नयाँ किन्ने होडले देशभर २० लाख ५० हजार मिटर पाइप मौज्दात

 1593 पटक हेरिएको

काठमाडौं : खानेपानी आयोजनाहरु निर्माण गर्दा पुरानो पाइपको प्रयोग गर्नुभन्दा नयाँ किनेर मौज्दात राख्ने होड बढेपछि देशभर २० लाख ५० हजार मिटर भन्दा बढी पाइप मौज्दात रहेको छ । पाइप खरिद गरेको बील विजक अनुसार यो ३१ करोड १३ लाख रुपैयाँको हो ।

खानेपानी डिभिजन तथा सवडिभिजन कार्यालयहरुले जिल्लामा सञ्चालित खानेपानी आयोजनाका लागि पाइप खरिद गर्दा स्वीकृत परिमाण भन्दा बढी खरिद गर्ने, पुरानो मौज्दातको उपयोग नगरी पुनः मौज्दातमा रहने गरी खरिद गर्ने लगायत कारणले पाइप थुप्रिएको हो ।

खानेपानी तथा ढल निकास विभागले पाइप तथा फिटिङस् खरिद गर्दा विगतको मौज्दातको उपयोग गर्नुपर्ने र अत्यावश्यक भएमा मात्र खरिद गर्नुपर्ने तथा न्यूनतम मौज्दातको मापदण्ड तयार गर्नुपर्ने लगायत परिपत्र गर्दै आएको छ ।

तर परिपत्रको उल्लंघन गर्दै आर्थिक बर्ष २०७३/०७४ मा मा ३८ करोड २९ लाख मूल्यका ३७ लाख २९ हजार मिटर पाइप खरिद भेटिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७२/०७३ मा यस्तो पाइपको मौज्दात ९ लाख ३८ हजार मिटर थियो ।

अहिले देशभर २० लाख ५० हजार मिटर पाइप मौज्दात छ । त्यसमा पनि भक्तपुर, स्याङ्जा, कपिलवस्तु लगायत ४५ कार्यालयमा सबैभन्दा बढी मौज्दात देखिएको र न्यूनतम मौज्दात तोकी बढी नहुने गरी खरिद व्यवस्थापन गर्न महालेखापरीक्षकको कार्यालयले सुझाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार