काठमाडौ : असारको महिना, विहान उज्यालो नहुँदै पर्न थालेको पानी साढे सात बजिसक्दा पनि रोकिएको थिएन । पूर्व निर्धारित कार्यक्रम अनुसार वाग्मती सफाइ महाअभियानमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा लगायत सहभागी हुने कार्यक्रम भएपनि बर्षातले रोकिने हुन् कि ? भन्ने अभियन्ताहरुको मनमा खुल्दुली उत्पन्न भइसकेको थियो ।
तर बर्षातले पनि रोकेन मन्त्री र सचिव लगायत उच्च पदस्थ कर्मचारीहरुलाई । केही छिन पछि सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा लगायतको टोली आईपुग्यो ।
मन्त्री सहितको टोलीले अभियानमा भाग मात्र लिएन, हातमा पञ्जा र मास्क लगाएका मन्त्री राईले फोहोर समेत संकलन गर्नुभयो । मन्त्री राईले सफाइ महाअभियानमा सरकार साथमै रहने प्रतिबद्धता जनाउनुभयो भने सचिव शर्माले उपत्यकाका नदी र चक्रपथ सफाइले जनचेतना जगाउने काम गरेकामा प्रशंशा गर्नुभयो ।
वाग्मती सफाइ महाअभियानको यात्रा थपिदै जाँदा अभियान्तहरु पनि थपिरहेका छन् । वाग्मती महाअभियानको आज २६७ औं हप्ता हो । आज कोटेश्वर महादेव मन्दिर अघिको नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
आजको सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।