मेलम्ची खानेपानीको पाइप परीक्षण सुरु

काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले बिछ्याएका पाइप परीक्षण सुरु गरेको छ । सुन्दरीजलदेखि चाबहिल सरस्वतीनगरसम्मको करिब १४ किमि क्षेत्रको मुख्य पाइपको परीक्षण सुरु गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार पाइपबाट ल्याइएको वाग्मतीको पानी प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ । ‘पाइपको प्रेसर चेक गर्ने काम भइरहेको छ,’ उनले भने, ‘साथै पाइपभित्र जमेको फोहोर पनि सफा हुँदै छ ।’ मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु गर्ने उनले बताए ।पाइप बिछ्याउने काम अन्तिम चरणमा पुर्‍याएको आयोजनाले वाग्मतीबाट दैनिक ४ करोड लिटर पानी ल्याएर परीक्षण सुरु गरेको हो ।

यसरी मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किलोमिटर लामो मुख्य पाइप लाइनमध्ये ५८ किलोमिटरमा पाइप बिछ्याइसकिएको छ । ७ सय ८३ मध्ये ७ सय २५ किमि शाखा पाइप बिछ्याउने काम भइसकेको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा आउनेबित्तिकै पाइपबाट पानी पठाउन परीक्षण सुरु गरेका हौं,’ खत्रीले भने । मेलम्ची खानेपानीको सुरुङ निर्माणपछि दोस्रो ठूलो काम पाइप बिछ्याउनेलाई मानिन्छ । यही अनुपातमा काम भए पहिलो चरणको परीक्षण साउन भित्र सकिने खबर कान्तिपुर दैनिकले छापेको छ ।

कुल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५३ हजार ९ सयभन्दा बढी जडान भइसकेको आयोजनाले जनाएको छ । खुमलटार, बाँसबारी, महांकाल चौर र बालाजुको पानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा रहेको तथा महाराजगन्ज र आरुबारीमा पोखरी निर्माणाधीन रहेको आयोजनाले बताएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार