नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ ।
वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्ड, यु.एन ह्याविटाट, आई.डि.एस नेपाल, मायुस बर्दिया लगायतका संघसंस्थाका प्रतिनिधिहरु, गेरुवा गाउँपालिका र वडा कार्यालय/स्थानीय सरकारका अधिकारीहरु शनिबार बेलपुरमा पुग्दा दिउँसोको २ बजिसकेको थियो ।

लिची, अशोक वृक्षका पातहरु र फूलहरु मिक्स गरी बुनिएका मालाहरु र टीका लगाएर बेलपुरबासीले प्रवेशद्वारै भव्य स्वागत गरे, अथितिहरुको साथमा फोटो खिचाए, अनि घरदैलो कार्यक्रममा सहभागी हुँदै पूर्ण सरसफाइका सूचकहरु : सफा चर्पी, हात धुने स्थान, चाङ, जुठेल्ना, फोहोर मलाई, चुल्हो, सजाइएका घरआँगन, रोपिएका वा सजाइएका फूल बिरुवा, बाटोघाटो सबै गर्वका साथ देखाए ।
हालसालै बनेको सामुदायिक भवन संगै २ कोठे सार्वजनिक शौचालय, २ वटा गोलघर, एक धारा, फूल बिरुवा रोपेर सजाइएको, अनि सामुदायिक भवनलाई सरसफाइ स्रोत केन्द्रको रुपमा विकास गरिएको छ । समुदायबाटै रकम संकलन गरि गोलघर निर्माण, चुना गेरु खरिद गरिएको हो । ११ हजार ९ सय ६२ रुपैया संकलन भएको मध्ये ६ हजार ८ सय ४२ खर्च भएको र बाँकी रकम खाता खोलेर राखेको प्रतिबेदनमा उल्लेख छ ।

घरदैलोको क्रममा बेलपुरबासीले पानीमा कोलिफर्म छ छैन भनेर परिक्षण गरिएका पि.ए. भाइलको बोत्तल पनि देखाए । “हामीले हिजो सबै घरको पानी परिक्षणमा राखेका छौ”, बड्घर बिप्र बहादुर चौधरीले भन्नु भयो “२४ घण्टा बितिसक्दा पनि कुनै बोत्तलको पानी कालो छैन, अब ७२ घण्टा सम्मको नतिजा के आउँछ त्यसैको आधारमा पानी सुद्धिकरणका विधिहरु अपनाउछौं । समुदायमा सबैको ४ हजार बढी एकैपटक खर्च गरेर वायो स्याण्ड फिल्टर राख्ने हैसियत छैन, आफ्नै आँखाले पानी कालो देखे पछि पानी सुद्धिकरणको विधि आफै अपनाउन थाल्छन् भन्ने सोच राखेर सल्लाहमा यसो गरिएको हो ।”
अपांगपन समावेशी पूर्ण सरसफाइ
बेल समुदायमा कालु प्रसाद थारुका ४ छोरा र एक बुहारीमा अपांगतापन रहेको छ । जेठो छोरा र बुहारीमा कम दृष्टि, माइला जुम्ल्याहा छोरामा पनि कम दृष्टि र कान्छो छोरामा बोल्न नसक्ने र केही एकोहोरोपना सम्बन्धी समस्या रहेको जुम्ल्याहा मध्ये एक बि.ए प्रथम बर्षमा अध्ययनरत रामकुमार चौधरीले जानकारी दिदै भन्नु भयो “ हामी पाँचै जनाले आफै चर्पीमा गएर प्रयोग गर्न सक्छौ, हामी बाहिर बस्ने भएकाले बैठकमा बुवाआमा वा बहिनी जाने गरेका छन् । म अलिअलि मात्रै देख्छु तर गाउँलेको कुरा सुन्दा हाम्रो गाउँ निकै फेरिएको छ भन्ने थाहा छ । ”
तपाईहरुको काम देखेर अचम्मित छु : (एल्सा जोन्स) Ailsa Jones, Programme Analyst, Asia Regional Unit, WSSCC, जेनेभा
“आज मैले धेरै कुरा हेर्ने र सिक्ने अवसर पाए । तपाईहरुको कामको प्रशंसा वर्णन गर्न असमर्थ छु”,ध्क्क्ऋऋ, जेनेभा कि दक्षिण एसिया हेर्ने एल्साले भन्नु भयो “तपाईहरुको चासोलाई, आवाजलाई म आफ्नो कार्यालयमा पुर्याउने छु। ग्लोबल स्यानिटेसन फण्डबाट नेपाल लगायत विश्वका एक दर्जन बढी देशमा सरसफाइको क्षेत्रमा काम भईरहेको छ । तपाईहरुलाई आगामी दिनमा समेत कसरी सहयोग गर्न सकिन्छ हामी बिचार गर्नेछौ । अहिले तपाईहरुको खेतीपाती गर्ने धान रोप्ने समय रहेछ, सबैलाई शुभकामना । भ्रमणमा न्यानो साथका लागि हार्दिक धन्यवाद ।”
गेरुवा गाउँपालिकाकोनेतृत्वमा विकास साझेदारको साथ निरन्तर रहोस्
“पूर्ण सरसफाइ हाम्रो नेपाल सरकारको कार्यक्रम हो, यो कुनै दातृ निकाय, विदेशी तथा स्वदेशी संघसंस्थाको कार्यक्रम हैन, उनिहरुले त नेपाल सरकारलाई सहयोग गर्ने हो, हामी गेरुवा गाउँपालिकाको तर्फबाट यो अभियानको नेतृत्व गरि अगाडि बढिरहेका छौ ।” वडा नं २ का अध्यक्ष आलोक कुमार चौधरीले अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जमानसिंह कार्कीको समेत प्रतिनिधित्व गर्दै भन्नुभयो “ गाउँपालिकासँग बजेट नभएको हैन, धेरै बजेट छ, तर पूर्ण सरसफाइका लागि मात्रै नभएर अन्य सम्पूर्ण क्षेत्रको विकासका लागि छ,पूर्ण सरसफाइ अभियानका लागि समपूरक कोषका लागि आठ दश लाख रुपैया छुट्याउन सक्छौ, यु.एन ह्याविटाट ग्लोबल स्यानिटेसन फण्डको सहयोग, आई.डि.एस.नेपाल र मायुस बर्दियाको सहजीकरणको हामीलाई निरन्तर खाँचो छ,सहयोगी दातृ निकाय र सहजीकरण गर्ने संस्था र हामी बीचको साथ बषौसम्म रहिरहोस् ।”
सहजकर्ता थप गर्न माग, बेलपुरले दियो सबैलाई खुशी

“साविक एक गा.वि.स बराबर एक जना सहजकर्ता रहेछ, गाउँपालिका बन्दा साविक पाताभार गाविस तीनवटा वडामा विभाजन भएको छ,पूर्ण सरसफाइमा धेरै क्रियाकलाप, प्रक्रियाहरु पुरा गर्दै सूचकहरु पुरा गर्नुपर्ने हुन्छ, एक जनाले तीन वटा वडा कसरी भ्याउँछ ? सरसफाइ हाम्रो काम हो, हाम्रै निमित्त हो तर मानिसहरुलाई पूर्ण सरसफाइ तर्फ अग्रसर गराउन, उनीहरुमा क्षमता अभिवृद्धि गर्न र आनीबानी परिवर्तन गर्दै अगाडि बढ्न सहयोग गर्ने सक्षम मानिस चाहिन्छ,”
आगामी कार्यक्रममा यसबारेमा ग्लोबल स्यानिटेशन फण्ड, यु.एन ह्याविटाटले कम्तिमा एक वडा एक सहजकर्ता हुने गरी कार्यक्रम बनाओस् भन्ने अनुरोध गर्दै वडा अध्यक्ष आलोक कुमार चौधरीले पुनः भन्नु भयो “वडा नं २ मा अन्य वडाहरु भन्दा धेरै पछि अर्थात चैत्र २०७४ यता मात्रै पूर्ण सरसफाइ नमुना टोल बनाउने काम शुरु भएको हो । यति छोटो समयमा बेलपुरको पूर्ण सरसफाइ उपलब्धी देख्दा अति खुशी छु र यहाँका मानिसहरु आज यसरी खुशी हुनु भएको पाउँदा धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु ।”
पूर्ण सरसफाइ अन्य विकासको मुख्य द्वार
गेरुवा गाउँपालिकाले आफ्ना ६ वटै वडाहरुलाई वडालाई कम्तिमा १६ टोलमा विभाजन गरी उक्त टोलको समितिलाई पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने जिम्मेवारी वहन गर्न भनेको छ भने चारजना जनप्रितिनिधि वडा सदस्यहरुलाई चार चार वटा टोलको क्लष्टर हेर्ने गरी जिम्मेवारी तोकेको छ ।
पूर्ण सरसफाइको काम गरि उपलब्धी हासिल गर्ने टोललाई अन्य विकास दिने घोषणा गाउँपालिका र वडा कार्यालयले गरिसकेको छ । पूर्ण सरसफाइ अभियान थालेपछि सामुदायिक भवनका लागि सार्वजनिक शौचालय निर्माण गर्न बेलपुरलाई रकम उपलब्ध गराएर एकदमै कम समयमा शौचालय निर्माण भई प्रयोगमा आई सकेको पनि छ ।
बेलपुरको सरसफाइ अभियान र यस समुदायको सक्रियतालाई मध्यनजर गर्दै समुदायमा शिशु स्याहार केन्द्रमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने गरी कार्यक्रम बनिसकेको छ र २ जना महिलालाई मन्टेश्वरी तालिम प्रदान भई रहेको छ । त्यसैगरी २ वटा दाना काट्ने मेशिन, २ वटा भकारो सुधार र एक वटा ब्याडे बोका बेलपुरलाई दिने निर्णय भई सकेको वडा अध्यक्षबाट जानकारी गराइएको थियो ।
उहाँले अन्य टोलहरु पनि पूर्ण सरसफाइमा अगाडि बढेपछि समुदायको आवश्यकतालाई मध्यनजर गरी विकासका गतिबिधि सञ्चालन गरिने रणनीति रहेको बताउनुभयो ।
GSFकार्यक्रममा Break लाग्ने छैन : सरसफाइ तथा स्वच्छता विश्लेषक मल्ल
“बेलपुरमा असाध्यै राम्रो काम भएको छ, यहाँहरुलाई हार्दिक बधाई”, यु.एन ह्याविटाट, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका सरसफाइ तथा स्वच्छता विश्लेषक मदन मल्लले भन्नु भयो “आज तपाईहरुले आफ्नै लागि ताली बजाउनुस्” तालीको गडगडाहट बज्यो, रोकिएपछि पुनः उहाँले भन्नु भयो “तपाईहरुको लगनशीलता अति नै राम्रो पायौ, ढिलो शुरुवात गरेपनि तपाईहरु धेरै राम्रो काम गर्न सफल हुनु भएको रहेछ ।”
“एउटा वडालाई १६ टोलमा विभाजन गरी पूर्ण सरसफाइ अभियान सञ्चालन गरौं, नमुना टोल बनाऔं, अनि अरु विकास लैजाऔं भन्ने आव्हन वडा कार्यालयबाट भएको निकै राम्रो सुत्रपात हो” मल्लले फेरि भन्नु भयो “गाउँपालिका र वडा कार्यालयले पूर्ण सरसफाइ कार्यक्रम नेपाल सरकारको अर्थात हाम्रो कार्यक्रम हो भन्नु अति नै ठूलो कुरा हो, उपलब्धी हो । वडा कार्यालयले पूर्ण सरसफाइ अभियानलाई जिम्मेवारीपूर्वक आत्मसात गरी नेतृत्व गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन विकास साझेदारको निरन्तर साथ चाहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
भविश्यमा पनि काँधमा काँध मिलाएर अगाडि बढ्न हामी तयार छौ । हुन त नेपालमा कार्यक्रम अबधि अब बिस्तारै सकिदैछ तर तपाईहरु जस्ता भएपछि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम पक्कै पनि ब्रेक लाग्ने छैन ।” उहाँको प्रतिबद्धता थियो ।
सुन्दर सोच र मन भएपछि गाउँटोल पनि सुन्दर बन्छ
“विकास प्रतिको सकारात्मक सुन्दर सोच र हृदयमा केही गरेर देखाऔं भन्ने अठोट भएपछि गाउँटोल पनि सफा र सुन्दर बन्दो रहेछ” एकीकृत विकास समाज (आई.डि.एस. नेपाल) का कार्यकारी निर्देशक प्रकाश कोइरालाले प्रफुल्ल हुँदै भन्नुभयो “यहाँहरुको घर, टोल हरेक स्थान सबै सफा स्वच्छ र सुन्दर लाग्यो, यहाँहरुको कामको हृदयदेखि नै प्रशंसा गर्दछु ।”
