बागलुङ : सदरमुकाम बाग्लुङ बजारबाट आधा घण्टाकै दुरीमा मात्र पर्छ, भिरलाङखुरी । सदरमुकामबाट नजिक मात्र होइन, भिरलाङखुरीका बासिन्दा नगरपालिकाका नागरिक पनि हुन् । बाग्लुङ नगरपालिकाको वडा नं. – ६ मा पर्छ यो ठाउँ ।
तर भिरलाङखुरी सदरमुकाम नजिकै भएर पनि आधारभूत सेवा सुविधाबाट धेरै टाढा छ । खानेपानीकै लागि भिरलाङखुरीका बासिन्दाले कुवामै रात बिताउनुपर्छ । वडा नं. ६ का १ सय ८६ घरपरिवारले खानेपानीको समस्या झेल्दै आएको सयौं बर्ष भइसकेको छ ।
खानेपानीको समस्या भएपछि प्रत्येक घरका एक जनाको जिम्मेवारी पानीकै लागि दिइएको हुन्छ । रुद्र केसी भन्नुहुन्छ ‘नगरपालिका भित्रका बासिन्दा भएर पनि घण्टौं लाईन बसेर कुवाको पानी भर्नुपर्छ, हामी विहान २ बजेदेखि उठेर रातको १२ बजेसम्म यही कुवामै हुन्छौं, ढिला आउनेहरुको त कुवामा रात वित्छ ।’
गाउँलेले खानेपानीको समस्या सुनाउँदा समाधान गर्छाै भने पनि अहिलेसम्म कसैले समाधानको प्रयास नगरेको पानी भर्ने लाइनमा भेटिएकी रन्जिता सुवेदीले बताउनुभयो । ‘पानीको लाइन बस्दा अरु काम समयमा गर्नै पाईदैन, छोराछोरीलाई समयमा स्कुल पठाउनै सकिदैन । पानीको लाइनमा बस्दै सबै समय वितेपछि हामीले कहिले उन्नति गर्न सक्छौं होला ?’सुवेदीले प्रश्न गर्नुभयो ।
समाधानको प्रयासमा छौं : वडाध्यक्ष सापकोटा
बाग्लुङ नगरपालिका ६ का वडाध्यक्ष खेमराज सापकोटाले भिरलाङखुरीका बासिन्दाका लागि खानेपानीको अति दुःख भएको र समाधानको लागि पहल भइरहेको बताउनुभयो । उहाँले गाउँलेको समस्याका बारेमा आफू गम्भीर रहेको र जनताले निर्वाचित गराएपछि एक घर एक धारा अभियान सञ्चालन गरेर काम गरिरहेको बताउनुभयो । ‘यो समस्या तत्कालै नहटे पनि समस्या घटाउने गरी काम भइरहेको छ, जनसहभागितामा धारा जडान गरेर पाइप बिच्छ्याउने काम भइरहेको छ’ उहाँले भन्नुभयो ।
कुवाको पानीले मात्र खानेपानीको आपूर्ति धान्न नसकेपछि मौरीभीरको पानी पनि ल्याएको र जनसंख्याको चापले गर्दा यसले समेत माग धान्न नसकेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।


1250 पटक हेरिएको 

