
काठमाडौं : सरकारले फोहोरमैला व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम विसर्जनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार पारेको छ।
विधेयकमा फोहोर उत्पादन न्यूनीकरणदेखि स्रोतमै वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन, पुनःप्रयोग तथा पुनःप्रशोधन लगायतका विषयलाई समेटिएको छ। फोहोरबाट मल, ग्यास तथा ऊर्जा उत्पादन गर्ने र प्रशोधन पछि बाँकी रहने फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मका प्रक्रिया पनि विधेयकमा समावेश गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक तयार भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार फोहोरमैला व्यवस्थापनलाई केवल फोहोर उठाउने र विसर्जन गर्ने विषयका रूपमा नभई यसको सम्पूर्ण जीवनचक्रलाई व्यवस्थित गर्ने गरी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ।
‘फोहोर उठाउनु मात्र समाधान होइन, यस विधेयकमा फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापन सम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ,’ मन्त्री गौतमले भन्नुभयो।
उहाँले प्रकृतिले नेपाललाई सुन्दर देशका रूपमा दिएको भए पनि सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दै गएको फोहोरले प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिरहेको उल्लेख गर्नुभयो।
‘प्रकृतिले हामीलाई संसारकै सुन्दर देश दिएको छ। तर आज सडक, नदी, बस्ती र सार्वजनिक स्थलमा बढ्दो फोहोरले हाम्रो प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यही अवस्थालाई बदल्ने उद्देश्य सहित फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐतिहासिक विधेयक संघीय संसदमा दर्ता गर्ने तयारीमा छौँ।’
मन्त्री गौतमका अनुसार विधेयकको अर्को महत्वपूर्ण पक्षका रूपमा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी (EPR) जस्ता आधुनिक अवधारणालाई कानुनी व्यवस्थामा समेटिएको छ।
फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै पुनःप्रयोग, पुनःप्रशोधन तथा फोहोरबाट ऊर्जा र अन्य उपयोगी वस्तु उत्पादनलाई प्रोत्साहन गर्ने अवधारणा विधेयकमा राखिएको छ। यसले फोहोर व्यवस्थापनलाई वातावरणीय सरसफाइसँग मात्र सीमित नराखी स्रोत संरक्षण, आर्थिक गतिविधि र चक्रीय अर्थतन्त्रसँग जोड्ने आधार तयार गर्ने देखिन्छ।
सरकारले विधेयकलाई संघीय संसदमा दर्ता गर्ने तयारी गरेको मन्त्री गौतमले जानकारी दिनुभएको छ। ‘स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ यो एउटा ऐतिहासिक कानुनी कदम हो,’ उहाँले भन्नुभयो।


135 पटक हेरिएको 

