यम घिमिरे, बर्दिया : रासयनिक मल तथा विषादीको प्रयोगबाट उत्पादन भएका कृषि उपजले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने थाहा पाएपछि बर्दियाका किसानले पिसाबको प्रयोग गरेर तरकारी फलाउन थालेका छन् ।
पिसाब मास्टर भनेर चिनिने इकोसानका प्रशिक्षक श्रीरेन्द्र पोखरेलबाट ठोस तथा तरल फोहोर व्यवस्थापन र ईकोसान सम्बन्धी तालिम पाएका किसान पिसाबको प्रयोग गरेर तरकारी फलाउन लागेका हुन ।
पिसाब मलको प्रयोगले घर आँगनको सरसफाइ हुने र यसरी फलाइएको तरकारी असाध्यै स्वस्थकर हुने भएकाले पिसाब संकलन गरी ईकोसान प्रविधिबाट खेती गर्न लागेको बढैयाताल ३ की लक्ष्मी वि.सी.ले बताउनुभयो । पिसाब र जैविक बिषादी प्रयोग गरेको तरकारीबाट पैसाको बचत हुने र बोट विरुवामा किरा नलाग्ने, माटो खुकुलो हुने भएकाले आफूहरु इकोसान तर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
सरसफाइ नमुना गाउँको अन्तिम तयारीमा जुटेका बर्दियाको गेरुवा गाउपाँलिका वडा नं. १ को पटवारीपुर र उतरपुर्वा, ५ को बिन्द्रा टोल पहाडीपुर, ३ को बनकट्टी, वडा नं. ६ को लोहगढ गौचरण र बढैयतालको वडा नं १ को शान्तिपुर, २ को शिवशक्तिटोल, ५ को फुलवारी र झरसेला, ६ को श्रीपुरका दुई दर्जन किसानहरु पिसाब संकलनमा लागेको युएनहेभिटेटका कार्यक्रम संयोजक बिष्णु दवाडीले बताउनुभयो ।
आईडीएस र मायुसबाट सहयोग प्राप्त मिनरल वाटरको बोतलमा पिसाब संकलन गरी प्लास्टिकको जरकिनमा पिसाब भण्डारण गर्दै आएका किसानले थप बोतल र जरकीन मांग गरेका छन् ।
के हो इकोसान प्रविधि ?
इकोलोजिकल स्यानिटेसन अर्थात पर्यावरणीय सरसफाइको छोटो रुप मानिने इकोसान प्रविधि मानव मलमूत्रलाई कृषि उत्पादन र खाद्य सुरक्षाको स्रोतका रुपमा प्रयोग गर्ने वातावरणमैत्री दिगो सरसफाइ प्रणाली हो । यसमा मानिसको दिसा र पिसाबलाई छुट्टाछुट्टै ट्यांकीमा जम्मा गरिन्छ ।
यसरी प्रयोग गरिन्छ पिसाब मल
संकलन गरिएको पिसाबलाई एक महिनासम्म पिसाबलाई भण्डारण गरेर राखिन्छ । भण्डारण गरिएको एक भाग पिसाबमा तीन भाग पानी मिसाएर बालीनालीमा प्रयोग गरिन्छ । पिसाब तरकारीको फल वा पातमा नभई माटोमा राखिन्छ र माटोबाट बोटविरुवाले सोसेर लिन्छ ।

एक जना मानिसको एक वर्षको पिसावबाट चार केजी नाइट्रोजन, तीन सय ८८ ग्राम फस्फोरस र चार सय सात ग्राम पोटास प्राप्त हने आई.डी.एस. नेपालका जिल्ला संयोजक ताराबहादुर खातीले बताउनुभयो । उहाँका अनुसार तरकारी, फलफूल वा अरु कुनै बालीका लागि चाहिने पोटास, फस्फोरस जस्ता रासयनिक मलको काम पिसाबले गर्छ ।
पिसाब मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता बढाउँछ । विरुवालाई स्वस्थ र थप उत्पादन दिन योग्य बनाउँछ । स्वस्थ विरुवाले दिने फल पनि स्वस्थ हुन्छ र यसरी उत्पादन गर्ने बालीमा पोेषक तत्व समेत धेरै हुन्छ ।


1840 पटक हेरिएको 

