युवाको गाउँमै लगानी, तानसेनमा दुई करोडको पिउने पानी उद्योग

  वास खबर सम्बाददाता  113 पटक हेरिएको
🔗
116
Shares

पाल्पा : वैदेशिक रोजगारी तथा शिक्षाका लागि युवा गाउँबाहिर जाने क्रम बढिरहेका बेला पाल्पाका तीन युवाले गाउँमै लगानी गरेर पिउने पानी उद्योग सञ्चालनमा ल्याउनुभएको छ।

तानसेन नगरपालिका–७, प्रभासमा रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले करिब दुई करोड रुपैयाँ लगानीमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो। स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगले मागअनुसार पर्याप्त आपूर्ति गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक विराज ढुङ्गानाले बताउनुभयो।

उपभोक्ताको स्वास्थ्य र बजारको मागलाई प्राथमिकतामा राख्दै उद्योगले प्रारम्भिक चरणमा १ हजार मिलिलिटर, ५ सय मिलिलिटर र ३ सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी उत्पादन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

आफ्नो आमा नारायणी ढुङ्गाना र स्वर्गीय बुबा चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। सोही कारण उद्योगको नाम ‘सिएन पिउने पानी उद्योग’ राखिएको उहाँको भनाइ छ।व्यापार–व्यवसाय सुस्ताउँदै गएको अवस्थामा स्थानीयस्तरमा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनु सकारात्मक भएको तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो।

उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै प्रशोधित तथा सुरक्षित पिउने पानीको आपूर्तिमा योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

वडाध्यक्ष खनालका अनुसार प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको क्रममा अघि बढिरहेको छ। पिउने पानी उद्योग, दुग्ध प्रशोधन उद्योग, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधि विस्तार हुँदै गएको उहाँले बताउनुभयो।

स्थानीयस्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई थप आधार मिल्ने उहाँको भनाइ छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार