
काठमाडौ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पिउने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ।
विद्यालयका बालबालिका, शिक्षक तथा कर्मचारी, स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही र वडा कार्यालयका सेवाग्राहीलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले पानीको गुणस्तर परीक्षण तथा निगरानीको प्रक्रिया अघि बढाएको हो।
यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना सङ्कलन विधि सम्बन्धी अभिमुखीकरण सुरु गरेको छ। जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकलाई अभिमुखीकरणमा सहभागी गराइएको छ।
महानगरपालिकाको वडा नं. १ बाट सुरु भएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई प्रदान गरिनेछ। अभिमुखीकरणपछि तालिम प्राप्त व्यक्तिहरूले पानीका नमूना सङ्कलन गर्ने र प्रयोगशाला परीक्षणबाट प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधार तथा निगरानीका कार्यक्रम सञ्चालन गरिनेछ।
महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत समुदाय, स्वास्थ्य संस्था र विद्यालयमा पानी स्वच्छता कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले परीक्षणबाट प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने लक्ष्य सहित अभिमुखीकरण सुरु गरिएको बताउनुभयो।
वडा नं. १ का सदस्य रसला तण्डुकारले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको तर पर्याप्त ध्यान पुग्न नसकेको विषयलाई कार्यक्रमले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले कार्यक्रमबाट छिट्टै नतिजा प्राप्त हुनुपर्नेमा जोड दिनुभयो।
वडा सचिव सर्वज्ञराज पौडेलले आफूहरूले विश्वास गरेको पानी कति सुरक्षित छ भन्ने विषयमा जानकारी हुनु आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार पानीको सुरक्षा र स्वच्छताका उपाय अवलम्बन गर्न परीक्षणबाट प्राप्त तथ्याङ्कले आधार प्रदान गर्नेछ।

सङ्लो देखिँदैमा पानी सुरक्षित हुँदैन
धाराबाट आउने, जारमा उपलब्ध हुने वा अन्य स्रोतबाट ल्याइने पानी सङ्लो देखिँदैमा पिउन योग्य हुन्छ भन्ने हुँदैन। पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यमा असर पार्ने रासायनिक पदार्थ हुनसक्ने भएकाले नियमित परीक्षण र निगरानी आवश्यक हुन्छ।
अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ऋतु शर्माले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ का विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
पानीको सुरक्षा भौतिक, रासायनिक र जैविक गुणस्तरका आधारमा निर्धारण गरिन्छ। मापदण्डमा पानीको गुणस्तर परीक्षणका लागि विभिन्न भौतिक, रासायनिक तथा सूक्ष्म जैविक सूचक तोकिएका छन्। जोखिम र सान्दर्भिकताका आधारमा थप सूचकहरूको समेत परीक्षण गर्नुपर्ने व्यवस्था छ।
भौतिक गुणस्तरतर्फ धमिलोपना, हाइड्रोजन आयन सान्द्रता (पीएच), रङ, स्वाद र गन्ध जस्ता सूचकको परीक्षण गर्नुपर्छ। यीमध्ये केहीको दैनिक निगरानी आवश्यक हुन्छ भने कुल घुलित ठोस पदार्थको परीक्षण त्रैमासिक र विद्युतीय चालकत्वको परीक्षण मासिक गर्नुपर्ने व्यवस्था छ।
रासायनिक गुणस्तरतर्फ क्लोरिन अवशेषको परीक्षण दैनिक गर्नुपर्ने हुन्छ। अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कठोरता र क्याल्सियमको परीक्षण मासिक तथा फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, सिसा, क्रोमियम, पारा र एल्युमिनियम लगायत सूचकको परीक्षण वार्षिक रूपमा गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
सूक्ष्म जैविक तर्फ ईकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्ने व्यवस्था छ। यसले पानीको गुणस्तर परीक्षण एकपटक गरेर पुग्ने विषय नभई नियमित निगरानी आवश्यक पर्ने देखाउँछ।
स्रोतदेखि उपभोक्ताको धारासम्म परीक्षण
पानीको नमूना सङ्कलन विधि पनि गुणस्तर परीक्षणको महत्वपूर्ण पक्ष हो। पाइपबाट पानी वितरण हुने प्रणालीमा सामुदायिक तथा निजी धारा, पानी पोखरी, प्रशोधन केन्द्रका विभिन्न एकाइ र पानीको मुहानबाट नमूना सङ्कलन गर्न सकिन्छ।
ट्याङ्करबाट वितरण हुने पानीको नमूना सेवाग्राहीले पानी भर्ने पाइपबाट लिनुपर्ने हुन्छ। होटल, उद्योग, अस्पताल तथा व्यावसायिक र आवासीय भवनमा पानी पोखरीबाट निस्कने पाइप वा धाराबाट नमूना सङ्कलन गर्नुपर्छ। वर्षाको पानी सङ्कलन प्रणालीमा पानी जम्मा भएको घैँटो वा पोखरीबाट नमूना लिन सकिने व्यवस्था छ।
यसले पानीको स्रोत मात्र परीक्षण गरेर उपभोक्ताको धारासम्मको पानी सुरक्षित छ भन्ने निष्कर्ष निकाल्न नसकिने देखाउँछ। वितरण प्रणाली, भण्डारण ट्याङ्की र अन्तिम प्रयोग बिन्दुसम्म पानीको गुणस्तर परीक्षण गर्न आवश्यक हुन्छ।
मानव तथा जनावरको दिसामा पाइने ईकोलाई जीवाणु पानीमा भेटिएमा दिसाजन्य प्रदूषण भएको संकेतका रूपमा बुझिन्छ। त्यसैले पानीको जैविक सुरक्षा मूल्याङ्कनमा ईकोलाईलाई महत्वपूर्ण सूचक मानिन्छ।
पानीमा ईकोलाई भेटिनु सम्भावित दिसाजन्य प्रदूषणको संकेत भएकाले थप अनुसन्धान र सुधारात्मक कदम आवश्यक हुनसक्छ।
पानी प्रदूषणका कारण र क्षेत्रगत दायित्व
सहरी क्षेत्रमा पानी प्रदूषणको जोखिम प्राकृतिक कारणसँगै मानवीय गतिविधि र प्रणालीगत कमजोरीका कारण पनि उत्पन्न हुनसक्छ। खुला दिसापिसाब, ढल तथा सेप्टिक ट्याङ्कीबाट हुने चुहावट, पानीका स्रोतमा फोहोर मिसिनु, अव्यवस्थित प्लटिङ, पाइपमा क्षति र प्राविधिक त्रुटिले पानी प्रदूषित हुनसक्छ।
कृषिमा प्रयोग हुने मल तथा रसायन, कलकारखानाबाट निस्कने रसायन र जीर्ण पाइप तथा संरचनाबाट पनि रासायनिक प्रदूषण हुनसक्छ। बाढी, पहिरो र डुबानजस्ता विपद्का कारण पानीका स्रोतमा फोहोर तथा रोगजन्य सूक्ष्मजीव पुग्ने जोखिम हुन्छ।
सुरक्षित खानेपानी सुनिश्चित गर्ने दायित्व पानी वितरण गर्ने निकायमा मात्र सीमित हुँदैन। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड तथा कार्यान्वयन तथा अनुगमन निर्देशिकाले सेवा प्रदायक, सरकारी निकाय, स्थानीय तह, उपभोक्ता, प्रयोगशाला तथा खानेपानीसँग सम्बन्धित अन्य निकायको भूमिकालाई समेटेको छ।
सेवा प्रदायकले पानीको गुणस्तर मापदण्ड अनुकूल कायम राख्ने, आवश्यक परीक्षण तथा निगरानी गर्ने र पानी सुरक्षा प्रणाली कार्यान्वयन गर्नुपर्छ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका खानेपानी प्रणाली तथा स्रोतको निगरानी, जोखिम पहिचान, समन्वय र आवश्यक सुधारमा सहजीकरण गर्नुपर्ने हुन्छ।
त्यस्तै, प्रयोगशालाले वैज्ञानिक विधिबाट नमूना परीक्षण गरी विश्वसनीय नतिजा उपलब्ध गराउनुपर्छ। उपभोक्ताले पनि पानी सुरक्षित रूपमा भण्डारण गर्ने, ट्याङ्की तथा भाँडा नियमित सफा गर्ने र आवश्यक अवस्थामा पानी शुद्धीकरण गरेर प्रयोग गर्नुपर्छ।
परीक्षणसँगै जोखिम नियन्त्रणमा जोड
पानी सुरक्षा योजना सुरक्षित खानेपानीको महत्वपूर्ण आधार हो। यसमा खानेपानी सुरक्षा टोली गठन, खानेपानी प्रणालीको विश्लेषण, प्रदूषणका स्रोत तथा जोखिम पहिचान, नियन्त्रणका उपाय निर्धारण, सुधार कार्ययोजना निर्माण र नियमित अनुगमन जस्ता चरण समेटिन्छन्।

पानी दूषित भएपछि मात्र परीक्षण र उपचार गर्नेभन्दा प्रदूषण हुनसक्ने स्थान तथा कारण पहिल्यै पहिचान गरी जोखिम नियन्त्रण गर्ने प्रणालीले दीर्घकालीन रूपमा सुरक्षित पानी उपलब्ध गराउन सहयोग गर्छ।
वितरण प्रणालीबाट आएको पानी सुरक्षित भए पनि घरको ट्याङ्की, पाइप वा भण्डारण भाँडाबाट पुनः प्रदूषण हुन सक्ने भएकाले उपभोक्ता तहमा पनि सावधानी आवश्यक हुन्छ। पानी उमालेर सफा र छोपिएको भाँडोमा राख्ने, आवश्यक अवस्थामा स्वीकृत शुद्धीकरण विधि प्रयोग गर्ने तथा भण्डारणका भाँडा नियमित सफा गर्ने अभ्यासले पानीको सुरक्षा कायम राख्न सहयोग पुर्याउँछ।
अब काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको अवस्था कस्तो छ भन्ने विषय अभिमुखीकरण पछिको परीक्षणबाट स्पष्ट हुनेछ। परीक्षण बाट प्राप्त नतिजाले महानगरपालिकाको सुरक्षित पिउने पानी सम्बन्धी आगामी योजना तथा सुधारका कार्यक्रमलाई समेत आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।


149 पटक हेरिएको 

