ललितपुर : ललितपुर महानगरपालिकाले विद्युतीय सवारीलाई प्राथमिकता दिने भएको छ । सवारी साधनबाट हुने प्रदूषण कम गर्न काठमाडौं र ललितपुर महानगरपालिकाकोे सहकार्यमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अब चाँडै तीन वटा विद्युतीय बस नमुनाका रूपमा सञ्चालन गरिने र प्रभावकारिता हेरेर थप गर्दै लगिने जानकारी दिनुभयो । यसका लागि काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ रकम विनियोजन गरिसकेका छन् ।
सवारी तथा प्लाष्टिकजन्य फोहोरको प्रदुषणबाट मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको न्यूनीकरण गर्न महानगरपालिकाले विद्युतीय सवारीलाई प्राथमिकता र प्लाष्टिक झोलाको प्रयोगलाई निषेध गर्ने तयारी गरेको छ ।
मेयर महर्जनले विश्व वातावरण दिवसकै बेला ललितपुरलाई प्लाष्टिक निषेधित क्षेत्र बनाउने बताउनुभएको थियो । आफ्नो भनाईलाई साकार पार्दै उहाँले महानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने तयारी गर्नुभएको हो ।
उनका अनुसार प्लाष्टिक निषेध गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्लाष्टिक झोलाको विकल्पमा कपडा र कागजको झोला बनाउनेहरूसँग पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको प्रतिवेदन अनुसार वातावरण प्रदूषणका कारण विश्वभर बर्षेनी ७ लाख मानिसको ज्यान जाने गरेको छ ।