एकाएक बदलियो बधशालाको स्वरुप

सोलुखुम्बु : ‘एकातिर मासु काटिरहेका हुन्थे, अर्कोतिर कुकुरले हड्डी तानातान गरिरहेको हुन्थ्यो, कोही लादी निकालिरहेका हुन्थे, कोही राँगा बध गरिरहेका हुन्थे, राँगाको मासु किन्न गएका उपभोक्ताहरु कोही नाक थुनिरहेको देखिन्थ्यो, कति त यस्तो दृश्य देखेपछि मासु नकिनी फर्कन्थे ।’

विगतमा यस्तो दृश्य देखिनुलाई सामान्य रुपमा लिएपनि अब बधशालामा यस्तो दृश्य देख्न पाउनुहुने छैन । सोलु दुधकुण्ड नगरपालिका ६ मा अवस्थित एक मात्र बधशालाको मर्मत सुधार गरेपछि बधशालाको स्वरुप बदलिएको हो ।

 

कुकुरको प्रवेशलाई रोक्नका लागि बधशालामा तारजाली लगाइएको छ । बधशालाको चारैतिर सरसफाइ गरी अब नियमित रुपमा सफाइ गर्ने व्यवस्था मिलाइएको छ । राँगा बध गरेपछि निस्किने लादी तथा अन्य फोहोर पखाल्नका लागि पर्याप्त पानीको समेत व्यवस्था मिलाएको बधशाला उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार राँगा बध गर्ने ठाउँ समेत सिमेन्ट ढलान गरिएको छ । यसले फोहोर पखाल्न सजिलो बनाएको छ । बधशाला सम्म राँगा लैजान र उपभोक्ताको आवातजावतका लागि बाटो समेत मर्मत सम्भार गरिएको छ ।

कुकुरले हड्डी ओसारपसार नगर्ने

यसअघि राँगा बध गरेपछि कुकुर प्रवेश गरेर हड्डी जत्ति बजारभरि पुर्याउँथ्यो । बधशालामा तारको जाली लगाएपछि कुकुर प्रवेश गर्न नपाउने र बजार पनि सफा हुने मासु व्यवसायीहरु बताउँछन् । ‘पहिले कुकुरले छरपष्ट पाथ्र्यो, अब मासु व्यवसायीले नै हड्डी व्यवस्थापन गर्ने भएको छ, बधशालाको काम सकेपछि ढोका थुन्ने र हड्डीको पनि व्यवस्थापन गर्ने भएपछि बजार पनि सफा हुने आशा छ’ मासु व्यवसायी बाबुराम मगरले भन्नुभयो ।

बधशालाको सुधार हुना थालेपछि मासु उपभोक्ता समेत खुसी भएका छन् । नयाँ बजार बधशालामा हरेक हप्ता २० वटा भन्दा बढी राँगा बध गरिदै आएको छ ।

बधशाला सुधारका लागि सोलु दुधकुण्ड नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँ अनुदान दिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार