झाडापखाला फैलिए पछि दुषित खानेपानीको मुहान बन्द गराइयो

🔗
2
Shares

दाङ : दाङको शान्तिनगर गाउँपालिका ३ र ४ मा दुषित पानीका कारण झाडापखाला फैलिएको प्रमाणित भएपछि खानेपानी मुहान बन्द गरिएको छ । स्थानीय बासिन्दाले उपभोग गर्दै आएको माइली मुहानको पानीबाटै झाडापखाला फैलिएको पाएपछि मुहान पूर्ण रुपमा बन्द गराइएको हो । माइली खोला मुहानको पानी परिक्षण गर्दा कोलिफर्म भन्ने जीवाणु भेटिएको हो ।

प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ । आज तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका पाँच र नयाँ एक गरी छ बिरामी र सिटी अस्पताल तुलसीपुरमा पनि पाँच बिरामीको उपचार भइरहेको छ ।

दुषित पानीका कारण पश्चिम दाङको शान्तिनगर गाउँपालिका ३ र ४ मा गत शनिबारदेखि झाडापखाला फैलिएको हो । आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

अहिलेसम्म दाङमा झाडापखालाबाट प्रभावित हुनेको संख्या एक हजार ६३१ पुगेका छन् । अझै पनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ ।

आज काठमाडौबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिनुभयो ।प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको डाँगीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार