कञ्चनपुर : खानेपानी मन्त्री बिना मगर कञ्चनपुरका तीन बालबालिकाको अभिभावकत्व लिनुभएको छ । मन्त्री मगरले बेलौरी नगरपालिका–१० का सन्दिप चौधरीलाई शिद्धेश्वर माविमा ७ कक्षामा, बेलौरीकै आदित्य चौधरीलाई पुष्पलाल जनजागृति माविमा ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराउनु भएको हो ।
विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले ती छात्रको अभिभावकत्व ग्रहण गर्नुभएको हो । भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो ।
गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उहाँको भनाइ थियो । समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य भएको बताउदै मन्त्री मगरले शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिने बताउनुभयो । विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई यो सबै अभिभावकको भएको उहाँको भनाई थियो ।
मन्त्रीको हातबाटै विद्यालयमा भर्ना हुन पाएपछि दक्षिणी क्षेत्रका बालबालिका र अभिभावक हर्षित भएका छन् ।


743 पटक हेरिएको 