उहाँले गाउँपालिका, विकास साझेदार र सहजीकरण गर्ने संस्थाहरु समुदायमा यसरी आएर अवलोकन र अन्तरक्रिया गर्न सरसफाइले नै जुराएको प्रति इंगित गर्दै पुनः भन्नु भयो “गाउँपालिकाले हरेक वडामा १६ टोल समूह गठन गरि विकास गर्ने सोचका साथ काम थालनी गर्नु अति नै उत्कृष्ट कार्य हो, पूर्ण सरसफाइलाई विकासको आधारशिला बनाउने सोच नै अति उत्कृष्ट र प्रसंशनीय छ ।”
यसैगरी मायुस बर्दियाका अध्यक्ष शशीराम विश्वकर्माले अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाईहरु राख्दै भन्नुभयो “स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ अपरिहार्य छ र पूर्ण सरसफाइका माध्यमबाट जीवनमा खुशीयाली छाउन थालेको यहाँहरुले महशुस गर्नु भएको रहेछ, यो थाहा पाउँदा हामी पनि खुशी छौ ।”
वडामा पूर्ण सरसफाइको लहर फैलदै छ
गेरुवा गाउँपालिका वडा नं २ कै पश्चिमपुर र भैरमपुर टोल पनि पूर्ण सरसफाइमा नमुना बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् । गेरुवा गाउँपालिकाको वडा नं २ ले ढिलो गरी पूर्ण सरसफाइ अभियानमा पाइला अघि बढाएता पनि अहिले अरु वडालाई उछिन्ने क्रममा रहेको, पूर्ण सरसफाइको गति निरन्तर बढिरहोस् भन्ने अपेक्षा जिल्लामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रममा संलग्न कर्मचारीहरुले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम समुदायको भवनमा बेलपुर सरसफाइ समितिकी अध्यक्ष फूलरानी चौधरीको अध्यक्षतामा देवेन्द्रराज थारुले सञ्चालन गर्नु भएको थियो । बड्घर बिप्रबहादुर थारुले स्वागत मन्तब्य, शिलरानी चौधरीले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । वडा सचिव भागिराम चौधरीले खुल्ला दिसामुक्त अभियानमा स्थापना गरिएको सरसफाइ समपूरक कोषको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
सरसफाइ स्रोत केन्द्रमा खेर जाने प्लाष्टिक टुक्रे कपडा, पुराना उनी धागो र स्थानीय सामग्री प्रयोग गरि बुनिएका पंखा, ढकिया, फूल दानी, कपडाको प्याड लगायतका सामग्रीहरु प्रर्दशनी गरिएको थियो । साथै स्थानीयले एल्सालाई उपहार समेत प्रदान गरेका थिए ।

WSSCC द्वारा स्थापना गरिएको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम नेपालमा यु.एन ह्याविटाट कार्यकारी निकायको रुपमा रहने गरी अक्टुबर २०१० देखि भित्रिएको हो । नेपालका १९ जिल्लाहरुमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्दै आएको र हाल बर्दिया लगायत ४ जिल्लामा पूर्ण सरसफाइ कार्यक्रम र घोषणा भई सकेका रसुवा, सिराहा र सप्तरी बाहेकका अन्य १० जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालित छन् ।
बर्दिया जिल्लामा आई.डि.एस. नेपाल र मायुस बर्दियाद्वारा भाद्र २०७४ देखि गेरुवा र बढैयाताल गाउँपालिकामा पूर्ण सरसफाइ सहयोग कार्यक्रम सञ्चालन हुदै आएको छ । १५ मध्ये ५ वटा समुदाय पूर्ण सरसफाइ उन्मुख स्वःघोषणा भई सकेका छन् भने अन्य समुदायहरु सबै सूचक पुरा भएको सुनिश्चित गरी स्वःघोषणा गर्ने प्रक्रियामा रहेका छन् ।


3099 पटक हेरिएको 

