
धादिङ : अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई शौचालय जान मन लाथ्यो। तर शौचालय प्रयोग गर्न सक्ने अवस्था थिएन। गत भदौ १० गतेको भोटेकोशी बाढीले सेफ्टी ट्यांकीमा थुपारेको लेदो र फोहरपानीले अस्पतालको अत्यावश्यक सुविधा नै अवरुद्ध बनाइदिएको थियो।
धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पतालमा केही समययता सेवाग्राही र स्वास्थ्यकर्मीले यस्तै समस्या भोग्दै आएका थिए। दैनिक १५० देखि २०० जनासम्म सेवाग्राही आउने अस्पतालमा शौचालय प्रयोग गर्न सहज नहुँदा बिरामी, कुरुवा र कर्मचारी सबै प्रभावित भएका थिए।
बाढीका कारण अस्पतालका दुईवटा शौचालयका सेफ्टी ट्यांकीमा लेदो जमेको थियो। शौचालयको प्रयोगमा समस्या देखिएपछि अस्पतालमा उपचारसँगै सरसफाइ व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको थियो।
तर, अहिले अस्पतालको अवस्था फेरिएको छ।
गल्छी गाउँपालिका, शान्ति नेपाल र युनिसेफ नेपालको सहयोगमा सेफ्टी ट्यांकीमा जमेको लेदो र फोहरपानी सफाइ गरिएको छ। सफाइपछि शौचालय पुनः प्रयोग गर्न मिल्ने भएको छ।
अस्पतालका प्रमुख मधुकर दाहालका अनुसार शौचालय सञ्चालनमा आएपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत मिलेको छ।
“बाढीका कारण दुईवटा सेफ्टी ट्यांकीमा लेदो जमेको थियो। त्यसले गर्दा शौचालय प्रयोग गर्न समस्या भइरहेको थियो। अहिले लेदो र फोहरपानी सफाइ गरिएपछि शौचालय पुनः प्रयोग गर्न मिल्ने भएको छ,” उहाँले बताउनुभयो।
अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि शौचालय उपचार अवधिमा आवश्यक पर्ने आधारभूत आवश्यकता हो। स्वास्थ्यकर्मीका लागि पनि स्वच्छ र प्रयोगयोग्य शौचालय सुरक्षित कार्यस्थलको अभिन्न अंग हो।
शान्ति नेपालका प्रोजेक्ट म्यानेजर इन्द्रमान शाक्यका अनुसार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका बैरेनी अस्पतालको कारण क्षतिग्रस्त खानेपानी आपूर्ति प्रणाली समेत पुनःस्थापित गरिएको छ।
गल्छी गाउँपालिकाको समन्वय तथा युनिसेफ नेपाल र शान्ति नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा अस्पतालमा खानेपानी आपूर्ति प्रणाली सञ्चालनमा ल्याइएको हो। समुदायले प्रयोग गर्दै आएको इनारबाट पानी तान्न पम्प, पाइप र विद्युतीय तार सहितको प्रणाली जडान गरी अस्थायी प्रबन्ध मिलाईएको छ ।


86 पटक हेरिएको 

