वाग्मती सफाइको २ सयौं हप्तामा १८ ठाउँबाट पदयात्रा हुने, शंखमूलमा विशेष कार्यक्रम

काठमाडौ २७ फागुन । वाग्मती सफाइको २ सयौं हप्तामा काठमाडौको १८ स्थानबाट पदयात्रा गरी शंखमूलमा भेला भई विभिन्न कार्यक्रम गरिने भएको छ ।

काठमाडौको सुन्दरीजल, भद्रबास फ्लोरिकल्चर, गोकर्ण, जोरपाटी नारायणटार पूल, गोठाटारको पहेंलो पूल, गुहेश्वरी, पशुपतिराम मन्दिर, तिलगंगा आँखा अस्पताल, सिनामंगल नयाँ पूल, मीनभवन पूल र महादेवस्थान पूल जहाँ पायक पर्छ त्यहीबाट पदयात्रा शुरु गर्न सकिनेछ ।

यस्तै शंखमूल मनोहरा दोभान, धोवीखोला दोभान, थापाथली पूल, टेकू दोभान, बल्खु पूल, सुन्दरीघाट तथा चोभारको जलविनायकबाट पनि पदयात्रा शुरु हुनेछ । राष्ट्रको ठूलो अभियानमा सहभागी हुन वाग्मती सफाइ महाअभियानले आग्रह गरेको छ ।

सुन्दरीघाट तथा सुन्दरीजलबाट सफाइ सहित शंखमूलमा भेला भएर विभिन्न कार्यक्रम हुने र कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख लगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागिता हुने महाअभियानले जनाएको छ । वाग्मती सफाइ महाअभियानको अवसरमा सफाइ घोषणा पत्र जारी गर्ने र शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने कार्यक्रम तय भइसकेको छ ।

बागमती सफाइ महाअभियान वि.सं. २०७० जेठ ४ गते शनिबारदेखि शुरुवात भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदीको पनि सफाइ हुन थालेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार