नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेकी संगीता विकले सासुको गाली खानु नपरेको दिनै हुँदैनथ्यो । पानी खोज्ने बेला घरमा भएका सबै गाग्री रित्तै भेटिएपछि सासुले भट्याउन थालिहाल्नु हुन्थ्यो । ‘पानी नभएको घरमा लक्षिणले बास गर्दैनन्, गरिबीबाट माथि उठ्न नसक्नु पनि घरमा पानी नभएरै हो । बाटोको घर कसैले पानी माग्यो भने के दिने ?’ उहाँको यस्तै गनगन सुन्दा सुन्दा बुहारी संगीता दिक्क भइसक्नुभएको थियो ।
तर अहिले संगीताको घरमा २४ सै घण्टा लक्षिणको बास हुने गरेकी छन् । घरमा दिनैभरि पानी आउने भएपछि भएभरका भाँडाकुँडा पानीले टनाटन भरिएका हुन्छन् । अहिले त संगीताले न सासुको गनगन सुन्नु परेको छ । न पानी खोज्दा पानी नभेटिने अवस्था नै छ । गाग्री सधैंभरि पानीले भरिएको देखेपछि संगीताकी सासुको मुहार उजेलिएको छ । उहाँ भन्नुहुन्छ ‘पानी भएको घरमा लक्षिणको बास हुन्छ, पानी भएपछि घरमा सुखसयल आउन थालेको महसुस गरेको छु ।’

सासु जस्तै संगीता पनि धारा जडान भएपछि घरमा साँच्चिकै लक्षिणले बास गरेको आभाष भएको बताउहुन्छ । ‘घर आँगनमै पानी भएपछि छोरीबुहारीले दुःख नपाउने रहेछ, घरमा पानीकै कारण हुने मनमुटाव नहुने रहेछ, पानीकै कारण करेसाबारीमा दुईछाक पुग्ने भएपनि तरकारी फलाउन थालेको छु, अघिपछि सागपात किन्न पैसा नभएपछि हुने तनावको पनि अन्त्य भएको छ, सासुले भने झैं घरमा खानेपानी लक्षिण बनेर भित्रिएको छ ।’
भाल्चेकी संगीताको घरमा मात्र होइन, भाल्चेको ४५ घरमै खानेपानीको धारा जडान गरिएको छ । घरघरै धारा भएपछि खानेपानी तथा सरसफाइका लागि पनि सुविधा पुगेको गाउँलेहरु बताउँछन् ।
१५ लाख ५९ हजार ७३० रुपैयाँको लागतमा कुतिति मुहानको पानी गाउँमा ल्याएपछि पानीको सहजता भएको हो । ती मध्ये एसिएफले १३ लाख ४ हजार ८५६ रुपैयाँ र उपभोक्ताले २ लाख ५४ हजार ८७३ रुपैयाँ बेहोरेका छन् ।
कुतिति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अर्जुन विकका अनुसार खानेपानीको मर्मत सम्भारका लागि एसिएफ र गेर्खुटार युवा क्लवले ६७ हजार ५ सय बराबरको मर्मत सम्भार कोष पनि खडा गरिदिएको छ ।
‘कुतिति मुहानको पानी १८ सय ८४ मिटर मुख्य पाइपलाइन विछ्याएपछि गाउँमा आईपुग्यो, यहाँबाट १६ सय ५९ मिटर शाखा पाइपलाइन विछ्याएर घरघरमा धारा निर्माण गरेर आँगनमै पानी झारिदिएका छौं’ अध्यक्ष विकले भन्नुभयो ।
खानेपानीको पर्याप्त सुविधा भएपछि खेर गएको पानीबाट सागसब्जी फलाएर खान थालेको र यसले मानिसको स्वास्थ्यमा समेत फाइदा पुगेको उहाँले बताउनुभयो ।


1734 पटक हेरिएको 

