मनिराज पाण्डे, कालिकोट : एक गाग्री पानीको जोहो गर्न पनि रातभरी धारामा लाइन बस्नुपर्ने बाध्यता रहेको पलातामा एक घर एक धारा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । कालिकोटको सुख्खाग्रस्त क्षेत्र पलाताका खीन, धौलागोह र थिर्पूका गाउँमा खानेपानी पुर्याउन गाउँपालिकाले वार्षिक पूँजीगत बजेटको २० प्रतिशत रकम विनियोजन गर्दै घर घरमा धारा पुर्याउन खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको हो ।
‘स्वच्छ पिउने पानी पलाताबासीको पहिलो माग हो ।’ थिर्पूृमा आयोजित जलकचहरीमा समुदायको गुनासो सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लक्षमणवहादुर बमले भन्नुभयो ‘दुई वर्षमा मूलको पानी गाउँसम्म पुर्याउछौ, तेश्रो वर्षमा घरघरमा धारा जडान गर्छौ ।’ उहाँले गाउपालिकाका २ हजार ७ सय घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्याउन खानेपानी तथा सरसफाइ क्षेत्रको त्रिवर्षीय योजना निर्माण गरिने समेत बाचा गर्नुभयो ।
गाउँपालिकाका जनप्रतिनिधि, खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवाला, स्थानीय उपभोक्ताको सहभागितामा सम्पन्न जलकचहरीमा गाउँपालिकाले ७ बुदे प्रतिबद्धता जनाएको छ । पलाताबासीले पानी खान पाएनन् भन्ने अवस्थाको अन्त्य गर्न योजना केन्द्रित रहेको गाउँपालिकाले जनाएको छ ।
खानेपानी तथा सरसफाइ प्रबद्र्धनको सवालमा समुदायस्तरबाट समस्या पत्ता लगाई समाधानका उपायको खोजी गर्न वडा तथा गाउँपालिकाले ६/६ महिनामा जल कचहरीको आयोजना गर्ने, गाउँपालिकाको एकीकृत उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना निर्माण गर्ने, पुँजीगत बजेटको न्यूनतम २० प्रतिशत खानेपानी क्षेत्रमा विनियोजन गरी दिगो खानेपानी तथा सरसफाइ, बिपद् जोखिम न्युनीकरण र जलवायु अनूकूलनका नीति तथा कार्यक्रम तर्जुमा गर्ने जनाएको छ ।
त्यस्तै, एकीकृत उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबद्र्वनमा टेवा पु¥याउन खानेपानी उपभोक्ता समितिहरु समावेशी बनाउने, कम्तिमा ३३ प्रतिशत महिला र अपांगता भएका ब्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने घोषणा गरिएको छ ।
गाउँपालिकामा सञ्चालन भइरहेका खानेपानी आयोजनाको लागत संकलन गरी सूचीकृत गर्ने र अनिवार्य मर्मत सम्भार कोष, हेरालु तथा मर्मत सम्भार कार्यकर्ता उत्पादन गर्ने, विद्यालयको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने, उपभोक्ताको क्षमता बृद्धि गर्दै गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको सञ्जाल गठन गरी उपभोक्ताहरुको हीतमा सक्रिय बनाउने बाचा पनि गरिएको छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा २० प्रतिशत रकम विनियोजन गरिएको प्रशासकीय अधिकृत लेकवहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाले ५ करोड रकम खानेपानीको क्षेत्रमा विनियोजन गरेर काम गरिरहेको छ । पलाँताको वडा नं. १, २ र ३ मा फनवोर्डको सहयोग भिडीसेफ र वडा नं. ८ र ९ मा वाटर एडको सहयोगमा किर्डाक नेपाल कालिकोटले खानेपानी तथा सरसफाइ क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पानीको मूल टाढा रहेको पलाँतामा खानेपानी पुर्याउन निकै कठिन भए पनि गाउँपालिकाले धौलागोह, खीन, थिर्पू, पारौटी लगायतका सुख्खा क्षेत्रमा पाइप प्रणालीको पानी पुर्याउन सर्वे गरी सकेको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । उहाँले १८ किलोमिटर टाढाका मूलबाट पानी ल्याउनुपर्ने र यसका लागि स्थानीय तवरबाट सम्भव नहुने भएकाले केन्द्रीय योजना आवश्यक रहेको बताउनुभयो ।


878 पटक हेरिएको 

