कर्णाली प्रदेशको राजधानीमा भेरीको पानी ल्याइने

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेरीको पानी ल्याइने भएको छ । प्राविधिकहरूले गरेको अध्ययनमा पम्पिङ प्रविधिबाट भेरीको पानी ल्याउन सकिने देखिए पछि तयारी सुरु गरिएको छ । सिएमएस, श्रीगणेश र जेसिना इन्जिनियरिङ कन्सल्टेन्सीले संयुक्त रूपमा यसको अध्ययन गरेका हुन् ।

अध्ययनको मस्यौदा प्रतिवेदन अनुसार, झुप्रा खोला र भेरी नदी नजिकै वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा भेरीबाट पम्पिङ गर्न सकिन्छ । ‘पानीको स्रोत पहिचान गर्दा छोटो समयमै भेरी नदीको पानी पम्पिङ गर्न सकिने देखिएको छ,’ श्रीगशेण इन्जिनियरिङ कन्सल्टेन्सीका कार्यकारी निर्देशक हरिराम कोइरालाले भने । प्राविधिक रूपमा कुनै कठिनाइ नहुने मस्यौदा प्रतिवेदनमा उल्लेख रहेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

४० लाख लिटरका इन्टेक

मस्यौदा प्रतिवेदनअनुसार भेरीबाट पानी पम्पिङ गरेर अमृतडाँडामा ल्याइनेछ । त्यहाँ ४० लाख लिटर क्षमताका चारवटा इन्टेक निर्माण गरिनेछन् । त्यसै पानीलाई प्रशोधन गरेर आपूर्ति गरिनेछ । यो आयोजनामा एक अर्ब ६२ करोड लाग्ने अनुमान छ ।

अध्ययन गरिसकेका तीनवटै कम्पनीले यो महिनाभित्रै संयुक्त डिपिआर तयार गर्नेछन् । सुख्खा क्षेत्र खानेपानी आयोजनाले डिपिआर पाएलगत्तै वैशाखभित्रै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । ‘देशका विभिन्न स्थानमा पम्पिङ आयोजना सफल भएका छन्, सुर्खेत उपत्यकाको खानेपानी संकट समाधान हुनेछ,’ आयोजना प्रमुख शंकरमणि पोखरेलले भने ।

‘भदौदेखि निर्माण सुरु गर्ने लक्ष्य रहेको छ,’ सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुलमणि देवकोटाले भने । ‘अबको तीन वर्षभित्र आयोजना सम्पन्न हुनेछ ।’

५४ लाख लिटर पानी अभाव

प्रदेशको राजधानीमा दैनिक ५४ लाख लिटर पानीको अभाव छ । सहरीकरण बढ्दै गएकाले पानीको अभाव पनि थपिँदै गएको जनाइएको छ । त्यस्तै, उपत्यकाभरि दैनिक एक करोड ८८ लाख लिटर खानेपानी आवश्यक छ ।

जसमा एक करोड ३३ लाख लिटर आपूर्ति भइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थानले जनाएको छ । झुप्रामा रहेको खानेपानीको मुहान सुक्दै गएपछि अभाव हुन थालेको संस्थानका प्रमुख डम्मरबहादुर गौतमले बनाए ।

मुहान सुकेपछि तीन वर्षमै समस्या

सुर्खेत उपत्यका खानेपानी आयोजना ०५६ मा सुरु भएको थियो । एघार वर्ष लगाएर निर्माण भएको आयोजनाबाट २० वर्षसम्म पानीको समस्या नहुने अनुमान थियो ।

तर, तीन वर्ष नपुग्दै अभाव सिर्जना भएको आयोजनाले जनाएको छ । झुप्राको मुहान सुक्न थालेपछि समस्या थपिएको कार्यालय प्रमुख गौतमले बताए । अहिले उपत्यकाभित्र १५ हजार सात सय धारा वितरण गरिएका छन् । थप चार हजार एक सय धारा जडानका लागि निवेदन आएको आयोजनाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार