्य सुरु गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, नेपालगञ्जको गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्य सहितको टोलीले दाङका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमुना संकलन सुरु गरेको हो।
मंगलबार मात्र बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमुना फिल्डमै संकलन गरिएको राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो।
अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका १० वटै पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमुना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। आफ्नो पहलमा भैरहेको खानेपानी गुणस्तर सम्बन्धीको प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाई दाङ जिल्लाको खानेपानीको गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिने उहाँले बताउनुभयो।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख जगरनाथ दासले खानेपानीको गुणस्तर कायम गर्नु राज्यको दायित्व भएको बताउँदै यस अभियानको सहकार्यका लागि रष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले दाङ जिल्लामा खानेपानीको गुणस्तर परीक्षणलाई अभियानका रूपमा अघि बढाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यसबाट जिल्लाको खानेपानीको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो।
त्यस्तै, गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्यले जिल्लाभरका खानेपानी उपभोक्ता संस्थामा पुगेर पानीको नमुना संकलन गरिने बताउनुभयो। संकलित नमुनाको परीक्षणपछि दाङ जिल्लामा वितरण भइरहेको खानेपानीको गुणस्तर कस्तो छ भन्ने तथ्यांक प्राप्त हुने र नागरिकले धाराबाटै सिधै पिउन सक्ने गुणस्तरीय पानी उपलब्ध गराउने दिशामा आवश्यक काम अघि बढाइने बताउनुभयो।
राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले दाङबाट सुरु गरिएको यो अभियानलाई देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। “सरकारलाई सहयोग गर्दै आम नागरिकलाई स्वच्छ, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउनु हाम्रो दायित्व हो,” अध्यक्ष ओलीले भन्नुभयो। खानेपानी उपभोक्ता संस्थाहरूको सहकार्यमा देशभर खानेपानीको गुणस्तर परीक्षण तथा सुधार अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो।
दाङबाट सुरु गरिएको अभियानले जिल्लाका खानेपानी आयोजनाहरुको मुहानदेखि धारासम्मको पानीको गुणस्तरको वास्तविक अवस्था पहिचान गरी आगामी दिनमा खानेपानीको गुणस्तर सुधारका लागि आवश्यक योजना र बजेट निर्माणका लागि आधार तयार हुने बताउनुभयो।


116 पटक हेरिएको 

