
धादिङ : भोटेकोशीको बाढीका कारण खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि खानेपानीविहीन बनेको धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित जलेश्वरी माध्यमिक विद्यालयमा अस्थायी खानेपानी आपूर्ति व्यवस्था गरिएको छ।
विद्यालयले यसअघि भूमिगत पानीको प्रयोग गर्दै आएको थियो। बाढीका कारण विद्यालयको खानेपानी प्रणाली क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो। खानेपानीको समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले वडा कार्यालय तथा गाउँपालिकामा समस्या समाधानका लागि अनुरोध गरेको थियो।
गाउँपालिकाले समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुरमा जानकारी गराएपछि कार्यालयको टोलीले विद्यालयमा स्थलगत निरीक्षणपछि विद्यालयसँगको सहकार्यमा तत्कालका लागि अस्थायी खानेपानी आपूर्ति व्यवस्था गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुरले उपलब्ध गराएको १ हजार मिटर २० एमएमको एचडीपीई पाइप प्रयोग गरी विद्यालयमा खानेपानी आपूर्ति गरिएको उहाँले जानकारी दिनुभयो।
खानेपानीको आपूर्ति बन्द हुँदा विद्यालयमा अध्ययनरत २४१ जना विद्यार्थी तथा २० जना शिक्षक तथा कर्मचारी प्रभावित भएका थिए। अस्थायी पाइपलाइन जडान भएपछि विद्यालयमा आवश्यक खानेपानीको व्यवस्था सहज भएको विद्यालयले जनाएको छ। विद्यालयमा खानेपानीको स्थायी प्रबन्ध मिलाउन पनि विद्यालय व्यवस्थापन समितिले अनुरोध गरेको छ।



172 पटक हेरिएको 

