बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  वास खबर सम्बाददाता  120 पटक हेरिएको
🔗
160
Shares

धादिङ : भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित बैरेनी अस्पतालको खानेपानी आपूर्ति तथा सरसफाइ सुविधा पुनःस्थापित गरिएको छ। बाढीका कारण अस्पतालको भुइँतला पूर्ण रूपमा डुबानमा परेपछि खानेपानी आपूर्ति प्रणाली र शौचालय प्रयोगमा समस्या उत्पन्न भएको थियो।

गल्छी गाउँपालिकाको समन्वय तथा युनिसेफ नेपाल र शान्ति नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा अस्पतालमा अस्थायी खानेपानी आपूर्ति प्रणाली सञ्चालनमा ल्याइएको हो। समुदायले प्रयोग गर्दै आएको इनारबाट पानी तान्न पम्प, पाइप र विद्युतीय तार सहितको प्रणाली जडान गरिएको शान्ति नेपालका प्रोजेक्ट म्यानेजर इन्द्रमान शाक्यले जानकारी गराउनुभयो।

बाढीका कारण अस्पतालको खानेपानी आपूर्ति प्रणाली पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्पतालमा दैनिक सेवा लिन आउने करिब १५० देखि २०० जना सेवाग्राही तथा अस्पतालका कर्मचारीहरू खानेपानी र सरसफाइ सुविधाबाट प्रभावित भएका थिए।

समस्या समाधानका लागि गल्छी गाउँपालिकाले ३२ एमएमको २०० मिटर पाइप सहयोग गरेको थियो। त्यस्तै, शान्ति नेपाल र युनिसेफ नेपालले २ एचपी क्षमताको पानी तान्ने मोटर उपलब्ध गराएका थिए।

प्रोजेक्ट म्यानेजर शाक्यका अनुसार बाढीपछि इनारमा पानीको सतह घट्नुका साथै इनारमा समेत क्षति पुगेको थियो। इनारको सरसफाइ गरी रिङ जडान गर्नुका साथै मर्मत सम्भार गरिएको छ।

यसै गरी, बाढीका कारण अस्पतालका शौचालयका दुईवटा सेफ्टी ट्यांकीमा लेदो तथा फोहोर जमेको थियो। ती ट्यांकीको सफाइ गरेपछि शौचालय समेत पुनःप्रयोगमा ल्याइएको शाक्यले जानकारी गराउनुभयो।

इनारको सरसफाइ तथा मर्मत सम्भार र शौचालयका सेफ्टी ट्यांकीको सफाइपछि अस्पतालको खानेपानी तथा सरसफाइ सुविधामा सहजता आएको बैरेनी अस्पतालका प्रमुख मधुकर दाहालले बताउनुभयो।

फोटोहरु : शान्ति नेपाल, धादिङ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार