अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  वास खबर सम्बाददाता  110 पटक हेरिएको
🔗
45
Shares

काठमाडौ :  काठमाडौँ महानगरपालिका–३१, आलोकनगरमा जथाभावी फालिएको अस्पतालजन्य फोहरमा भेटिएको प्रमाणका आधारमा औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ ।

आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा दुईवटा कम्पनीको नाम उल्लेख भएका कागजात भेटिएका थिए । तीमध्ये एउटा कम्पनीको ठेगाना भक्तपुर र अर्कोको ठेगाना काठमाडौँको टोखा नगरपालिका–धापासीमा रहेको खुलेको थियो ।

फोहर फाल्ने कम्पनीहरू काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रबाहिर रहेको पाइएपछि महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारबाही प्रक्रिया अघि बढाएको थियो ।

महानगर प्रहरी बलले फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कसुर गर्ने व्यक्ति तथा संस्थालाई महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको थियो ।

सोही अनुरोधका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत सम्पर्कमा ल्याउन खोजिएको अर्को कम्पनीका अधिकारी भने हालसम्म सम्पर्कमा आइसकेका छैनन् ।

जथाभावी फोहर फाल्नेहरूमाथि निगरानी बढाइयो

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलको संयुक्त टोलीले अनधिकृत रूपमा फोहर फाल्नेहरूमाथि निगरानी बढाएको छ । टोलीले सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्थामाथि तत्काल कारबाही अघि बढाउँदै आएको छ ।

सडक, सडक किनारा तथा सार्वजनिक स्थलमा फालिएका फोहरबाट प्रमाण सङ्कलन गरी फोहर फाल्ने व्यक्ति तथा संस्थाको पहिचान गर्ने कामसमेत भइरहेको छ ।

वरिष्ठ उपरीक्षक जोशीका अनुसार प्रारम्भिक चरणमा कारबाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने महानगरपालिकाको योजना छ । तर, सोही प्रकृतिको कसुर दोहोरिएमा सम्बन्धित व्यक्ति तथा संस्थाको नाम र ठेगाना सार्वजनिक गरिने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार